गाली, गोदाइ र जेलको मूल्य चुकाएर लेखिएको सत्य

किशोर श्रेष्ठ, जनआस्था र सम्झौताबिहिन पत्रकारिताको दस्तावेज

# पासाङ ल्हामु

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको लामो, तीतो र भावनात्मक अभिव्यक्ति सामान्य सामाजिक सञ्जालको स्टाटस मात्र होइन, यो समकालीन नेपाली पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र सत्य लेख्ने साहसको मूल्य कति कठोर हुन्छ भन्ने कुराको जिउँदो दस्तावेज हो। यो अभिव्यक्ति कुनै व्यक्तिप्रतिको आक्रोश, आवेग वा क्षणिक भावनात्मक विस्फोट होइन, बरु दशकौँसम्म निरन्तर रूपमा भोगिएको दमन, धम्की, चरित्रहत्या, जेल, कुटाइ र योजनाबद्ध गाली अभियानविरुद्धको सुस्पष्ट प्रतिवाद हो। अझ स्पष्ट शब्दमा भन्ने हो भने, यो अभिव्यक्ति सत्तासँग नझुकेको पत्रकारिताको आत्मस्वीकृति हो।

किशोर श्रेष्ठको भनाइको सुरुवात नै ती मानिसहरूप्रति व्यंग्यात्मक ‘अभिनन्दनपत्र’ बाट हुन्छ, जो नपढी, नबुझी, नक्कली नाममा बसेर गालीगलौजको खेती गर्छन्। उनी चेतावनी दिन्छन्, यस्तो अभ्यास कसैले नगरोस्, किनकि एक दिन आफैँलाई पछुतो हुनेछ। यहाँ उनको रोष गालीप्रति होइन, अज्ञानता र कायरताप्रति हो। उनले स्पष्ट पारेका छन् कि आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, तर तथ्य नबुझी, प्रमाण नहेरी, छद्मभेषमा गरिने आक्रमण लोकतन्त्र होइन, भीडको उन्माद हो।

श्रेष्ठ बारम्बार जोड दिन्छन्, उनीहरूको कलम कुनै व्यक्तिविरुद्ध केन्द्रित छैन। ओली, देउवा, आरजु, प्रचण्ड, पारस, प्रज्वल समशेरजस्ता नामहरू व्यक्ति होइनन्, ती सत्ताको दुरुपयोग, संरक्षणवाद, भ्रष्टाचार र दण्डहीनताको प्रतिनिधि प्रवृत्ति हुन्। यही प्रवृत्तिमाथि नडराई लेखेकै कारण जनआस्था परिवार र स्वयं किशोर श्रेष्ठले जेल, धम्की, कुटाइ र निरन्तर गालीको सास्ती भोग्नुपरेको उनको दाबी छ। तर उनले गर्वका साथ भन्छन्, सात पुस्तासम्म पुग्ने गरी मूल्य चुकाए पनि सत्य उत्खनन् गर्ने कलम कहिल्यै रोकिएन, रोकिने पनि छैन।

आज सामाजिक सञ्जालमा कसैलाई ‘झोले’, ‘दलाल’, ‘बलात्कारी’ भनेर लेबल टाँस्नु अत्यन्त सजिलो भएको छ। तर किशोर श्रेष्ठ गम्भीर प्रश्न उठाउँछन्, के हामी सबै आजन्म न्यायाधीश बन्ने अधिकार लिएर जन्मिएका हौं ? प्रमाण, प्रक्रिया र सम्पूर्ण तथ्य नबुझी ठहर सुनाउनु सजिलो छ, तर सत्यको जिम्मेवारी बोक्नु कठिन छ। यही कठिन बाटो जनआस्थाले रोज्यो, त्यसैले प्रहारको केन्द्रमा पर्‍यो।

उनको भनाइले नेपाली राजनीतिक इतिहासका ती पाटाहरू पनि स्मरण गराउँछ, जसलाई आज नियोजित रूपमा बिर्सन खोजिँदैछ। रवि लामिछानेसँग सम्बन्धित पाँचवटा प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउँदा केपी शर्मा ओली स्वयंले रातिराति बालुवाटार बोलाएर उल्टै प्रेस काउन्सिलबाट किशोर श्रेष्ठलाई पदच्युत गरेको घटनालाई उनले स्मरण गराएका छन्। त्यसो गर्दा के ढाकियो ? राहदानी, नागरिकता, श्रम, अध्यागमन, करछली र सहकारी ठगीका प्रश्नहरू मेटिए ? कि ओली–रवि दोस्ती झन मजबुत बन्यो ? यी प्रश्नहरू आज पनि उत्तरको प्रतीक्षामा छन्।

श्रेष्ठको तर्क स्पष्ट छ, सत्य केही समय दबाउन सकिन्छ, तर इतिहासलाई स्थायी रूपमा मेटाउन सकिँदैन। यही सन्दर्भमा उनले भदौ २३ र त्यसपछिका दिनहरूमा भएका घटनाहरूको तथ्यगत विवरण प्रस्तुत गर्छन्। मृतकको संख्या भावनामा होइन, यथार्थमा आधारित भएर राखिनुपर्छ भन्ने उनको आग्रह अत्यन्त संवेदनशील र जिम्मेवार पत्रकारिताको उदाहरण हो। भदौ २३ मा मारिएका १९, त्यसपछि जेलबाट भाग्न खोज्दा धादिङ, रामेछापलगायत स्थानमा मारिएका कैदीबन्दी, चौकीमा कुटिकुटी मारिएका प्रहरी, भाटभटेनी लुटपाटका क्रममा जलेका नागरिक, यी सबैलाई एउटै फ्रेममा राखेर प्रस्तुत गर्नु अन्याय हुने उनको स्पष्ट मत छ।

