मौनताको शक्ति र बालेनको उदय

# मुना चन्द
नेपालको हालै सम्पन्न निर्वाचनले राजनीतिक विश्लेषकहरूलाई मात्र होइन, आम जनतालाई समेत नयाँ ढंगले सोच्न बाध्य बनाएको छ। यस चुनावले परम्परागत राजनीतिक धारणा र रणनीतिहरूलाई चुनौती दिँदै एउटा नयाँ यथार्थ स्थापित गरेको छ। चुनावबारे गरिएको यो विश्लेषणले तीन महत्त्वपूर्ण आयामहरूलाई उजागर गर्दछ, जसले नेपाली राजनीतिको भविष्यको दिशा निर्धारण गर्न सक्छ।
नेपालको तेस्रो ठूलो आयात ‘भोट’ हो भन्दा फरक नपर्ला। विदेशमा रहेका लाखौँ नेपालीहरूले आफ्नो मातृभूमिप्रतिको चिन्ता र सरोकारलाई प्रवासबाटै अभिव्यक्त गरे। यो परिघटना विश्वव्यापी रूपमा देखा परेको ‘डायस्पोरा पोलिटिक्स’ को ज्वलन्त उदाहरण हो। भारतमा गुजराती प्रवासीहरूले आफ्नो गृहराज्यको विकासमा पुर्याएको योगदान होस् वा फिलिपिन्सको अर्थतन्त्रमा प्रवासी फिलिपिनीहरूले पठाएको रेमिट्यान्सको प्रभाव, प्रवासीहरू आफ्नो देशको राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न हुँदै गएका छन्। नेपालमा पनि जापान, अष्ट्रेलिया, युरोप, अमेरिका, खाडी मुलुक र भारतमा बस्ने नेपालीहरूले आफ्ना परिवारका सदस्यहरूलाई प्रभाव पारेर मात्र होइन, विदेशमै जन्मिएका बालबालिकासम्मले ‘अबकी बार बालेन सरकार’ भन्दै हिँड्नुले प्रवासी चेतनाको गहिरो प्रभाव देखाउँछ।
बालेनको उदयले राजनीतिको एउटा सार्वभौमिक सत्य पुष्टि गरेको छ, जनता भाषणले होइन, व्यवहार र परिणामले प्रभावित हुन्छन्। उनले लामो भाषण, आक्रामक प्रचार र भोट माग्ने परम्परागत शैलीको ठीक विपरीत बाटो रोजे। यो ‘साइलेन्ट स्ट्र्याटेजी’ सफल हुनुको मनोवैज्ञानिक कारण थियो, परम्परागत नेताहरूको अतिवाचकताले जनतामा उत्पन्न गरेको वितृष्णा। फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सना मारिनले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो सरल जीवनशैली र कामप्रतिको समर्पण देखाएर जनताको मन जितेकी थिइन्। ‘चुपचाप घण्टी छाप’ अभियानले मौनतालाई नै नाराको रूपमा स्थापित गरेर यो तथ्य पुष्टि गर्यो कि कहिलेकाहीँ सबैभन्दा प्रभावकारी सञ्चार मौनता नै हुन्छ।
बालेनको व्यक्तित्व र पृष्ठभूमिले नेपाली समाजको बदलिँदो स्वीकार्यताको पनि संकेत गर्दछ। मधेशी समुदायमा जन्मिएर पनि काठमाडौँको संस्कृतिमा हुर्किएका उनलाई सम्पूर्ण देशले सहजै स्वीकार गर्यो, यसले जातीय र क्षेत्रीय विभाजनभन्दा माथि उठेर नेतृत्वलाई हेर्ने जनमानसको परिपक्वता देखाउँछ। यद्यपि यो निर्वाचन संसदीय निर्वाचन थियो, रवि लामिछानेको पार्टीले पाएको भोटको ठूलो हिस्सा बालेनको व्यक्तित्वसँग जोडिएको थियो। यसले नेपाली राजनीतिमा व्यक्तिको बढ्दो महत्त्व र कार्यकारी राष्ट्रपति प्रणालीको अप्रत्यक्ष मागलाई संकेत गर्दछ। फ्रान्समा म्याक्रोंनको ‘एन मार्चे’ आन्दोलनले परम्परागत दलहरूलाई चुनौती दिएर राष्ट्रपति पद हासिल गरेको घटना यहाँ स्मरणीय छ।
बालेनले आगामी पाँच वर्षमा आर्थिक, सामाजिक र राजनीतिक सुधार गरेर मूर्त परिवर्तन ल्याउन सकेमा उनको राजनीतिक भविष्य उज्ज्वल देखिन्छ। १४ वर्ष उमेर पुगेका बालबालिका अर्को चुनावमा मतदाता बन्ने तयारीमा छन्, र उनीहरू अहिलेकै परिवर्तनको वकालतमा हुर्किएका छन्। यदि बालेनले पुटिनले रुसमा जस्तो दशकौं शासन गर्न सक्ने सम्भावना छ। तर यसका लागि उनले सिंगापुरका संस्थापक ली कुआन यूको विकास र सुशासनको मोडेललाई अनुसरण गर्नु बुद्धिमानी हुनेछ।
नेपालको यो चुनावी परिणामले एउटा नयाँ राजनीतिक युगको संकेत गरेको छ, जहाँ मतदाता अब दल र नेताको परम्परागत आश्वासनमा मात्र सीमित छैन, बरु उसले परिणाम र नयाँ शैलीको नेतृत्व खोजिरहेको छ। बालेनको ‘चुपचाप घण्टी छाप’ ले एउटा यस्तो विद्रोहको सुरुवात गरेको छ, जसको प्रभाव आउने दिनमा झन व्यापक र गहिरो हुनेछ।





