भ्रष्टाचार मुद्दा, कडा प्रतिस्पर्धा र राजनीतिक विरासतको परीक्षा : माधव नेपालको ‘अन्तिम चुनाव’

काठमाडौँ । २२ जेठ २०८२ मा रौतहटको गौरस्थित तत्कालीन एकीकृत समाजवादीको कार्यक्रममा सहभागी भइरहेका बेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको खबर सार्वजनिक भयो। कार्यक्रम छोट्याएर फर्किएका नेपाल त्यसयता पनि सक्रिय राजनीति मै देखिएका छन्।
एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट रौतहट–१ मा उनको नाम एकल रूपमा सिफारिस भएको छ। छैटौँ पटक संसदीय चुनाव लड्दै गरेका नेपालले यसलाई आफ्नो ‘अन्तिम चुनाव’ बताएका छन्। २०४८ मा राष्ट्रिय सभा सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका नेपाल चार पटक निर्वाचित र एक पटक पराजित भएका छन्।
यसपटक रौतहट–१ मा प्रतिस्पर्धा कडा छ। एमालेबाट अजयकुमार गुप्ता, कांग्रेसबाट पूर्वमन्त्री अनिलकुमार झा, जसपाबाट योगेन्द्र यादव र रास्वपाबाट राजेश चौधरी मैदानमा छन्। कांग्रेस उम्मेदवार झा स्थानीय सरकार र प्रदेश सरकारको बलमा आशावादी छन् भने एमालेका गुप्ता गठबन्धन नहुँदा जित सुनिश्चित भएको दाबी गर्दै बाढी नियन्त्रणलाई मुख्य मुद्दा बनाइरहेका छन्। रास्वपा र जसपाका उम्मेदवार पनि प्रभाव जमाउने प्रयासमा छन्।
भ्रष्टाचार मुद्दाका बाबजुद नेपाल चुनावी अभियानमा सक्रिय छन्। शिक्षा, स्वास्थ्य, सडक, पुल र कलेज स्थापना आफ्नो उपलब्धि भएको उनको दाबी छ। तर बागमती नदीको बडहर्वा पुल १५ वर्षसम्म नबन्नु स्थानीय असन्तोषको विषय बनेको छ। प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट हदबन्दी छुटमा गरिएको पतञ्जलि जग्गा कारोबारकै कारण उनीमाथि मुद्दा चलेको हो।
मधेशी मतदाताको बाहुल्य, गरिबी, शिक्षा, स्वास्थ्य र बाढी नियन्त्रण जस्ता साझा मुद्दाले यो निर्वाचनलाई थप चासोको केन्द्र बनाएको छ। पाँच दशक लामो राजनीतिक यात्रामा माधवकुमार नेपालका लागि यो चुनाव जित–हार मात्र नभई राजनीतिक विरासतको निर्णायक परीक्षा बनेको छ।





