विश्व शक्तिसँग आँखा जुधाएर बोल्न सक्ने नेतृत्व केपी ओली

# संकेत किराँती

नेपाली राजनीति सधैं व्यक्ति केन्द्रित बहसमा अल्झिएको छ। कसैलाई देवता बनाइन्छ, कसैलाई दानव। तर नेतृत्वको मूल्यांकन भावनाबाट होइन, समयले मागेको क्षमताबाट हुनुपर्छ। आज नेपाल यस्तो मोडमा उभिएको छ जहाँ देशभित्रको राजनीति मात्र होइन, बाहिरको विश्व शक्ति–राजनीतिले पनि हाम्रो भविष्य निर्धारण गरिरहेको छ। यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न उठ्छ, के हामीसँग विश्व शक्तिसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने नेतृत्व छ? यही प्रश्नको केन्द्रमा उभिन्छन् केपी शर्मा ओली।

“केपी ओली भनेको सी चिनफिङ र भ्लादिमिर पुटिनसँग डिबेट गरेर फर्किएको मान्छे हो” भन्ने भनाइलाई धेरैले व्यंग्य ठान्छन्। तर यो व्यंग्य होइन, संकेत हो। यहाँ डिबेट भन्नाले भाषणको प्रतिस्पर्धा होइन, विश्व शक्तिसँग असहमत हुनसक्ने राजनीतिक साहसको कुरा हो। आजको विश्व राजनीतिमा साना राष्ट्रका नेताहरू प्रायः शक्तिशाली राष्ट्रहरूको एजेन्डा बोकेर हिँड्छन्। उनीहरू बोल्नु अघि अनुमति खोज्छन्, निर्णय गर्नु अघि दबाब हिसाबकिताब गर्छन्। यस्तो परिवेशमा ओलीले कम्तीमा एउटा सन्देश दिए, नेपाल सानो भए पनि मौन छैन।

चीनसँगको पारवहन सम्झौता, बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको सहभागिता, भारतसँगको सीमा विवादमा सार्वजनिक रूपमा नक्सा जारी गर्ने निर्णय, अमेरिकासँगको एमसीसी सम्झौतामा देखाएको सशर्त दृष्टिकोण, यी सबै निर्णयले ओलीलाई केवल देशभित्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि असहज पात्र बनायो। असहज त्यसकारण कि उनले परम्परागत ‘सन्तुलन’ भन्दा अलिबढी आत्मनिर्णय देखाए। विश्व राजनीति आत्मनिर्णय मन पराउँदैन, विशेषगरी साना देशबाट।

यही असहजताले उनको सत्ता यात्रा छोट्यायो भन्ने तर्क पूर्णतः गलत होइन। नेपालको सरकार ढालिने कारण सधैं संसदभित्र मात्र खोज्नु अपर्याप्त हुन्छ। कहिलेकाहीँ सरकार ढालिन्छ, किनभने त्यो सरकारले सबैलाई खुशी पार्न अस्वीकार गर्छ। ओलीले पनि त्यही गरे। उनले सबै शक्ति केन्द्रलाई सन्तुष्ट पार्ने ‘सेफ’ राजनीति गरेनन्। त्यसको मूल्य उनले सत्ता गुमाएर चुकाए।

देशभित्र भने बहस अर्कै दिशामा मोडियो। ओलीको बोली, व्यंग्य, शैली, कहिलेकाहीँको अहंकार, यी सबै विषय बहसका मुख्य केन्द्र बने। तर नेतृत्व मूल्यांकन गर्ने बेला शैलीभन्दा दिशा महत्वपूर्ण हुन्छ। प्रश्न यो होइन कि ओली कति मिठो बोले, प्रश्न यो हो कि उनले नेपाललाई कुन दिशामा उभ्याउन खोजे।

