चीन : अनुभवले बनाएको विश्वास, सुरक्षाले जन्माएको आत्मीयता र चीन–नेपाल सम्बन्धको जनस्तरीय आधार

# प्रेम सागर पाैडेल

आज बिहान अमेरिकामा बसोबास गर्ने मेरा एक मित्रसँग बिहानको नास्ता सँगै खाने अवसर जुट्यो। उनी पेशाले कानुनविद हुन्, लामो समयदेखि अमेरिकी कानुनी प्रणाली, अध्यागमन विज्ञ, मानव अधिकार, सार्वजनिक सुरक्षा र राज्य–नागरिक सम्बन्धमा काम गरिरहेका व्यक्ति। बिहानको त्यो भेटघाट सामान्य व्यक्तिगत कुराकानीमा सीमित रहेन। हामीले वर्तमान विश्व अवस्था, बदलिँदो शक्ति सन्तुलन, अन्तर्राष्ट्रिय राजनीति, राज्यको जिम्मेवारी, नागरिक सुरक्षाको अवधारणा र विशेषतः चीनको विकास तथा सार्वजनिक सुरक्षाबारे गहिरो छलफल गर्‍यौँ। उनका प्रश्नहरू जिज्ञासु मात्र थिएनन्, ती विश्लेषणात्मक पनि थिए। “चीन यति ठूलो देश भएर पनि सार्वजनिक सुरक्षा कसरी व्यवस्थापन गर्छ?” “विदेशी नागरिक त्यहाँ कति सुरक्षित छन्?” “राज्य संयन्त्र व्यवहारमा कत्तिको उत्तरदायी छ?” यस्ता प्रश्नहरूले मलाई सोच्न बाध्य बनायो। उत्तर दिन खोज्दा मैले कुनै पुस्तक, रिपोर्ट वा मिडियाको सहारा लिनु परेन। मेरो आफ्नै जीवनका केही अनुभवहरू स्मृतिमा एकपछि अर्को गर्दै आइरहे।

केही वर्षअघि म चीनको उशी पुगेको थिएँ। व्यापारिक र सांस्कृतिक दुवै दृष्टिले निकै व्यस्त र विकसित शहर। घुमफिरकै क्रममा, शायद मेरो असावधानीका कारण, मेरो गोजीको पर्स हरायो। पर्सभित्र एक हजार अमेरिकी डलर र केही सय चिनियाँ युआन थिए। म बसेको होटल नजिकैको रेस्टुरेन्टमा खाना खाएर बिल तिर्ने बेलामा मात्रै पर्स नभएको थाहा भयो। त्यो क्षण म स्तब्ध भएँ। विदेशमा, अपरिचित ठाउँमा, ठूलो रकम हराउनु कुनै पनि यात्रुका लागि मानसिक रूपमा ठूलो धक्का हो। तत्कालै मैले आफू हिँडेका ठाउँहरू सम्झन थालेँ, रेस्टुरेन्ट वरपर खोजेँ। रेस्टुरेन्टका साहु निकै सहयोगी रहेछन्। उनले मलाई शान्त हुन आग्रह गरे र सँगै खोज्न थाले।

उनकै सहयोगमा स्थानीय प्रहरीलाई जानकारी गराइयो। प्रहरी आए, औपचारिक प्रक्रिया सुरु भयो। एउटा कागजमा मेरो विवरण लिएर हस्ताक्षर गराइयो। त्यसपछि उनीहरूले मलाई लिएर मैले घुमेका ठाउँहरूमा लगे। शंकास्पद व्यक्ति, असामान्य गतिविधि, सम्भावित स्थानबारे विस्तृत प्रश्न सोधियो। त्यति मात्रै होइन, ती क्षेत्रमा जडान भएका सीसीटीभी क्यामेराहरूको फुटेज पनि तत्काल जाँच गरियो। सबै प्रक्रिया व्यवस्थित, शान्त र जिम्मेवार ढंगले अघि बढिरहेको थियो। यति प्रयास गर्दा पनि पर्स तत्काल भेटिएन।

त्यसपछि प्रहरीले मलाई अर्को प्रश्न गर्‍यो, “तपाईंसँग अहिले यात्रा गर्न पर्याप्त पैसा छ कि छैन?” मैले आफ्नो प्यान्टको अगाडिको खल्तीमा राखेको केही सय चिनियाँ युआन देखाएँ। त्यो रकम बेइजिङ पुग्न पर्याप्त थियो। जसबाट खाना खाएको बिल भुक्तानी गरिसकेको थिएँ। मैले थप सहयोग आवश्यक नरहेको बताएँ। तर, त्यो सुनेर प्रहरीले कुरा टुंग्याएन। उनीहरूले भने, यदि तपाईंलाई असहज हुन्छ भने, हामी व्यक्तिगत रूपमा पैसा संकलन गरेर सहयोग गर्न सक्छौँ। र, पर्स भेटिएमा पठाउनका लागि बेइजिङमा बस्ने होटलको ठेगाना पनि मागे। मैले पैसा लिन अस्वीकार गरेँ, तर बेइजिङको होटलको ठेगाना छोडेर आएँ।

