नेपाल चीनको राष्ट्रिय अखण्डताविरुद्ध जानुपर्ने कारण के हो ?

– फणीन्द्र नेपाल

गत बिहीबार (२९ जनवरी) दिउँसो नयाँ दिल्लीबाट आएका तिब्बती बौद्ध दर्शनको अध्यापन हुने जोनाङ विद्यालयका प्रमुख तथा तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको भौगोलिक अखण्डता विरोधी सयौँको संख्याले स्वागत गरेको विषयमात्र होइन, रिम्पोछेलाई निमन्त्रणा गर्ने कथित `डोल्पो समाज´ नामक गैरसरकारी संस्थाका अध्यक्ष टासी फोन्चो गुरुङ समेतले प्रायोजित रूपमा नेपाल-चीन सम्बन्धलाई प्रदूषित पारेको घटनालाई कदापि सामान्य मान्न सकिँदैन। रिम्पोछेले नेपाली माटोमा टेक्नु नै अवाञ्छित क्रियाकलापभित्र पर्छ भने १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचन कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनु झनै आपत्तिजनक छ। यो घटनामा देखिएको सरकारको भयानक गल्ती यो हो कि सरकारले इन्डियामा बसेर नेपालको मित्र तथा छिमेकी देश चीनविरुद्ध पृथक्तावादी गतिविधिमा संलग्न रिम्पोछेलाई नेपाल भ्रमण गर्न अौपचारिक निम्तो दिन डोल्पो समाजलाई स्वीकृति दिएको थियो। यस घटनालाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक माध्यमबाट आफ्नो असन्तुष्टि जनाइसक्ता पनि नेपाल सरकार मौन रहनु झनै रहस्यमय छ। नेपाल सरकारको यो ढिटपन उसलाई निकै महँगो पर्ने निश्चित छ।

रिम्पोछेको काठमाडौँ आगमन नेपाल-चीन सम्बन्धमा अनपेक्षित त्यस्तो डरलाग्दो हावाहुरी हो, जसले नेपाल-चीन सम्बन्धका परम्परागत मित्रता र विश्वासलाई बेपत्तासँग उडाएर लैजान सक्छ। नेपाल-चीन सम्बन्धको दरिलो पर्खाललाई चर्काउन यसले असरदार भूमिका खेलेको छ। यो प्रकरणबाट नेपाल जनवादी गणतन्त्र चीनका नजरमा अविश्वासी , विश्वासघाती र धोकेबाज बन्नपुगेको छ। कुनै चीन विरोधीले भन्ला , रिम्पोछे आउँदैमा नेपाल-चीन सम्बन्धमा विपत्तिको पहाड खसिहाल्दैन। रिम्पोछे एक्लैका हकमा यसो भन्न सकिएला तर रिम्पोछेका पछाडि कुन शक्ति छ भन्ने कुरा त्यत्तिकै हावामा उडाउन सकिँदैन।

रिम्पोछे प्रकरणले नेपालको एक चीन नीतिलाई दुईजिब्रे र लोलोपोतोले लिपेको ओठेभक्तिको पहेलीमा रूपान्तरित गरिदिएको छ, जसको क्षतिपूर्ति नेपालले चीनलाई त्यति सजिलै भर्न सक्तैन र विगतमा जस्तो टालटुले व्यवहारले चीन आश्वस्त हुनसक्ने देखिँदैन। नेपाल र चीन समान रूपमा सार्वभौमसत्ता सम्पन्न मुलुक भए पनि चीनको महाशक्तिको दाँजोमा नेपाल कतै ठाडो उभिनसक्तैन। पानीमा पसेर गोहीसँग निहुँ खोज्यो भने त्यस्तो मूर्खताको परिणाम गोहीको सिकार हुनु निर्विकल्प छ। आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुङ्गा बर्साउने बदमासी कसैले गर्छ उसको घर चकनाचुर हुनबाट कसैले रोक्न सक्तैन।

नेपाललाई भौगोलिक र भौतिक रूपमा कमजोर पार्न चाहने पक्ष न नेपाल सरकारसँग डराउँछ, न नेपालको सुरक्षा निकायसँग। यदि त्यो डराउँछ भने जनवादी गणतन्त्र चीनसँग डराउँछ किनभने त्यस्तो पृथक्तावादको हड्डीलाई धूलोपिठो पार्नसक्ने शक्ति केवल चीनसँग छ, तर दुर्भाग्यपूर्ण कुरा के हो भने सिंहलाई षड्यन्त्रको जालमा पार्न हिँडेको स्याल सिंहको झम्टाइमा परेर कालकवलित भएजस्तै नेपाल कसैको दबाब र उक्साहटमा चीनको सार्वभौमसत्तामाथि खेलबाड गर्दै छ। यदि यसो हो भने नेपालले त्यही स्यालको नियति भोग्नुपर्ने निश्चितप्रायः छ। मित्र तथा छिमेकी देश चीनको विखण्डनका निम्ति कुनै तेस्रो मुलुकको स्वार्थको साधन बन्ने महाभूल नेपालले जानीजानी गर्नुहुँदैन। एकचीन नीतिप्रति प्रतिबद्ध भएको भनी प्रतिज्ञापत्रमा हस्ताक्षर गर्ने र द्विपक्षीय भेटघाटमा पनि यही रटान लगाइरहने तर मौका पर्नासाथ आफू हिँडेका पाइला मेट्न अलिकति पनि लाज नमान्ने घुसघुसे शैलीले नेपालको अस्तित्वलाई ठूलो संकटमा पार्नसक्छ भन्ने हेक्का नेपालका सञ्चालकहरूले सदैव राख्नुपर्छ।

