आरिफ–दीपेन्द्रको दमदार जोडीले पल्टायो खेल
युएईमाथि ७ विकेटको सानदार जितसँगै नेपाल विश्वकप वार्म-अपमा आत्मविश्वासले भरियो

चेन्नाई। सुरुवाती झड्काले दबाबमा परेको नेपालले अद्भुत पुनरागमन गर्दै आइसीसी टी–२० विश्वकपको वार्म-अप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको छ। चेन्नाईस्थित ऐतिहासिक एमए चिदम्बरम स्टेडियममा मंगलबार भएको खेलमा नेपालले १४६ रनको लक्ष्य १८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो।
नेपालको यो जितको मुख्य आधार बने चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले बनाएको अविजित १०३ रनको साझेदारी। दबाबपूर्ण अवस्थामा मैदानमा उत्रिएका यी दुईले धैर्य र आक्रामकताको सन्तुलन मिलाउँदै खेललाई एकतर्फी बनाइदिए।
१४६ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालको सुरुवात भने निराशाजनक रह्यो। इनिङ्सको दोस्रो ओभरमै ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए भने चौथो ओभरमा आसिफ शेख पनि ८ रनमै पभेलियन फर्किए। त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा १६ रन बनाएर रन आउट हुँदा नेपाल ७ ओभरमै ४५ रनमा ३ विकेट गुमाएर संकटमा परेको थियो।
तर त्यसपछि मैदानमा आएका आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले जिम्मेवारी सम्हाल्दै इनिङ्सलाई सुन्दर ढंगले अघि बढाए। दुवैले स्ट्राइक रोटेट गर्नुका साथै खराब बललाई सीमापार पठाउँदै युएईका बलरमाथि दबाब सिर्जना गरे।
आक्रामक ब्याटिङ प्रदर्शन गरेका आरिफ शेखले ३७ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा अविजित ६१ रन जोडे। उनको साथमा दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ५० रन पूरा गरे। अन्तिम १० ओभरमा यी दुईले युएईलाई कुनै पनि अवसर नदिई खेल नेपालको पक्षमा ल्याए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। युएईका लागि सोहैब खानले अविजित ३८ रन बनाए भने हर्षित कौशिकले ३५ र अर्यान्श शर्माले २५ रनको योगदान दिए।
नेपालका बलरहरूले संयमित र योजनाबद्ध प्रदर्शन गर्दै युएईलाई ठुलो स्कोरमा पुग्न दिएनन्। स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। करण केसीले ३ ओभरमा २६ रन दिँदै २ विकेट हात पारे।
ब्याटिङमा नायक बनेका दीपेन्द्र सिंह ऐरीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट लिए। शेर मल्ल, नन्दन यादव र सोमपाल कामीले विकेट नलिए पनि किफायती बलिङ गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।
यो जितसँगै नेपालले विश्वकपअघि आत्मविश्वास मजबुत बनाएको छ भने टोलीको मध्यक्रम र अलराउन्ड क्षमताले सकारात्मक सन्देश दिएको छ।