आज नेपालको आन्तरिक राजनीति हेर्दा लाग्छ, बहसको स्तर झन् झन् खस्किँदै गएको छ। सामाजिक सञ्जालको हल्ला, सस्तो राष्ट्रवाद, व्यक्तिगत गालीगलौज, यिनैमा राजनीति सीमित छ। यस्तो अवस्थामा देशभित्रका फ्याउरा–फ्याउरी र आउरे–बाउरेसँग डिबेट गर्नु कुनै ठूलो कुरा होइन। साँचो चुनौती त त्यहाँ छ, जहाँ निर्णय गर्दा देशको सार्वभौमिकता, कूटनीतिक स्वतन्त्रता र दीर्घकालीन हित दाउमा लाग्छ।

आजको विश्व एकध्रुवीय छैन। अमेरिका, चीन, रुस, युरोप, सबै शक्ति आ–आफ्नो प्रभाव विस्तारको होडमा छन्। युक्रेन युद्धले विश्वलाई दुई ध्रुवमा बाँड्दैछ, ताइवान तनावले एसिया अस्थिर बनाइरहेको छ, मध्यपूर्व बारुदको ढिस्को बनेको छ। यस्तो विश्व परिवेशमा नेपाल केवल ‘शान्त देश’ भएर बस्न सक्दैन। हामी रणनीतिक रूपमा संवेदनशील भूभागमा छौं। हामी निर्णय नगर्ने होभने अरूले हाम्रो निर्णय गरिदिन्छन्।

यही सन्दर्भमा नेतृत्वको प्रश्न झन गम्भीर हुन्छ। हामीलाई यस्तो नेता चाहिएको छ, जसले सहयोग लिन्छ तर आत्मसमर्पण गर्दैन। मित्रता गर्छ तर निर्भरता स्वीकार्दैन। यही मापदण्डमा ओलीलाई हेर्दा, उनी विवादास्पद भए पनि कमजोर पात्र होइनन्। उनलाई मन नपराउने धेरै छन्, तर बेवास्ता गर्न नसकिने तथ्य पनि यही हो।

ओलीको आलोचना गर्न प्रशस्त कारण छन्। उनले पार्टी व्यवस्थापनमा गल्ती गरे, संस्थागत लोकतन्त्रलाई कमजोर बनाएको आरोप खेपे, र कहिलेकाहीँ अनावश्यक टकराव रोजे। तर आलोचना र अस्वीकृतिको बीचमा एउटा कुरा छुट्छ, विकल्प। आज नेपाली राजनीतिमा विश्व शक्तिसँग आँखा जुधाएर बहस गर्नसक्ने अर्को नेता को छ ? धेरैजसो नेता कूटनीतिलाई फोटो–सेसन र भाषणको औपचारिकता ठान्छन्। ओलीका लागि कूटनीति भनेको शर्तसहितको सहकार्य हो।

“नो इफ, नो बट” भन्ने निष्कर्ष कठोर लाग्न सक्छ। लोकतन्त्रमा विकल्प सधैं खुला हुनुपर्छ। तर जब देश बहुआयामिक दबाबमा छ, जब निर्णय नलिने नेतृत्व नै सबैभन्दा ठूलो जोखिम बन्छ, तब कठोर मूल्यांकन अपरिहार्य हुन्छ। इतिहासले बारम्बार देखाएको छ, सानो देशको सबैभन्दा ठूलो हतियार नेतृत्वको आत्मविश्वास हो।

केपी ओली पूर्ण नेता होइनन्। तर उनी यस्तो नेता हुन्, जसले विश्व शक्तिसँग आँखा जुधाएर बोल्न डराएनन्। आजको नेपाललाई देवता होइन, डर नमान्ने नेता चाहिएको छ। किनभने डराउने नेतृत्वले देश चलाउँदैन, देश सुम्पिन्छ।

अन्ततः प्रश्न ओलीको होइन, नेपालको हो। हामी के बन्न चाहन्छौं, निर्णय गर्ने राष्ट्र, कि निर्णय सहने भूगोल ? यदि हामी पहिलो विकल्प रोज्छौं भने, बहस नेतृत्वको साहसमा केन्द्रित हुनुपर्छ, न कि उसको शैलीमा। इतिहास सधैं सहज नेता सम्झँदैन, असहज तर निर्णायक पात्र सम्झिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button