‘ठूला शक्तिको साझा शासन’ अस्वीकार गर्दै चीनको विकल्प : बहुध्रुवीय विश्वको पक्षमा

बेइजिङ । चीनले ‘ठूला शक्तिहरूको साझा शासन’को तर्कलाई कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेको छ। १४औं राष्ट्रिय जनकांग्रेसको चौथो अधिवेशनको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरूसँग चीनको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे धारणा राख्दै यो कुरा बताएका हुन्।
पत्रकार सम्मेलनमा एक एनबीसी पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका व्यक्तित्वहरूद्वारा प्रस्तावित ‘अमेरिका–चीन साझा शासन’को अवधारणाबारे प्रश्न गरेका थिए। उक्त अवधारणाअनुसार दुवै देशले विश्वव्यापी चुनौतीहरूको सामना गर्न जिम्मेवारी बाँडफाँड गर्ने उल्लेख छ। पत्रकारले चीन यो प्रस्ताव स्वीकार गर्न तयार छ कि छैन, र यदि छैन भने अमेरिकासँग द्वन्द्व निम्त्याउने र विश्वलाई आश्वस्त पार्ने कुन विकल्प चीनसँग छ भनी प्रश्न गरेका थिए।
जवाफमा विदेशमन्त्री वाङ यीले चीन र अमेरिकाको विश्वमा महत्त्वपूर्ण प्रभाव रहेको स्वीकार गर्दै भने, ‘हामीले यो पनि बिर्सनु हुँदैन कि ग्रहमा १९० भन्दा बढी देशहरू छन्, र विश्व इतिहास सधैं सबै राष्ट्रहरूद्वारा सामूहिक रूपमा लेखिँदै आएको छ। मानवजातिको भविष्य सबै देशका जनताले मिलेर बनाउनुपर्छ।’
विविधता र सहअस्तित्व मानव समाजको वास्तविक प्रकृति भएको र बहुध्रुवीय सहअस्तित्व अन्तर्राष्ट्रिय परिदृश्यको उचित स्वरूप भएको उनले बताए। इतिहासलाई फर्केर हेर्दा ठूला शक्तिहरूबीचको प्रतिद्वन्द्विता र गुटगत द्वन्द्वले मानवतालाई प्रत्येक पटक विपत्ति र पीडा दिएको सन्दर्भ उल्लेख गर्दै वाङ यीले चीन ‘बलियो राष्ट्र हेजेमोनीको खोजीमा हुन्छ’ भन्ने पुरानो बाटो कहिल्यै नअपनाउने स्पष्ट पारे।
चिनियाँ संविधानले नै देशले स्वतन्त्र विदेश नीति र शान्तिपूर्ण विकासको मार्ग अवलम्बन गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उनले भने, ‘चिनियाँ नेतृत्वले अन्तर्र्राष्ट्रिय मञ्चहरूमा पटक–पटक जोड दिएका छन्— अन्तर्र्राष्ट्रिय परिस्थिति जतिसुकै विकसित होस् र चीन जतिसुकै विकासित होस्, यसले कहिल्यै आधिपत्य वा विस्तारवादको खोजी गर्दैन।’
अन्तर्र्राष्ट्रिय परिदृश्य कसरी विकसित हुनुपर्छ भन्ने प्रश्नमा वाङ यीले चीनको प्रस्ताव ‘समान र व्यवस्थित बहुध्रुवीय विश्व’ निर्माण गर्ने रहेको बताए। ‘समान’ को अर्थ देशहरू आकार वा शक्तिमा भिन्न भए पनि अन्तर्र्राष्ट्रिय समुदायका समान सदस्य हुन् र बहुध्रुवीय ढाँचामा आफ्नो स्थान खोज्न र उचित भूमिका खेल्न सक्छन्। ‘व्यवस्थित’ को अर्थ सबै देशहरूले सार्वभौमिक रूपमा मान्यता प्राप्त अन्तर्र्राष्ट्रिय नियमहरू, अर्थात् संयुक्त राष्ट्र बडापत्रका उद्देश्य र सिद्धान्तहरू र अन्तर्र्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने आधारभूत मापदण्डहरूको पालना गर्नुपर्छ।
समान र व्यवस्थित बहुध्रुवीय विश्वको निर्माण सबै देशहरूको साझा जिम्मेवारी हुनुपर्ने बताउँदै विदेशमन्त्री वाङ यीले ठूला शक्तिहरूसँग बढी स्रोत र क्षमता भएकाले उनीहरूले नियमहरूको पालना, प्रतिबद्धताको सम्मान र कानूनको शासन कायम राख्न अग्रसर भई फराकिलो दृष्टिकोण र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने धारणा राखे। उनले भने, ‘चीन परिवर्तनशील विश्वमा रचनात्मक शक्ति बनिरहन तयार छ र बहुध्रुवीय विश्वको आगमनको सामना गर्न सबै देशहरूसँग मिलेर काम गर्नेछ।’





