क्यालिफोर्नियाको नयाँ संसदीय नक्सा अनुमोदन : सुप्रीम कोर्टले रोक लगाउन अस्वीकार

काठमाडौँ। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले बुधबार क्यालिफोर्नियाको नयाँ संसदीय नक्सा प्रयोग गर्न अनुमति दिएको छ। यस निर्णयले आगामी मध्यावधि निर्वाचनमा प्रतिनिधि सभामा डेमोक्र्याट र रिपब्लिकनबीच जारी नियन्त्रणको प्रतिस्पर्धामा महत्वपूर्ण मोड ल्याएको छ।
सर्वोच्च अदालतले एक वाक्यमा मात्र आदेश जारी गर्दै न्यायाधीश एलेना कागन मार्फत पेश गरिएको अपीललाई अस्वीकार गरेको जनाएको छ। आदेशमा थप व्याख्या वा विवरण दिइएको छैन।
गत वर्ष क्यालिफोर्निया रिपब्लिकन र अमेरिकी न्याय विभागले नयाँ नक्सालाई जातीय हिसाबले पक्षपाती (racially gerrymandered) भएको भन्दै मुद्दा दायर गरेका थिए। तर संघीय अदालतले उक्त अपील अस्वीकृत गर्यो। जनवरी २० मा क्यालिफोर्निया रिपब्लिकनहरूले आपत्कालीन अपील दायर गर्दै नयाँ नक्सामा रोक लगाउन सर्वोच्च अदालतको सहयोग मागेका थिए।
यो नयाँ नक्सा डेमोक्र्याटहरूका लागि लाभदायक रहेको छ। गत नोभेम्बरमा क्यालिफोर्नियाका मतदाताले यसलाई स्वीकृत गरेका थिए। यसले डेमोक्र्याट पार्टीलाई यस वर्षको मध्यावधि निर्वाचनमा प्रतिनिधि सभाका पाँचवटा सीटसम्म जित्न सहयोग पुर्याउने सम्भावना रहेको छ। यसैगरी, अगस्तको अन्त्यतिर स्वीकृत गरिएको टेक्सासको नयाँ रिपब्लिकन-मैत्री नक्साले रिपब्लिकनलाई पाँच सीटसम्म जित्न अवसर दिन सक्छ।
मिसौरी, नर्थ क्यारोलिना र ओहायोले पनि नयाँ रिपब्लिकन-मैत्री नक्सा अपनाएका छन् भने युटाहले डेमोक्र्याट मैत्री नक्सा अंगिकार गरेको छ। केही राज्यको नक्सा पुनर्विन्यास (redistricting) अदालतको चुनौतीको सामना गरिरहेको छ। न्यूयोर्क, फ्लोरिडा लगायत अन्य राज्यहरू पनि आफ्ना निर्वाचन क्षेत्र पुनःनिर्धारणको विचार गर्दैछन्।
यस निर्णयले आगामी निर्वाचनमा प्रतिनिधि सभाको सन्तुलन र अमेरिकी राजनीतिक परिदृश्यमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।





