‘बहुध्रुवीय विश्वको निर्माण चीनको प्रस्ताव : शान्ति, सहअस्तित्व र जित–जितको बाटो’

# फु यू हाई

चीनले आफूलाई विश्व शान्ति, स्थायित्व र न्यायको एक महत्वपूर्ण शक्तिका रूपमा पुन: स्थापित गर्दै मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान गरेको छ भने अमेरिकासँग जित–जितको सहकार्यमा ध्यान केन्द्रित गर्न प्रस्ताव गरेको छ।

राष्ट्रिय जनकांग्रेसको वार्षिक अधिवेशनको अवसरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीले इरानको अवस्थाबारे टिप्पणी गर्दै सैन्य कारबाही तत्काल रोक्न र सबै पक्षलाई ‘सकेसम्म चाँडो वार्ताको टेबुलमा फर्कन’ आग्रह गरे।

मध्यपूर्वका मामिलाहरू क्षेत्रीय देशहरूले स्वतन्त्र रूपमा निर्धारण गर्नुपर्ने उनको भनाइ थियो। ‘रङ्ग क्रान्तिको षड्यन्त्र वा शासन परिवर्तनको खोजीले जनसमर्थन पाउँदैन,’ उनले भने।

चीन–अमेरिका सम्बन्धबारे वाङ यीले सन् २०२६ द्विपक्षीय सम्बन्धको लागि ‘ठूलो वर्ष’ हुने बताउँदै ‘उच्चस्तरीय भेटवार्ताको एजेन्डा पहिले नै टेबुलमा रहेको’ उल्लेख गरे। ‘दुवै पक्षले अब गर्नुपर्ने भनेको सोही अनुसारको व्यापक तयारी गर्नु, उपयुक्त वातावरण सिर्जना गर्नु, विद्यमान मतभेदहरूलाई व्यवस्थापन गर्नु र अनावश्यक अवरोधहरू हटाउनु हो,’ उनले भने। ‘कुनै पनि पक्षले अर्कोलाई परिमार्जन गर्न सक्दैन, तर हामी कसरी संलग्न हुने भन्ने छनौट गर्न सक्छौं, त्यो हो, पारस्परिक सम्मानको भावना अपनाउने, शान्तिपूर्ण सहअस्तित्वको अन्तिम सीमा कायम राख्ने, र जित–जितको सहकार्यको सम्भावनाको लागि प्रयास गर्ने।’

चीन–रुस सम्बन्धको प्रशंसा गर्दै विदेशमन्त्रीले यो सम्बन्ध ‘सबै अवरोधहरूका बावजुद चट्टानजस्तो बलियो रहेको’ बताए। चीन–रुस रणनीतिक साझेदारी सुरुदेखि नै समानता, सम्मान र पारस्परिक लाभमा आधारित रहेको र यसले नयाँ प्रकारको ठूला शक्ति सम्बन्धको दिशालाई प्रतिनिधित्व गरेको उनको भनाइ थियो।

चीन–युरोप सम्बन्धबारे वाङ यीले चीनले युरोपलाई बहुध्रुवीय विश्वको एक ध्रुव हुनुपर्ने र युरोप चीनको आधुनिकीकरण अभियानको एक प्रमुख साझेदार रहेको विश्वास व्यक्त गरे। चीन र युरोप पारस्परिक रूपले पूरक भएको उल्लेख गर्दै उनले भने, ‘अन्तरनिर्भरता जोखिम होइन; अन्तरसम्बन्धित हितहरू खतरा होइनन्; र खुलापन र सहकार्यले आर्थिक सुरक्षा कमजोर बनाउँदैन, तर पर्खाल र अवरोधहरू खडा गर्नुले आत्म–अलगावतिर मात्र लैजान्छ।’

चीन–भारत सम्बन्धमा वाङ यीले दुई देशलाई छिमेकी मित्रता कायम राख्न र विकासमा केन्द्रित हुन सुझाव दिए। ‘हामीले एकअर्कालाई प्रतिस्पर्धीको सट्टा साझेदार र खतराको सट्टा अवसरका रूपमा हेर्ने सही रणनीतिक धारणा कायम राख्नुपर्छ,’ उनले भने।

