सुर्खेतमा रोमाञ्चक प्रतिस्पर्धाः एक क्षेत्रमा कांग्रेस अगाडि, अर्कोमा रास्वपाको बलियो उपस्थिति

सुर्खेत, : कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको मतगणना जारी रहँदा दुई निर्वाचन क्षेत्रमा फरक–फरक राजनीतिक शक्तिहरूले अग्रता लिएका छन्। एउटा क्षेत्रमा नेपाली कांग्रेसले बढत बनाइरहँदा अर्को क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजी मारेको छ। नेकपा एमाले भने दुवै क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा सीमित हुनुपरेको छ।

सुर्खेत क्षेत्र नं. १ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले ७ हजार ३ सय ८१ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेका ध्रुवकुमार शाही ५ हजार २ सय ५१ मतसहित पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर सिंह ठकुरी ४ हजार ४ सय २९ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर राना ५ सय ७१ मतमा सीमित छन्।

यता, सुर्खेत क्षेत्र नं. २ मा भने रास्वपाले आफ्नो उपस्थिति बलियो बनाएको छ। यस क्षेत्रमा रास्वपाका रमेशकुमार सापकोटाले ४ हजार ९ सय ८४ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेपाली कांग्रेसका नारायण कोइराला ३ हजार ९ सय २४ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा ३ हजार ६ सय ५७ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्ल १ हजार ७ सय ३८ मतमा पछि परेका छन्।

मतगणना जारी रहेको र अन्तिम परिणाम आउन केही समय लाग्ने भए पनि हालको अवस्थाले सुर्खेतमा कांग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा देखाएको छ। एमाले दुवै क्षेत्रमा पहिलो स्थानमा उक्लिन सकेको छैन। शान्तिपूर्ण रूपमा जारी मतगणनाप्रति स्थानीयवासीको उत्सुकता उस्तै छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button