७० वर्षे मैत्रीलाई नयाँ उचाइ दिने राष्ट्रपतिको जापान यात्रा

काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्। ऐतिहासिक मैत्री, आपसी सम्मान र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ राष्ट्रपतिको यो भ्रमण हुन लागेको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपाल एयरलाइन्सको उडानमार्फत जापानतर्फ प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सविता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। यसका साथै जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि माघ १९ गते राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा सहभागी हुनेछन्। उक्त अवसरमा उनले दुई देशबीचको दीर्घकालीन मित्रता, विकास सहकार्य र भावी साझेदारीबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
भ्रमण तालिकाअनुसार राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा पनि सहभागी हुनेछन्, जहाँ लगानी, प्रविधि हस्तान्तरण र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल हुने जनाइएको छ। साथै, टोकियोस्थित नेपाली राजदूतावासले राष्ट्रपति पौडेलको सम्मानमा आयोजना गर्ने विशेष स्वागत समारोहमा समेत उनको सहभागिता रहनेछ।
राष्ट्रपति पौडेलको यो भ्रमणले नेपाल–जापान सम्बन्धलाई केवल ऐतिहासिक सम्झनामा सीमित नराखी भविष्यतर्फ उन्मुख, व्यवहारिक र बहुआयामिक सहकार्यमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरिएको छ। राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।