यो घटनाले मलाई गहिरो प्रभाव पार्‍यो। किनभने यहाँ राज्य संयन्त्र मात्र होइन, प्रहरीको व्यक्तिगत मानवीय संवेदना पनि सक्रिय देखिन्थ्यो। त्यो क्षण मैले चीनलाई केवल एक विकसित देशको रूपमा होइन, जिम्मेवार र संवेदनशील राज्यका रूपमा अनुभूति गरेँ।

अर्को घटना झनै स्मरणीय छ। म र मेरी श्रीमती फुचियान घुमेर फर्कँदै थियौँ। होटलबाट एयरपोर्ट जाने क्रममा मेरो मोबाइल ट्याक्सीमै छुटेछ। एयरलाइन्सको काउन्टरमा पुगेर बोर्डिङ पास लिने बेला मात्रै थाहा भयो। मोबाइल स्विच अफ थियो। ट्याक्सी नम्बर मलाई थाहा थिएन। यस्तो अवस्थामा नेपाल अथवा अन्य देशका धेरै ठाउँमा जवाफ आउँछ, “अब सम्भव छैन।” तर, यहाँ एयरपोर्टमा ड्युटीमा खटिएका प्रहरीले त्यस्तो प्रतिक्रिया दिएनन्। उनीहरूले शान्त स्वरमा भने, “नआत्तिनुहोस्।”

उनीहरूले बताए, सीसीटीभी फुटेज जाँच गर्न औपचारिक अनुमति लिनुपर्छ, त्यसैले केही समय लाग्न सक्छ। अनुमानित समय करिब एक घण्टा। तर, हाम्रो उडान नछुटोस् भनेर उनीहरूले आफैँ पहल गरेर बोर्डिङ पास तयार गरिदिए र प्रक्रिया अघि बढाए। हामी सबै सुरक्षा जाँच पूरा गरेर विमान कुर्दै बस्यौँ। ठीक ४५ मिनेटपछि एक महिला प्रहरी, मिस छाई यिफाङ, दौडँदै आइन्। उनको हातमा मेरो मोबाइल थियो। उनले पहिले मोबाइल अन गरेर जाँच गर्न अनुरोध गरिन्। त्यो क्षणको अनुभूति शब्दमा व्यक्त गर्न गाह्रो छ। त्यो केवल एउटा मोबाइल फिर्ता पाउनु थिएन, त्यो राज्यप्रतिको विश्वास पुनःस्थापित हुनु थियो।

कृतज्ञताका भावनाले म भावुक भएँ। मैले उनलाई एक हजार आरएमबी पुरस्कार स्वरूप दिन खोजेँ। उनले ठाडै अस्वीकार गरिन्। ४०० आरएमबी प्रस्ताव गरेँ, त्यो पनि अस्वीकार गरिन। उनले भनिन्, “मैले ट्याक्सीलाई ४५ आरएमबी तिरेको छु, त्यति मात्रै अनलाइनबाट स्वीकार गर्छु।” उनलेे यसविषयमा स्पष्ट पार्दै भनिन, तपाईंले आफ्नो माेबाइल उसको ट्याक्सीमा छाेड्नु भएको हो। उसले चाेरेकाे वा जानाजान लगेको होइन। हामीले उसलाई सम्पर्क गर्दा एयरपोर्ट बाट टाढा पुगिसकेको थियो। त्यहाँ देखि एयरपोर्टसम्म माेबाइल छाेड्न आउँदा लागेको मिटर बराबरको पैसा तपाईंले दिनुपर्छ। मसँग अनलाइन भुक्तानी सुविधा थिएन। अन्ततः मैले उनको विच्याट मागेँ र सम्पर्क स्थापित गरेँ। बेइजिङ पुगेपछि मैले मेरा मित्रलाई पचास आरएमबी दिएँ र ती प्रहरीको विच्याटमा पठाउन अनुरोध गरेँ। केही समयपछि थाहा भयो, उनले पाँच आरएमबी बढी आएको भन्दै फिर्ता गरिछन्। यो घटनाले मलाई गहिरो रूपमा छोयो। यो कुनै व्यक्तिगत इमान्दारी मात्र होइन, सार्वजनिक सेवामा बस्ने व्यक्तिको संस्कार थियो।

