रुसमाथि ईयूको थप दबाब: ऊर्जा, वित्त र व्यापार लक्षित २०औँ प्रतिबन्ध प्याकेज प्रस्ताव

ब्रसेल्स। युरोपेली आयोगले रुसविरुद्ध २०औँ प्रतिबन्ध प्याकेज प्रस्ताव गरेको छ, जसले ऊर्जा, वित्तीय सेवा र व्यापारजस्ता प्रमुख क्षेत्रलाई लक्षित गर्नेछ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गरेकी हुन्।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार अबु धाबीमा बुधबार र बिहीबार सम्पन्न रुस, अमेरिका र युक्रेनबीचको त्रिपक्षीय वार्तापछि रुसमाथि दबाब बढाउने उद्देश्यले यी कदम अघि सारिएका हुन्। दोस्रो चरणको उक्त वार्ताबाट कैदी आदान–प्रदान बाहेक मुख्य विषयमा ठोस प्रगति हुन नसकेपछि ईयूले थप कडा नीति अख्तियार गर्ने संकेत गरेको हो।

ऊर्जा क्षेत्रमा ईयूले रुसी कच्चा तेलसँग सम्बन्धित सम्पूर्ण समुद्री सेवा पूर्ण रूपमा प्रतिबन्ध गर्ने योजना बनाएको छ। यसले रुसको ऊर्जा आम्दानीमा थप गिरावट ल्याउने अपेक्षा गरिएको छ। आयोगका अनुसार यो कदम जी–सेभेन साझेदार राष्ट्रहरूसँग समन्वय गरेर लागू गरिनेछ।

त्यसैगरी, रुसको तथाकथित ‘छायाँ फ्लीट’सँग सम्बन्धित थप ४३ जहाजलाई प्रतिबन्ध सूचीमा राख्ने तयारी गरिएको छ। यससँगै प्रतिबन्धमा परेका जहाजको कुल संख्या ६४० पुग्नेछ।

नयाँ प्याकेजअन्तर्गत रुसलाई नयाँ ट्यांकर प्राप्त गर्न कठिन बनाइने, एलएनजी ट्यांकर तथा आइसब्रेकरका मर्मत–सम्भार र अन्य सेवामा प्रतिबन्ध लगाइनेछ। यी उपायले रुसका ग्यास निर्यात परियोजनामा गम्भीर असर पार्ने आयोगको दाबी छ।

युक्रेन युद्धलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढिरहेको बेला ईयूको यो प्रस्तावलाई रुसविरुद्धको सबैभन्दा कडा र व्यापक कदममध्ये एकका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button