पहेंलो सागरमा अस्ट्रेलियाको उक्साहट : चीनद्वारा कडा प्रतिकार र भ्रामक प्रचारको खण्डन

# संकेत किराँती

पहेंलो सागर र पूर्वी चीन सागरमा अस्ट्रेलियाली नौसेनाले गरेको उत्तेजजक गतिविधि र त्यसबारे अस्ट्रेलियाले गरेको भ्रामक टिप्पणीप्रति चीनको राष्ट्रिय रक्षा मन्त्रालयले कडा असन्तोष व्यक्त गरेको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै चीनले अस्ट्रेलियालाई चीनको सार्वभौमसत्ता र सुरक्षा सरोकारको सम्मान गर्दै तुरुन्त भ्रम फैलाउने कार्य बन्द गर्न दबाब दिएको हो।

अस्ट्रेलियाली रक्षा विभागले बुधवार संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव कार्यान्वयन गराउने क्रममा पहेंलो सागरमा नियमित गस्ती गरिरहेको बेला चिनियाँ लडाकु विमानले अस्ट्रेलियाली जहाजमा रहेको हेलिकप्टरलाई असुरक्षित रूपमा नजिक्याएको आरोप लगाएको थियो। उक्त आरोपको जवाफ दिँदै चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता जियाङ बिनले भने, ‘अस्ट्रेलियाको भनाइ पूर्ण रूपमा तथ्यविपरीत र सत्य–असत्य उल्ट्याउने खालको छ, जसप्रति चीनको कडा असन्तोष र विरोध छ।’

प्रवक्ता जियाङले भने, ‘हालै अस्ट्रेलियाली युद्धपोत एचएमएएस तुम्बा (HMAS Toowoomba) ले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावको बहानामा बारम्बार हेलिकप्टर परिचालन गरी पहेंलो सागर र पूर्वी चीन सागरमा चीनविरुद्ध जासुसी गर्ने र उत्तेजक गतिविधि गरिरहेको छ, जसले चीनको राष्ट्रिय सुरक्षालाई गम्भीर खतरा पुर्याएको छ।’ उनले अस्ट्रेलियाको दखलपूर्ण र उत्पीडनमूलक कार्यको जवाफमा चिनियाँ सेनाले तत्काल कडा र बलियो प्रतिकार गरेको दाबी गर्दै भने, ‘हाम्रो कारबाही न्यायोचित, उचित, पेशेवर र मर्यादित थियो, जो अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय अभ्याससँग पूर्ण रूपमा मेल खान्छ।’

प्रवक्ताले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावले कुनै पनि देशलाई अर्को देशको अधिकार क्षेत्रभित्रका समुद्री र हवाई क्षेत्रमा सेना परिचालन गर्ने वा निगरानी गर्ने अधिकार नदिएको स्पष्ट पारे। उनले भने, ‘संकल्पको नाममा चीनको राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षामा आँच पुर्याउने कुनै पनि कार्यलाई चीनले कदापि सहन गर्दैन र कडाइका साथ प्रतिवाद गर्नेछ।’

अन्तमा प्रवक्ता जियाङले अस्ट्रेलियालाई चीनको सार्वभौमसत्ता र सुरक्षा सरोकारको सम्मान गर्न, तुरुन्त भ्रामक सूचना फैलाउन बन्द गर्न, आफ्नो नौसेना र वायुसेनाका गतिविधिहरूमा कडा नियन्त्रण राख्न, कुनै पनि उत्तेजक व्यवहार नगर्न र क्षेत्रीय शान्ति तथा स्थिरतामा खलल पुर्याउने कार्य नगर्न आग्रह गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button