रास्वपाको पनि अब म नै नेता हुँ: पुष्पकमल दाहाल

रुकुमकोट, : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो मत परिणामलाई लक्षित गर्दै धेरै सिट ल्याएको भन्दै हौसिन नहुने बताएका छन्। रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा विजय र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विगतको आफ्नै अनुभव सुनाउँदै अहिले देशभर विजयोन्मुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति तीखो टिप्पणी गरेका छन्।
दाहालले भने, ‘ल्याउन त हामीले पनि २०६४ मा यसैगरी ठूलो जनमत ल्याएका थियौं। तर त्यो जित कायम राख्न सकेनौं। यसकारण अहिले कोही पनि हौसिन जरुरी छैन। कम ल्याएकोमा दुःखी हुन पनि आवश्यक छैन।’
तर, उनले रास्वपालाई सिधै चुनौती दिँदै त्यसको नेतृत्व पनि आफूले नै गर्नुपर्ने दाबी गरे। ‘हिजोदेखि हामीले नै उठाइरहेका एजेण्डाहरू जेन-जी युवाहरूले उठाएका हुन्। रास्वपाको पनि कुरा त्यही नै हो। यसकारण यो पार्टीको पनि अब म नै नेता हुँ,’ उनले भने।
आफूलाई ‘शेर’ को संज्ञा दिँदै उनले अब संसद्मा आफू नै सबैभन्दा वरिष्ठ नेता हुने सम्भावना बढेको समेत बताए। ‘पूर्वप्रधानमन्त्रीहरूमध्ये म नै एउटा यस्तो उम्मेदवार हुँ जसले जित हासिल गरेको छु। यसकारण म त शेर नै हुँ,’ उनको भनाइ थियो।
आफूलाई मतदान गरेर विजयी बनाएकोमा रुकुम पूर्वका मतदातालाई धन्यवाद दिँदै दाहालले जिल्लाको समग्र विकासका लागि लागिपर्ने प्रतिबद्धता दोहोर्याए। शान्ति प्रक्रियाका केही काम अधुरो रहेको भन्दै आगामी दिनमा सबैको सहयोगको अपेक्षा समेत उनले व्यक्त गरे।
उल्लेखनीय छ, दाहाल १० हजार २ सय ४० मत ल्याएर रुकुम पूर्वबाट विजयी भएका हुन्। कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा जम्मा १९ हजार १ सय ५१ मत खसेको थियो। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४ सय ६२ मत पाए भने कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरिन्।