“कागले कान लग्यो भने पहिले आफ्नै कान छामौँ” भन्ने उक्ति प्रयोग गर्दै उनी भीडको पछाडि नलाग्न आग्रह गर्छन्। पानी बाँड्छु भन्ने सुधन गुरुङले काठमाडौंका सिडिओलाई बुझाएको पत्रको अन्तर्य नबुझी भावनामा बग्नु गलत हुने उनी बताउँछन्। सिक्काका दुई पाटा हुन्छन् भन्ने उनको स्मरण गराउने शैली आजको ध्रुवीकृत समाजमा झन सान्दर्भिक देखिन्छ।

उनले प्रश्न गर्छन्, भदौ २३ का लागि यदि केपी ओली र रमेश लेखक दोषी छन् भने छानबिन आयोगको प्रतिवेदनका आधारमा कारबाही गरौँ, भदौ २४ का लागि दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याऔँ। राम्रो गर्नेलाई ‘क्यावात’ र नराम्रो गर्नेलाई ‘मूर्दावाद’ भन्ने संस्कार नै लोकतान्त्रिक हो। दुईजिब्रेहरूसँग साखुल्ले बन्न नसकिने र गल्तीलाई ‘वाह’ भन्न नहुने उनको स्पष्ट चेतावनी हो।

किशोर श्रेष्ठले जनआस्थाले प्रकाशित गरेका थुप्रै समाचारहरू स्मरण गराउँदै प्रश्न गर्छन्, मालपानीको गाडी उपहारको खबर गलत थियो ? चार श्रीमतीको समाचार असत्य थियो ? पोखरा विमानस्थल घोटाला र प्रदीप अधिकारीहरू समातिन लागेको खबर उल्टो भयो ? ओलीको बहुमूल्य घडी, भदौ २३ मा सरकारलाई लेखिएको चिठी, सिंहदरबार जलाउनेलाई गोली हान्न चुक्ने सैनिक कमाण्डर थुनिएको ब्रेकिङ सूचना, यी सबै असत्य थिए ? यदि थिए भने कसरी र किन अहिलेसम्म ठोस रूपमा खण्डन हुन सकेन ?

संपत्ति शुद्धीकरण, संगठित अपराध र बालिका बलात्कार जस्ता गम्भीर मुद्दा पहिलोपटक कसले सार्वजनिक गर्‍यो भन्ने प्रश्न पनि उनले पाठककै विवेकमा छोड्छन्। उनी चुनौती दिन्छन्, छातीमा हात राखेर भन्नुहोस्, तपाईंले के पढ्नुभयो ?

उनको सबैभन्दा तीखो प्रहार छद्मभेषमा बसेर गाली गर्नेहरूमाथि छ। सक्कली परिचयसहित जनआस्थाका समाचारसँग भिड्न नसक्नेहरू नै नक्कली नाममा कुण्ठा पोख्ने गरेको उनको आरोप छ। उनी सम्झाउँछन्, जनआस्था र किशोर श्रेष्ठले जेल बसेर, टाउको फुटाएर ल्याएको स्वतन्त्रताको दुरुपयोग नगर्नुस्। एकचोटी आफ्ना जन्मदातालाई सोध्नुस्, यी पत्रकारहरूले कति जोखिम मोलेर सूचना खोजे, कति अवसर गुमाए, कति शत्रु कमाए ?

किशोर श्रेष्ठका लागि गाली अभिशाप होइन, इन्धन हो। उनी खुलेर भन्छन्, तालीले मताउँछ, गालीले एकछिन सताउँछ, तर जाँगर मरेको पत्रकारलाई सत्तोसरापले थप प्रमाण खोज्न जुरुक्क उठाउँछ। अझै सराप्नुहोस्, सक्दो सराप्नुहोस् भन्ने उनको चुनौती कुनै घमण्ड होइन, आत्मविश्वास हो। उनी विश्वास गर्छन्, श्रापरूपी शब्दले नयाँ नयाँ रहस्य जन्माउँछ, स्रोतहरूसँग अकाट्य सबुत मगाउँछ।

अन्त्यमा उनले व्यंग्यात्मक तर गम्भीर निमन्त्रणा दिन्छन्, तथ्यहीन गाली गरेर हामीलाई अझै जिउँदो, अझै सम्झौताबिहिन पत्रकारितामा लागिरहन सहयोग गर्नुहोस्। तपाईंको श्राप हामी सधैं आशिर्वादका रूपमा सम्झनेछौं।

यो सम्पूर्ण अभिव्यक्ति किशोर श्रेष्ठको व्यक्तिगत बचाउ मात्र होइन, यो नेपाली पत्रकारिताको एउटा कठोर घोषणापत्र हो। यसले हामी सबैलाई असहज प्रश्न सोध्न बाध्य बनाउँछ, हामी सत्य चाहन्छौं कि आफ्नो मनपर्ने झूट ? हामी तथ्य पढ्छौं कि भीडको नारा दोहोर्‍याउँछौं ? लोकतन्त्रमा सबैभन्दा असहज पात्र सधैं सत्य बोल्ने पत्रकार नै हुन्छ। किशोर श्रेष्ठको भनाइ त्यसैको प्रमाण हो, तीतो, कठोर, तर अनिवार्य।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button