वर्ग, चेतना र देशभक्ति: ‘परिवर्तन’को नाराभित्र लुकेको राजनीतिक यथार्थ

# लक्की चन्द

राजनीति कुनै भावनात्मक फेसन होइन, न त केही व्यक्तिहरूको लोकप्रियतामा आधारित क्षणिक उभार मात्र हो। राजनीति मूलतः वर्गीय हुन्छ, यसको जन्म, विकास, अभ्यास र परिणाम सबै वर्गसँग गाँसिएका हुन्छन्। इतिहासदेखि आजसम्म संसारका सबै समाजमा राजनीति सधैँ शक्तिशाली वर्गको हितअनुसार ढल्किने प्रवृत्ति देखिन्छ। त्यसैले कुनै व्यक्ति, दल वा आन्दोलनलाई समर्थन गर्नु भनेको केवल अनुहार, भाषण वा सामाजिक सञ्जालको लोकप्रियतामा बहकिएर होइन, उसले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने आधारमा हुनुपर्छ।

आज नेपालमा ‘नयाँ राजनीति’, ‘युवा नेतृत्व’ र ‘व्यवस्था परिवर्तन’ जस्ता आकर्षक नाराहरू व्यापक रूपमा प्रयोग भइरहेका छन्। तर गहिरो विश्लेषण गर्दा देखिन्छ कि यी नाराभित्र वर्गीय यथार्थलाई ढाकछोप गर्ने गम्भीर समस्या लुकेको छ। कुनै पनि राजनीतिक शक्तिले आफूलाई श्रमिक, किसान र उत्पीडित वर्गको प्रतिनिधि भनेर प्रस्तुत गरे पनि व्यवहारमा त्यो वर्गविरोधी छ भने त्यस्तो शक्तिले दीर्घकालीन परिवर्तन होइन, झन् गहिरो असमानता जन्माउँछ।

सडकमा मकै, बदाम, चिया वा समोसा बेचेर जीवन धान्ने श्रमिक, पुराना सिसी बोतल उठाएर गुजारा चलाउने गरिब, सुकुम्बासी बस्तीमा बस्न बाध्य नागरिक, यी नै समाजको वास्तविक बहुसंख्यक वर्ग हुन्। तर जब सत्ता र लोकप्रियताको नशामा चुर भएका शासकहरू यिनै वर्गमाथि दमन गर्छन्, लखेट्छन्, अपमान गर्छन्, तब उनीहरूलाई ‘परिवर्तनका संवाहक’ भन्नु आत्मविरोधी हुन्छ। पाँच–सात करोडको गाडी चढ्ने, अभिजात वर्गको जीवनशैलीमा रमाउने र श्रमजीवी वर्गको पीडालाई ‘व्यवस्थापनको समस्या’ भनेर पन्छाउने नेतृत्व कहिल्यै जनताको वर्गीय प्रतिनिधि हुन सक्दैन।

अन्तर्राष्ट्रिय राजनीतिक अनुभवले पनि यही कुरा पुष्टि गर्छ। ल्याटिन अमेरिकादेखि दक्षिण एसिया, अफ्रिकादेखि युरोपसम्म, जहाँ जहाँ ‘पपुलिस्ट’ नारामा आधारित राजनीति उठ्यो, त्यहाँ वर्गीय प्रश्नलाई बेवास्ता गर्दा अन्ततः त्यो आन्दोलन सत्तारूढ अभिजात वर्गकै नयाँ रूप बनेको देखिन्छ। लोकप्रिय अनुहार, सञ्चारमाध्यमको प्रचार र ‘एण्टी–एस्टाब्लिस्मेन्ट’ भाष्य प्रयोग गरेर सत्ता कब्जा गर्ने तर सत्तामा पुगेपछि उही पूँजीपति, व्यापारी र सम्भ्रान्त वर्गको सेवा गर्ने प्रवृत्ति विश्वव्यापी रोग हो।

नेपालमा पनि समानुपातिक प्रतिनिधित्व जस्तो प्रगतिशील अवधारणालाई कसरी वर्गीय विशेषाधिकारको साधन बनाइयो भन्ने प्रश्न गम्भीर छ। सिद्धान्ततः समानुपातिक प्रणाली किसानका छोरा, मजदुरकी छोरी, उत्पीडित समुदायका आवाज संसदमा पुर्‍याउने माध्यम हो। तर व्यवहारमा हेर्दा, सेलिब्रेटी, ठूला व्यापारी घरानाका सदस्य, आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा शक्तिशाली व्यक्तिहरू नै सूचीमा हाबी छन्। यो केवल सूचीको समस्या होइन; यो राजनीतिक चेतनामा गहिरो रूपमा गाडिएको वर्गीय सोचको परिणाम हो।