चीन–जापान सम्बन्धको भविष्य ‘जापानको छनौटमा निर्भर हुने’ वाङ यीले बताए। गत वर्ष चिनियाँ जनताको जापानविरुद्धको प्रतिरोधात्मक युद्धको ८०औं वर्षगाँठ भएको उल्लेख गर्दै उनले जापानले आफूले रोजेको गलत बाटो, जसमा ताइवानमाथिको क्रूर आक्रमण र उपनिवेशीकरण समावेश छ, को लागि गहिरो पश्चाताप गर्नुपर्ने बताए। तर वर्तमान जापानी नेताले ताइवानमा कुनै आकस्मिक अवस्था आए जापानको लागि तथाकथित ‘सामूहिक आत्मरक्षाको अधिकार’ प्रयोग गर्न ‘अस्तित्वका लागि खतराको अवस्था’ हुने दाबी गरेका छन्।

‘ताइवान मामिला पूर्णरूपमा चीनको आन्तरिक मामिला भएकाले, जापानलाई त्यसमा हस्तक्षेप गर्ने कुन अधिकार छ? चीनको ताइवान क्षेत्रमा केही भएमा जापान आत्मरक्षाको आह्वान गर्न किन योग्य छ?’ उनले प्रश्न गरे। १.४ अर्ब जनसंख्या भएको बलियो चीनले कसैलाई पनि उपनिवेशवादलाई न्यायोचित ठहराउन वा आक्रमणको इतिहासलाई उल्ट्याउन कहिल्यै अनुमति नदिने उनले बताए।

पत्रकार सम्मेलनमा वाङ यीले बढ्दो अशान्त विश्वमा वैश्विक शासन पहल र साझा भविष्य भएको समुदाय निर्माणको महत्त्वलाई प्रकाश पारे। उनले संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिकालाई कायम राख्न, चुनौती नदिन पनि आह्वान गरे।

‘चीन शक्तिशाली हुँदै जाँदा आधिपत्य खोज्ने पुरानो बाटोमा कहिल्यै हिंड्ने छैन, न त हामी विश्व ठूला देशहरूले चलाउन सकिन्छ भन्ने तर्कलाई समर्थन गर्छौं,’ वाङ यीले भने। चीनको प्रस्ताव समान र व्यवस्थित बहुध्रुवीय विश्व निर्माण गर्ने रहेको र ‘यो सबै देशहरूको साझा जिम्मेवारी हुनुपर्छ’ उनले बताए।

विशेषगरी, ग्लोबल साउथ बहुध्रुवीय विश्वलाई प्रवर्द्धन गर्ने एक प्रमुख प्रेरक शक्ति बनेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघमा ग्लोबल साउथका देशहरूको आवाज र प्रतिनिधित्व बढाउन आह्वान गरे।

ल्याटिन अमेरिका र क्यारिबियन (एलएसी) देशहरूसँग चीनको सम्बन्धबारे वाङ यीले एलएसी देशहरूले साथी छनौट गर्न आफ्नै निर्णय लिनुपर्ने बताए। ‘हामी कहिल्यै भूराजनीतिक षड्यन्त्रमा संलग्न हुँदैनौं, न अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्छौं, न त अरूलाई पक्ष रोज्न भन्छौं,’ उनले भने। ‘चीन र एलएसी देशहरूबीचको सहकार्य कुनै तेस्रो पक्षलाई लक्षित गर्दैन र कुनै तेस्रो पक्षको हस्तक्षेपको अधीनमा हुनु हुँदैन।’

चीन–अफ्रिका सम्बन्धबारे वाङ यीले मित्रताले परिवर्तनशील अन्तर्राष्ट्रिय परिस्थितिको परीक्षण सामना गर्दै बलियो जीवन्तता प्रदर्शन गरेको बताए। यस वर्ष चीन–अफ्रिका सम्बन्धमा मे १ देखि अफ्रिकी आयातमा १०० प्रतिशत भन्सार छुटको कार्यान्वयनलगायत धेरै नयाँ विकासहरू हुनेछन्।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औं आर्थिक नेताहरूको बैठक नोभेम्बरमा सांघाई र २०१४ मा बेइजिङपछि तेस्रो पटक चीनले आयोजना गर्ने यो बैठक सेन्जेनमा हुनेछ। वाङ यीले चीनले राम्रो मेजबानका रूपमा एसिया–प्रशान्त समुदाय निर्माणको दृष्टिकोण र खाकालाई कार्य र वास्तविकतामा रूपान्तरण गर्ने लक्ष्यतर्फ काम गर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button