लुम्बिनीमा थाई राजपरिवारको आध्यात्मिक उपस्थितिः शान्ति, करुणा र मैत्रीको सन्देश

काठमाडौँ । थाई राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले बुद्ध जन्मस्थल लुम्बिनी पुगेर विशेष पूजाआजा तथा ध्यान गरेकी छन्। बौद्ध धर्मप्रति गहिरो श्रद्धा प्रकट गर्दै उनी भारतबाट स्थल मार्ग हुँदै दुई दिनका लागि लुम्बिनी आएकी थिइन्। लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीको आयोजनामा सम्पन्न विशेष धार्मिक कार्यक्रममा उनको सक्रिय सहभागिता रह्यो।

शुक्रबार बिहान सिनेनाथ बिलासकल्यानीले लुम्बिनीको केन्द्रबिन्दु मानिने मायादेवी मन्दिरमा विधिपूर्वक पूजाआजा गरिन्। त्यसपछि उनले मन्दिरको दक्षिणतर्फ अवस्थित ऐतिहासिक पुष्करणी पोखरीको परिक्रमा गर्दै विश्व शान्ति, सद्भाव, करुणा र मैत्रीको कामनासहित करिब आधा घण्टा परित्राण पाठ गरिन्। पूजापाठको क्रममा भारत र नेपालका लागि थाई धर्मदूत फ्रा थम्म बोधीओङले धार्मिक विधि सम्पन्न गराएका थिए।

पूजाआजापछि उनले मायादेवी मन्दिर परिसरमा रहेको ऐतिहासिक अशोक स्तम्भमा श्रद्धा अर्पण गरिन्। सोही क्रममा विभिन्न देशबाट आएका भिक्षु–भिक्षुणीसँग भेटघाट गर्दै बौद्ध धर्म, शान्ति र मानवताका साझा मूल्यबारे संवाद गरिन्। करिब दुई घण्टा मन्दिर परिसरमा बिताएकी उनले ध्यान, प्रार्थना र आत्मचिन्तनमा समय व्यतीत गरिन्।

थाई राजपरिवारको लुम्बिनीप्रतिको यो श्रद्धा नयाँ होइन। आठ वर्षअघि थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन्धोर्नले लुम्बिनी भ्रमण गरेपछि यहाँ थाई पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै आएको छ। सिनेनाथ बिलासकल्यानीको यो भ्रमणसँगै थाई राजपरिवारबाट लुम्बिनीमा भएको भ्रमणको संख्या चौथो पुगेको छ।

यसअघि उनी बौद्ध धर्मावलम्बीले चारधामका रूपमा मान्ने बौद्धगया, सारनाथ र कुशीनगरमा पूजाआजा गरी लुम्बिनी पुगेकी थिइन्। ७० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी जनवरी २१ तारिखमा चार्टर्ड विमानमार्फत भारत पुगेकी थिइन्। लुम्बिनीको धार्मिक कार्यक्रम सम्पन्न गरेपछि उनी शुक्रबार नै थाई एयर फोर्सको बोइङ ७३७ चार्टर्ड विमानमार्फत बैंकक प्रस्थान गरिन्।

थाई राजा महावजिरालङकोर्नकी श्रीमती रहेकी सिनेनाथ बिलासकल्यानीलाई राजाले ‘शाही नोबल कन्सर्ट’ अर्थात अति विशिष्ट राजपरिवार सदस्यको उपाधि प्रदान गरेका छन्। साथै, बौद्ध परम्पराअनुसार भिक्षु–भिक्षुणीलाई प्रदान गरिने ‘चौखुन फ्रा’ उपाधि पनि उनलाई प्रदान गरिएको छ। लुम्बिनीमा उनको यो आध्यात्मिक यात्रा केवल व्यक्तिगत श्रद्धा मात्र नभई विश्व शान्ति र मानवताका साझा मूल्यप्रति थाई राजपरिवारको प्रतिबद्धताको प्रतीकका रूपमा समेत हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button