सिंहदरबारमा आगजनी गर्न उक्साएकाे आरोपमा एकजना पक्राउ

काठमाडौँ। जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गर्ने र अरुलाई पनि आगजनी गर्न उक्साएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरीले पक्राउ गर्ने व्यक्ति ३६ वर्षीय महेन्द्र गौतम रहेको जनाएको छ। उनी मूलतः चितवनको खैरहनी नगरपालिका–९ घर भएका हुन् र हाल काठमाडौं महानगरपालिका–२९, अनामनगरमा बस्दै आएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार, गौतमले प्रदर्शनका क्रममा भिडलाई उत्तेजित बनाउने, आगजनीका लागि उक्साउने र आपराधिक उपद्रवजन्य गतिविधिमा संलग्न भएको आरोप लागेको छ। प्रहरी अनुसन्धानका क्रममा यससँग सम्बन्धित थप प्रमाण संकलन गरिरहेको छ।
पक्राउ परेपछि गौतमलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यस घटनालाई कानूनी रूपमा कारबाही गर्दै प्रदर्शनका क्रममा हुने हिंसात्मक गतिविधि नियन्त्रण गर्न विशेष सतर्कता अपनाएको जनाएको छ।





