भारतको आईटेक कार्यक्रमबाट नेपालमा क्षमता अभिवृद्धि

काठमाडौं, । भारतीय प्राविधिक तथा आर्थिक सहयोग (आईटेक) कार्यक्रमको ६१औँ वार्षिकोत्सव काठमाडौं स्थित भारतीय दूतावासमा धूमधामले मनाएको छ। नेपालका पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख अतिथित्वमा सम्पन्न समारोहमा आईटेक कार्यक्रमबाट तालिम प्राप्त गरिसकेका विद्यार्थीहरू तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका राजदूत नवीन श्रीवास्तवले आईटेक पहललाई विस्तार गर्ने र नेपालका बदलिँदा विकास प्राथमिकताहरू अनुरूप नयाँ कार्यक्रमहरू सुरु गर्ने भारतको प्रतिबद्धता बारे जानकारी दिनुभयो। उहाँले यस कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई क्षमता अभिवृद्धि र विकासको क्षेत्रमा सुदृढ बनाएको बताउनुभयो।
गत १५ वर्षमा विश्वभर दुई लाख भन्दा बढी व्यक्तिहरूलाई आईटेकले तालिम दिइसकेको छ, जसमा नेपालका ३,५०० भन्दा बढी जनशक्ति समावेश छन्। यस अवसरमा केही आईटेक सहभागीहरूले आफ्नो अनुभव साझा गर्दै यस कार्यक्रमले उनीहरूको सीप र ज्ञान अभिवृद्धिमा ठूलो भूमिका खेलेको बताए।
कार्यक्रमको समापनमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) द्वारा समर्थित नटराज गोष्ठी समूहले असमका मुकुट बोराको नेतृत्वमा सत्रिया र दशावतार नृत्यसहितको लोक फ्युजन वाद्यवादनको मनमोहक प्रस्तुति दिएर समारोहलाई सांस्कृतिक रुपले समृद्ध बनायो।






