प्रतिभाको भ्रम र सूचनाको शक्ति

# लक्की चन्द

समाजमा सफलता, पहुँच र हैसियतको बहस सुरु हुनासाथ हामी प्रायः एउटा सजिलो निष्कर्षमा पुग्छौँ “उनीहरू हामीभन्दा बौद्धिक छन्।” तर यो निष्कर्ष कति हदसम्म सत्य छ ? नेपालको सामाजिक संरचना, क्षेत्रगत प्रतिनिधित्व र पेशागत वितरणलाई गहिरिएर हेर्दा देखिन्छ कि सफलताको मूल कारण बौद्धिकता भन्दा धेरै सही सूचना, सही समयमा पाइएको आइडिया र त्यसको निरन्तर हस्तान्तरण हो।

लोक सेवा आयोगका परीक्षामा कुन जिल्लाका मानिस धेरै सफल हुन्छन्, सेना–प्रहरीको उच्च तहमा कुन भूगोलका मानिस बढी देखिन्छन्, कुन समुदाय सरकारी सेवामा हाबी छ वा कुन क्षेत्रका मानिस विदेशिने प्रवृत्तिमा अगाडि छन्, यी सबै प्रश्नको उत्तर खोज्दा “जन्मजात क्षमता” भन्दा “सूचनाको प्रवाह” निर्णायक बनेर उभिन्छ।

लोक सेवा आयोगको परीक्षा नेपालको सबैभन्दा प्रतिस्पर्धात्मक परीक्षा हो। तर वर्षौंदेखि हेर्दा केही जिल्लाहरू स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा बाट असामान्य रूपमा धेरै कर्मचारी निस्कन्छन्। यसलाई लिएर कतिपयले “यी जिल्लाका मान्छे पढाइमा तेज हुन्छन्” भन्छन्। तर वास्तविकता त्यति सरल छैन।

यी जिल्लामा लोक सेवासम्बन्धी सूचना पुस्तान्तरणको परम्परा छ। कसले कुन किताब पढ्ने, कसरी तयारी गर्ने, कुन तहबाट सुरु गर्ने, कुन विषयमा बढी ध्यान दिने, यी सबै कुरा गाउँ टोलमै छलफल हुन्छ। अवकाशप्राप्त कर्मचारी, असफल भएर पनि अनुभव बटुलेका युवाहरू, तयारी केन्द्रहरू सबैले मिलेर एउटा अनौपचारिक ज्ञान–सञ्जाल निर्माण गरेका छन्। यही सञ्जालले नयाँ पुस्तालाई “गल्ती दोहोर्‍याउन नपर्ने” सुविधा दिन्छ।

सुदूरपश्चिमका मानिसहरू सेना र प्रहरीको उच्च ओहदामा देखिनुको कारण पनि बौद्धिकता होइन, ऐतिहासिक सूचना प्रवाह हो। सीमावर्ती भूगोल, रोजगारीका सीमित विकल्प र राज्य संयन्त्रसँगको पुरानो सम्बन्धका कारण त्यहाँ सुरक्षा निकायलाई “स्थायी र सम्मानजनक विकल्प” का रूपमा हेरियो।

कुन उमेरमा भर्ना हुने, कुन तालिम कति कठिन हुन्छ, कुन पदमा भविष्य सुरक्षित हुन्छ, यी सबै जानकारी पुस्तौँदेखि सरे। जब कुनै समाजले एउटा पेशालाई “जीवनको बाटो” का रूपमा स्वीकार्छ, त्यहाँ तयारी, अनुशासन र निरन्तरता आफैँ विकसित हुन्छ।

बाग्लुङका मानिस विदेश बढी जान्छन् भन्ने कुरा पनि संयोग होइन। कुनै समय खाडी मुलुक, मलेसिया वा युरोप पुगेका केही व्यक्तिहरूले आफ्नो अनुभव साझा गरे, कुन देश सुरक्षित छ, कुन काममा ठगिन्छ, कुन एजेन्ट भरपर्दो हुन्छ। यही सूचनाले जोखिमलाई रणनीतिमा बदल्यो। यहाँ पनि बौद्धिकताको प्रश्न होइन, जोखिम व्यवस्थापनको ज्ञान हो। गलत सूचना भएको ठाउँमा वैदेशिक रोजगार दुःखको कथा बन्छ; सही सूचना भएको ठाउँमा त्यो आर्थिक उन्नतिको भर्‍याङ बन्छ।

शेर्पाहरू खतरनाक हिमाल चढ्छन् भनेर हामीले त्यसलाई साहस वा शारीरिक क्षमतासँग जोड्ने गरेका छौँ। तर हिमाल चढ्नु केवल बलको काम होइन; त्यो मौसमको ज्ञान, मार्गको स्मृति, जोखिमको पूर्वानुमान र अनुभवको हस्तान्तरण हो।

शेर्पा समुदायमा हिमालसँग सम्बन्धित ज्ञान पुस्तौँदेखि मौखिक रूपमा सरेको छ। कुन मौसममा कुन पास खतरनाक हुन्छ, कहिले फर्किनु बुद्धिमानी हुन्छ, यी निर्णय भावनाले होइन, सञ्चित सूचनाले निर्देशित हुन्छन्। त्यसैले यो पनि बौद्धिकताको होइन, सूचनाको शक्ति हो।

जुन समाज, भूगोल वा परिवेशमा सही सूचना व्यवस्थित रूपमा प्रसारित हुन्छ, त्यहीँका मानिसहरू अगाडि बढ्छन्। सूचना केवल तथ्य होइन; त्यो आत्मविश्वास, दिशा र निर्णय क्षमता हो। जानकारी नभएको मान्छेले अवसर देख्दैन; गलत जानकारी पाएको मान्छेले अवसर गुमाउँछ।

नेपालको समस्या प्रतिभाको अभाव होइन, सूचनाको असमान वितरण हो। शहर–केन्द्रित सूचना, अंग्रेजी–आधारित सामग्री, पहुँच भएका वर्गका लागि मात्र उपलब्ध तयारी स्रोत, यी सबैले अवसरलाई सीमित बनाइरहेका छन्।

हामीले अब एउटा भ्रम तोड्न जरुरी छ मि सफलता कुनै जात, क्षेत्र वा समुदायको जन्मजात विशेषता होइन। त्यो सूचनाको लोकतान्त्रिक पहुँचको परिणाम हो। जब सूचना सबैसम्म पुग्छ, तब प्रतिस्पर्धा पनि निष्पक्ष हुन्छ।

यदि राज्यले, समाजले र शिक्षित वर्गले सही सूचना गाउँ–गाउँसम्म पुर्‍याउन सके, लोक सेवा, सुरक्षा निकाय, वैदेशिक रोजगार वा उद्यम, सबै क्षेत्रमा प्रतिनिधित्व बदलिन्छ। तब मात्र हामी भन्न सक्छौँ नेपालमा अवसर बौद्धिकताले होइन, न्यायपूर्ण सूचनाले निर्धारण गर्छ। अन्ततः प्रश्न यो होइन कि “को कति तेज छ ?” प्रश्न यो हो कि “कसले कति सही सूचना पायो ?”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button