राजनीति केवल नीति निर्माणको प्रक्रिया होइन; यो संस्कृति, चेतना र मूल्यहरूको पनि संघर्ष हो। अश्लिलता, महिला शरीरको वस्तुकरण, श्रमको अपमान र पैसाको पूजा—यी सबै सांस्कृतिक विकृतिहरू पनि वर्गीय सत्तासँग जोडिएका छन्। जब श्रमिक वर्ग विदेशमा कडा श्रम गरेर फर्कँदा आफ्नो वर्गीय पीडाको प्रतीक बोकेर होइन, सम्भ्रान्त वर्गका नाइकेहरूको फोटो टाँसेर फर्किन्छ, त्यो केवल भ्रम होइन; त्यो वर्गीय चेतनाको उपनिवेशीकरण हो। शक्तिशाली वर्गले आफ्नो विचार, आफ्नो ‘आइकन’ र आफ्नो संस्कृति कमजोर वर्गमाथि लाद्ने प्रक्रिया यही हो।

देशभक्ति पनि वर्गीय हुन्छ भन्ने कुरा यहाँ बुझ्न आवश्यक छ। साँचो देशभक्ति भनेको नारा लगाउनु, झण्डा बोकेर फोटो खिच्नु वा ‘परिवर्तन’को खोक्रो भाषण गर्नु होइन। साँचो देशभक्ति भनेको देशका श्रमिक, किसान, उत्पीडित र बहिष्कृत वर्गको पक्षमा उभिनु हो। जसले देशलाई भड्खालोमा धकेल्ने, बाह्य शक्तिको एजेन्डालाई ‘नयाँ सोच’को नाममा भित्र्याउने र जनतालाई भ्रममा राख्ने गतिविधिलाई समर्थन गर्छ, ऊ अनजानमै देशविरोधी प्रक्रियाको मतियार बन्छ।

अन्तर्राष्ट्रिय राजनीतिमा ‘रङ्गीन क्रान्ति’ (Color Revolutions), ‘सफ्ट पावर’ र ‘एनजीओ–मिडिया गठजोड’ का उदाहरणहरू प्रशस्त छन्। यी सबैले परिवर्तनको आशा देखाएर राज्य संरचना कमजोर बनाउने, राष्ट्रिय स्वाधीनता क्षीण पार्ने र अन्ततः बहुराष्ट्रिय पूँजीको हित सुरक्षित गर्ने काम गरेका छन्। नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील मुलुकमा यस्ता प्रयोगहरू झन् खतरनाक हुन सक्छन्। यहाँ वर्गीय चेतना कमजोर पारेर ‘सेलिब्रेटी राजनीति’ स्थापना गर्नु भनेको राष्ट्रिय हितमाथि दीर्घकालीन जोखिम निम्त्याउनु हो।

त्यसैले समर्थन भन्ने कुरा आत्मसमीक्षा बिना गरिनु हुँदैन। ‘म कसको पक्षमा उभिएको छु? मेरो समर्थनले कुन वर्गलाई बलियो बनाउँछ?’ भन्ने प्रश्न अनिवार्य छ। यदि समर्थनले श्रमिकमाथि दमन गर्ने, गरिबलाई अपराधी बनाउने र अभिजात वर्गको शक्ति सुदृढ गर्ने काम गर्छ भने त्यो समर्थन परिवर्तन होइन, प्रतिगमन हो।

अन्ततः राजनीति वर्गीय संघर्षको निरन्तरता हो। देश, समाज, संस्कृति, चेतना, सबै वर्गीय संरचनाभित्रै विकसित हुन्छन्। यो यथार्थ स्वीकार नगरी गरिने कुनै पनि राजनीतिक विश्लेषण अधुरो हुन्छ। त्यसैले ‘नयाँ’ र ‘पुरानो’को झूटो द्वन्द्वमा अल्झिनु भन्दा पनि वर्गीय पक्षधरता स्पष्ट पार्नु नै आजको साँचो राजनीतिक परिपक्वता हो। वर्गको पक्षमा उभिनु नै देशको पक्षमा उभिनु हो, र यही नै वास्तविक देशभक्ति हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button