खजुरामा तीनदिने मुसकटवा बाबा मेला सुरु

खजुरा / बाँके जिल्लाको खजुरास्थित खजुरा गाउँ पालिकामा आजदेखि तीन दिनसम्म चल्ने मुसकटवा बाबा (बाबाकुट्टी) मेला औपचारिक रूपमा सुरु भएको छ। यो मेलाको आयोजना ब्रदर्स फुटबल क्लब (ब्रदर्स एफसी) ले यस वर्ष सरस्वती पूजाको दिनदेखि शुरु गरेको छ र यसले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र आपसी भातृत्वको जीवित उदाहरण प्रस्तुत गरेकाे छ।


नेपालमा धार्मिक भेदभावभन्दा माथि उठेर मानवता र सहअस्तित्वको प्रतीकका रूपमा चिनिने यो मेला हिन्दु र मुस्लिम समुदायले संयुक्त रूपमा मनाउने एकमात्र पर्व हो। विशेषगरी यस क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीचको सहअस्तित्व र आपसी सम्मानको भावना जीवित रहेको छ। यही कारणले मुसकटवा बाबा मेला केवल धार्मिक आस्था वा सांस्कृतिक पर्व मात्र नभई क्षेत्रीय एकता र भातृत्वको पनि प्रतीक बनिसकेको छ।

मेलाको उद्घाटन समारोहमा ब्रदर्स एफसीका अध्यक्ष र पदाधिकारीहरूले बागेश्वरी गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’, स्थानीय बुद्धिजीवी र विशिष्ट व्यक्तित्व झगबहादुर पौडेल, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी शाखा अध्यक्ष जीवनाथ सापकोटा, न्यूँ डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्री, उपाध्यक्ष दानबहादुर गुरुङ, पूर्वअध्यक्ष तिलकविर सुनार, चर्चित पत्रकार गोविन्द शर्मा, समाजसेवी बमबहादुर शाही, कल्पना तामाङ, भूपुप्रनानि सुरेश थापा, स्थानीय युवानेता ओपेन्द्र खत्री, धिरेन्द्रसिंह पाण्डे, खेलकुद क्षेत्रमा सक्रिय टोपेन्द्र खत्री, साथै मुसकटवा बाबाकुट्टीका बाबाजीलाई सम्मान गर्दै औपचारिक रूपमा मेला उद्घाटन गरिएको थियो।

उद्घाटन कार्यक्रममा उपस्थित सबैले मेलाले मात्र धार्मिक भातृत्व नभई समाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पु-याएकोमा खुशी व्यक्त गरेका थिए। आयोजकले यस मेला माघ ११ गतेसम्म चल्ने जानकारी दिएका छन् र सहभागी सबैले मेलाको वातावरणमा रमाइलो गर्दै सांस्कृतिक तथा धार्मिक उत्सवको आनन्द उठाउन सक्नेछन्।
खजुरास्थित मुसकटवा बाबा, जसलाई स्थानीयतामा बाबाकुट्टी भनेर चिनिन्छ, पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रले जंगल फडानी गरी बस्ती बसाउँदा यहाँको ऐतिहासिक र सांस्कृतिक धरोहरको रुपमा रहेको थियो बाबाकुट्टी अर्थात मुसकटवा बाब। यसले खजुराको स्थानीय पहिचान र ऐतिहासिक महत्वमा थप बल पुर्याएको थियो।

यदि मुसकटवा बाबाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन व्यवस्थित रूपमा गर्न सकिएमा, यस क्षेत्रको सांस्कृतिक पहिचान, पर्यटन सम्भावना र स्थानीय आर्थिक विकासमा ठूलो योगदान दिन सकिन्छ। मुसकटवा बाबा मात्र स्थानीय धार्मिक आस्था र सांस्कृतिक जीवनको प्रतीक होइन, खजुराको गौरव र इतिहासको पनि प्रतीक हो। यसलाई जोगाउनु भनेको क्षेत्रीय इतिहास, भातृत्व र सहअस्तित्वको रक्षा गर्नु हो।
ब्रदर्स फुटबल क्लब (ब्रदर्स एफसी) ले मुसकटवा बाबा मेलालाई निरन्तरता दिने र यसलाई विकासतर्फ अग्रसर बनाउने कार्यमा नेतृत्वदायी भूमिका खेलेको छ। क्लबका अध्यक्ष तथा पदाधिकारीहरूले भने, “इतिहास नभएको समाज र राष्ट्र हुँदैन। हाम्रो परम्परा, धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई जीवन्त बनाएर मात्र हामी समाजमा एकताबद्धता र राष्ट्रिय गौरवको भावना जगाउन सक्छौं। यही कारणले हामी यस क्षेत्रको सांस्कृतिक धरोहर संरक्षण र पर्यटन प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेका छौं।”

ब्रदर्स एफसीको पहलमा मेलामा सहभागी हरेक व्यक्ति एकता, सहिष्णुता र पारस्परिक सम्मानको अनुभव गर्न सक्छन्। यसले केवल स्थानीय तहमा नभई राष्ट्रिय स्तरमा पनि नेपाली पहिचान र गौरवलाई मजबुत बनाउने काम गर्छ। इतिहास, परम्परा र सांस्कृतिक चेतना जोगाइ राख्दा मात्र भविष्यका पुस्ताले आफ्नै पहिचानसँग गर्व गर्न सक्छन्।
मुसकटवा बाबा मेला केवल उत्सव मात्र नभई समाजमा सहिष्णुता, भातृत्व र सामूहिक चेतना फैलाउने अवसर पनि हो। हिन्दु र मुस्लिम समुदायले सँगै बसेर मेलामा भाग लिँदा युवा पुस्तामा आपसी सम्मान र सहअस्तित्वको सन्देश पनि प्रवाह हुन्छ। यसले नेपाली समाजमा धार्मिक सहिष्णुताको आदर्श प्रस्तुत गर्दै, स्थानीय समुदायमा सामाजिक सम्बन्ध मजबुत बनाउने कार्य गर्छ।

ब्रदर्स एफसीले आफ्नो यो पहल मार्फत न केवल मेलाको परम्परा जोगाइरहेको छ, तर खजुराको आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई सुदृढ पार्न योगदान दिइरहेको छ। आयोजकको भनाइ अनुसार, भविष्यमा यो मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने, स्थानीय व्यवसाय र पर्यटनसँग जोडिने प्रमुख स्रोत बन्ने सम्भावना राख्छ।


इतिहास, धर्म र सांस्कृतिक परम्परा जोगाएर मात्र सशक्त समाज र गौरवशाली राष्ट्र निर्माण गर्न सकिन्छ। खजुरास्थित मुसकटवा बाबा मेला हिन्दु–मुस्लिम भातृत्व, सामाजिक एकता र राष्ट्रिय गौरवको अनमोल प्रतीक बनेको छ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै ब्रदर्स एफसीले नेपाली युवापुस्तामा एकता, सामाजिक चेतना र सांस्कृतिक गौरवको भावना जगाउने कार्य निरन्तर अघि बढाइरहेको छ।
“इतिहास नभएको समाज, पहिचान नभएको राष्ट्र हुँदैन,” भन्ने सन्देशसहित मुसकटवा बाबा मेला स्थानीय, राष्ट्रिय र विश्वस्तरमा नेपाली पहिचानको गौरवशाली प्रतिबिम्बको रूपमा चम्कने छ।





