१९ चैत्र २०८२, बिहीबार

‘होर्मुजको नाकाबन्दी र युद्धको अन्त्य’ : ट्रम्पको नयाँ रणनीतिक मोड

वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमा नाकाबन्दी जारी रहे तापनि इरानविरुद्धको सैनिक कारबाहीलाई अन्त्य गर्न चाहेको अमेरिकी पदाधिकारीहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्पले आफ्ना सहायकहरूलाई युद्धको अन्त्यका लागि इच्छुक रहेको स्पष्ट पारेको स्रोतले उल्लेख गरेको छ।

अमेरिकी सरकारका पदाधिकारीहरूको मूल्याङ्कनअनुसार यदि जबरजस्ती होर्मुज जलडमरू पुनः खोल्ने प्रयास गरियो भने निर्धारित सैनिक कारबाही कम्तीमा ४ देखि ६ हप्तासम्म लम्बिनेछ। यसले ठूलो सैनिक र आर्थिक दबाब सिर्जना गर्ने देखिएपछि ट्रम्प प्रशासनले रणनीतिमा परिवर्तन गरेको हो। नयाँ योजनाअनुसार पहिले इरानी नौसेना र त्यसको क्षेप्यास्त्र क्षमतालाई लक्षित गरी तिनलाई कमजोर पारिनेछ। त्यसपछि चरणबद्ध रूपमा वर्तमान सैनिक कारबाहीलाई अन्त्य गर्ने निर्णय गरिएको छ।

यसअघि अमेरिकाले होर्मुज जलडमरूको नियन्त्रण र सञ्चालन पुनः सुरु गर्नुलाई मुख्य सैनिक लक्ष्य बनाएको थियो। तर मार्च ३० तारिख ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले पत्रकार सम्मेलनमा उक्त रणनीतिमा परिवर्तन भएको संकेत दिइन्। उनले हालसम्म अमेरिकाले होर्मुज जलडमरूको सामान्य सञ्चालन पुनः आरम्भ गर्नुलाई इरानलक्षित सैनिक लक्ष्यमा नराखेको जानकारी गराइन्। यसलाई विश्लेषकहरूले अमेरिकी नीतिमा आएको महत्वपूर्ण मोडको रूपमा हेरेका छन्।

होर्मुज जलडमरू विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग हो। विश्वको लगभग पाँचौं हिस्सा दैनिक तेल आपूर्ति यही मार्ग हुँदै हुन्छ। इरानले हाल यस जलडमरूको ठूलो भागमा नियन्त्रण जमाइसकेको छ। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल बजार, खाडी मुलुकहरूको अर्थव्यवस्था र विश्वव्यापी ऊर्जा सुरक्षामा परेको छ।

ट्रम्प प्रशासनको यो नयाँ रणनीतिले मध्यपूर्वमा ठूलो सैनिक टकरावको सम्भावना तत्कालका लागि टारेको विश्लेषकहरू बताउँछन्। पेन्टागनका उच्च अधिकारीहरूले लामो समयसम्म चल्ने सैनिक अभियानले अमेरिकी सेना र खाडी क्षेत्रका सहयोगी मुलुकहरूलाई पार्न सक्ने क्षतिको आकलन गरेपछि ट्रम्पले यो निर्णय लिएको बुझिन्छ।

तर इरानले भने अमेरिकी चेतावनी र सैनिक गतिविधिलाई गम्भीर रूपमा लिइरहेको छ। इरानी सुप्रिम नेता अयातुल्ला अली खामेनेईका सुरक्षा सल्लाहकारहरूले कुनै पनि आक्रमणको अन्तिम र निर्णायक जवाफ दिने चेतावनी दिइसकेका छन्। खाडी क्षेत्रमा तनाव यथावत् रहेको र अमेरिकी नीति परिवर्तनले दीर्घकालीन शान्ति सुनिश्चित नगर्ने पनि इरानको भनाइ छ।

यसैबीच, संयुक्त राष्ट्र संघ र युरोपेली संघले दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक वार्तामा फर्कन आह्वान गरिरहेका छन्। तर दुवै पक्षका सैनिक गतिविधि र क्षेप्यास्त्र परीक्षणहरू निरन्तर जारी रहेकाले मध्यपूर्वमा शान्तिको सम्भावना अझै धुमिल देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button