परीक्षालाई डर होइन अवसरका रूपमा लिन प्रधानमन्त्री मोदीको सन्देश

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले परिक्षा पे चर्चा–२०२६ को नवौँ संस्करण अन्तर्गत विशेष कार्यक्रम मार्फत विद्यार्थीहरूसँग संवाद गर्दै परीक्षालाई आत्मविश्वास, सकारात्मक सोच र स्पष्ट उद्देश्यका साथ सामना गर्न आग्रह गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री मोदीले परीक्षा जीवनको अन्तिम लक्ष्य नभई सिकाइ र आत्मविकासको एउटा चरण मात्र भएको उल्लेख गर्दै तनावमुक्त भएर अघि बढ्न प्रेरणा दिए।

प्रधानमन्त्री मोदीले समय व्यवस्थापनको महत्त्व, मानसिक स्वास्थ्यको सन्तुलन र शैक्षिक अध्ययनसँगै व्यवहारिक सीप विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले विद्यार्थीलाई आफ्नो क्षमतामा भरोसा राख्न, तुलना भन्दा आत्ममूल्यांकनमा ध्यान दिन र असफलतालाई सिकाइको आधारका रूपमा लिन सुझाव दिए।

यो प्रेरणादायी संवाद आज नेपालका विभिन्न विद्यालयहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो। काठमाडौंस्थित केन्द्रीय विद्यालयसहित अन्य विद्यालयहरूमा विद्यार्थी र शिक्षकहरूले कार्यक्रम सामूहिक रूपमा अवलोकन गरेका थिए। कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा परीक्षा प्रतिको डर घटाउँदै आत्मविश्वास र सकारात्मक सोच विकास गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ छ। परिक्षा पे चर्चा ले हरेक वर्ष विद्यार्थी, अभिभावक र शिक्षकबीच परीक्षा, शिक्षा र जीवनका व्यापक आयामबारे खुला संवादको वातावरण सिर्जना गर्दै आएको छ।