अर्को अनुभव चचियाङबाट रात्रीकालीन रेलयात्राको हो। हामी बीचमा अर्को रेल चढ्नुपर्ने भएकाले हतारमा थियौँ। करिब पाँच सय मिटरभन्दा बढी टाढा पुगिसकेपछि पछाडिबाट “वई वाइकोरन” भन्दै कसैले चिच्याएको आवाज आयो। फर्केर हेर्दा रेलका टीटी मेरो ल्यापटप बोकेर दौडँदै आइरहेका थिए। हतारमा रेलबाट ओर्लँदा ल्यापटप सिटमै छुटेको रहेछ। उनले ल्यापटप दिँदै अगाडिको रेलमा चढ्दा सावधानी अपनाउन सुझाव दिए र फर्किए। कुनै औपचारिकता, कुनै अपेक्षा बिना।

केही दिनपछि हामी नेपाल फर्कियौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा दृश्य देखियो। विदेशबाट फर्किएका एक युवा सुरक्षा जाँच गर्ने क्रममा ट्रेमा आफ्नो पर्स छोडेर गएका रहेछन्। प्रहरीले पर्स हेरेको देखेँ। तर, न माइकिङ गरियो, न त पर्स धनीलाई खोज्ने कुनै सक्रियता देखियो। ती युवासँग अरु पैसा थियो कि थिएन? उनी कसरी घर पुगे? त्यो दृश्यले मलाई असहज बनायो। मैले बाहिर निस्कँदै कराएर जानकारी दिन खोजेँ, तर कसैले प्रतिक्रिया दिएनन्। त्यो क्षण चीनका अनुभवहरू स्वतः मेरो दिमागमा आए।

छङ्दुबाट बेइजिङ जाँदा फेरि एकपटक मोबाइल ट्याक्सीमै छुटेको थियो। यसपटक होटलका म्यानेजर मि. हिस्कीको सहयोगमा मोबाइल फिर्ता आयो। यस्ता घटनाहरू संयोग मात्र होइनन्। यी चीनको सार्वजनिक सुरक्षा प्रणाली, प्रविधि, अनुशासन र नागरिक–राज्य सम्बन्धको परिणाम हुन्।

यी सबै अनुभवहरू जोड्दा एउटा स्पष्ट निष्कर्षमा पुगिन्छ कि चीन विदेशीका लागि मात्र सुरक्षित छैन, त्यो उत्तरदायी, व्यवस्थित र मानवीय पनि छ। यहाँ राज्य संयन्त्र केवल नियम लागू गर्न सीमित छैन, समस्या समाधान गर्न सक्रिय छ।

मेरो लागि चीन दोस्रो घर हो। त्यहाँ घुम्दा जुनसुकै स्तरका चिनियाँ नागरिकलाई भेट्दा आफ्नै परिवारका सदस्यलाई भेटेको अनुभूति हुन्छ। त्यो अनुभूति कुनै प्रचारबाट आएको होइन, व्यवहारबाट जन्मिएको हो।

नेपाल र चीनबीचको सम्बन्ध केवल कूटनीतिक दस्तावेजमा सीमित छैन। यो सम्बन्ध ऐतिहासिक छ, सांस्कृतिक छ, सैन्य, राजनीतिक र आर्थिक त छँदैछ, तर सबैभन्दा बलियो पक्ष भनेको जनस्तरीय विश्वास हो। हिमालले छुट्याए पनि सभ्यताले जोडेको सम्बन्ध हो यो।

हामी नेपालीले धेरै समय दक्षिण–पश्चिमतर्फ मात्रै हे¥यौँ। हिमालपारि चियाउने साहस कमै गर्‍यौँ। त्यसैले चीनलाई बुझ्न ढिला भयो। चीन हाम्रो छिमेकी मात्र होइन, सन्तुलन, नेपालकाे स्थायित्वकाे खम्बा र नेपाली जीवनको आधार पनि हो। आजको बहुध्रुवीय विश्वमा नेपालजस्तो सानो देशका लागि विश्वसनीय, स्थिर र दीर्घकालीन मित्र अत्यन्त आवश्यक छ। चीनले त्यो मित्र बन्ने सबै समयको जाँच परीक्षामा उत्तिर्ण भइसकेको छ, इतिहास, भूगोल, नीति र व्यवहार, सबैमा।

नेपाल-चीन सम्बन्ध कुनै कागजमा बाँधिएको सम्बन्ध होइन। यो अनुभूति, विश्वास र व्यवहारमा बाँचेको सम्बन्ध हो। मेरा यी साना तर गहिरा व्यक्तिगत अनुभवहरूले यही सत्य पुष्टि गर्छन्। यदि हामी हिमालपारि हेर्ने साहस गर्छौँ भने, नेपाल-चीन सम्बन्ध हाम्रो भविष्यका लागि गौरव गर्न लायक, भरपर्दो एक परिवार र लाभको साझेदार हो।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button