पत्रकार दिनेश सिटौला अछाममा बेहोस भई उपचारका क्रममा निधन

अछाम । पत्रकार दिनेश सिटौलाको चुनावी यात्राका क्रममा अछाममा अचानक बेहोस भई उपचारका क्रममा निधन भएको छ। टाउकोमा गम्भीर चोट लागेर ब्रेन ह्यामरेज भएको पुष्टि भएपछि काठमाडौंस्थित ग्रान्डी अस्पतालको आइसीयूमा उपचाररत सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे निधन भएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।

चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौला नेपाली सिने पत्रकारितामा परिचित र सम्मानित नाम थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी भ्रमण टोलीसँगै अछाम पुगेका थिए।

घटना गत शुक्रबार बिहानको हो। मंगलसेन नगरपालिका–४ बाँगापाटामा सिटौला अचानक अचेत भएपछि उनलाई तत्काल जिल्ला अस्पताल अछाम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याई ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकका अनुसार टाउकोमा चोट लागेर ब्रेन ह्यामरेज भएपछि उनको अवस्था जटिल बनेको थियो।

शुक्रबार बिहान ९ बजे बालेन सदरमुकाम मंगलसेनको बीच बजारस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम तय थियो। त्यसका लागि रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरू पार्टी कार्यालयमा भेला भइरहेका थिए। तर भ्रमण टोलीमा रहेका सिटौला अचेत भएको खबर आएपछि बालेनको टोली पार्टी कार्यालय नपुगी सोझै जिल्ला अस्पतालतर्फ मोडिएको थियो।

काठमाडौंको टोखा निवासी दिनेश सिटौला पत्रकारितासँगै सांस्कृतिक क्षेत्रमा पनि सक्रिय थिए। उनको असामयिक निधनले नेपाली पत्रकारिता र चलचित्र क्षेत्रले एक अनुभवी, सक्रिय र प्रतिबद्ध व्यक्तित्व गुमाएको छ। सिटौलाको निधनप्रति विभिन्न सञ्चारकर्मी, राजनीतिक व्यक्तित्व तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button