१९ चैत्र २०८२, बिहीबार

खजुरामा फुटबलको महाकुम्भ : ७ लाखको पुरस्कार, दुई विदेशी टोलीसहित गोल्ड कप सुरु

खजुरा (बाँके) — बाँकेको खजुरामा मुलुककै खेलकुद क्षेत्रमा कोशेढुङ्गा सावित हुने गरी ‘प्रथम खजुरा गोल्ड कप’ फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना र खजुरा गाउँपालिकाको संरक्षकत्वमा हुने प्रतियोगिता चैत्र ३० गतेदेखि सुरु हुने भएको हो।

सोमबार पत्रकार सम्मेलन गरी आयोजकले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। प्रतियोगितामा दुई विदेशी टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने क्लबका अध्यक्ष बालाराम खत्रीले बताए। सहभागी टोलीहरूमा संकटा क्लब काठमाडौं, एपीएफ क्लब, चर्च ब्वाइज क्लब काठमाडौं, नाइजेरियन जोन क्लब (नाइजेरिया), लखनऊ साहारा क्लब (भारत), गोरखा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, कांक्रेबिहार क्लब सुर्खेत र आयोजक न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा रहेका छन्।

प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। सर्वोत्कृष्ट खेलाडीदेखि विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ।

गोल्ड कप सम्पन्न गर्न करिब ७३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खजुरा गाउँपालिकाले १७ लाख, अमेरिकामा बस्ने खजुराका स्थानीय समाजसेवी लिलबहादुर थापाले प्रथम पुरस्कार बापत ७ लाख, चित्लाङ एफसीका सञ्चालक अंकित थापाले ७ लाख उपलब्ध गराउने भएका छन्। बाँकी रकम आयोजकको आन्तरिक स्रोतबाट जुटाइने अध्यक्ष खत्रीले जानकारी दिए।

आयोजकले प्रतियोगितामा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ। खजुरा गाउँपालिकाको खेलकूद क्षेत्रको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको यस प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्न, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल संस्कृतिलाई खजुरामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button