नेपालको भौगोलिक अवस्थितिले नेपाल सरकारलाई फुकीफुकी पाइला चाल्नुपर्ने बाध्यतामा राखेको छ। भूपरिवेष्टित सीमा भत्काउन सक्ने कुनै सम्भावना नभएको र चिनियाँ राष्ट्रपति सी चिनफिङले भनेजस्तो नेपाल भूपरिवेष्टित होइन भूजडित देश हो भन्ने उत्प्रेरक भनाइलाई चरितार्थ गर्न नेपालले चीनसँग दरिलो विश्वास कायम राखी खुला र स्पष्ट सम्बन्ध विकास गर्नुपर्नेमा रिम्पोछे प्रकरण दाँतमा ढुङ्गा बनेर आएको छ।

हिजो नेपालले आफ्नै बलबुतामा स्वतन्त्रता बचाएको थियो , आज परिस्थिति फेरिएको छ। अहिले चीनको साथ र समर्थन पाएन भने नेपालको स्वतन्त्रता सङ्कटमा पर्नसक्छ। नेपाल-चीन सम्बन्ध नेपालको अस्तित्वसँग जोडिएको छ। अझ स्पष्ट शब्दमा भन्ने हो भने चीन छ र नै स्वतन्त्र नेपाल छ। चीनको बलियो साथ नहुँदो हो त नेपालको स्वतन्त्रता धेरै पहिले अपहरणमा परिसक्थ्यो। १९७५ मा इन्डियामा भएको स्वतन्त्र सिक्किमको धोकापूर्ण विलयको उदाहरणले साना छिमेकीप्रति चीनको मौनता कति पीडादायी हुन्छ भन्ने मार्मिक अनुभूति गराउँछ। यस मानेमा नेपाल निकै भाग्यमानी मुलुक किन हो भने चीनको वरदहस्त नेपालको शिरमा छ। यो यथार्थलाई नबुझेजस्तो गरी चीनसँगको सम्बन्धमा विचलन ल्याउन खोज्नु निकै प्रत्युत्पादक हुने निश्चित छ। नेपालको चीनसँगको सम्पूर्ण सिमाना चीनको स्वायत्त प्रदेश तिब्बतसँग मात्र जोडिएको देख्तादेख्तै नेपाल चीनविरोधी खेमामा पुग्नु नेपाललाई शत्रुको हातमा सुम्पिनु हो। नेपालको माटोबाट चीनविरोधी गतिविधि गर्न छूट दिनु भनेको चीनप्रतिको चरम विश्वासघात हो। यसलाई गल्तीमात्र भन्नु भन्दा बढ्ता यो अक्षम्य अपराध नै हो र यो अपराधको दण्डको निर्धारण चीनले कसरी गर्छ नेपाल व्यग्रतापूर्वक प्रतीक्षा मात्र गर्नसक्छ।

अरू कसैको उक्साहटमा चीनविरुद्ध यस किसिमको गतिविधि गर्ने अनुमति दिन नेपाल सरकार उत्साहित भयो कि बाध्य भयो, त्यो थाहा पाउन धेरै लामो समय कुर्नुपर्दैन, तर यसबाट नेपाललाई हुने हानिनोक्सानीको जिम्मेवार नेपाल आफैँ हुनेछ। नेपालको नागरिक सरकारबाट आम नागरिकले यस्तो अपेक्षा पटक्कै राखेका थिएनन्। एक चीनको नाराको मर्मलाई चीनले जति आत्मसात् गरेको हुन्छ, त्योभन्दा बढ्ता नेपालले बोध गर्नुपर्छ, किनभने शक्तिशाली चीन नै नेपालको स्वतन्त्रताको कवच हो। यस सन्दर्भमा नेपालका लागि अमेरिकी राजदूत (1989-1993) रहेकी जुलिया चाङ ब्लक (Julia Chang Bloch) को टिप्पणी निकै वस्तुपरक र सत्यनिष्ठ देखिन्छ :
“Till there is China at one end of Nepal, it can never be annexed by any other nation.”

अन्त्यमा, सन् २०२३ को जुलाई १ देखि चीनमा लागु भएको `The Law on Foreign Relations of the PRC´ नामक एउटा कानुनको धारा ३३ मा भनिएको `अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता उल्लङ्घन गरी चीनको सार्वभौमिकता, सुरक्षा वा विकास हितमा खतरा पुराउने व्यवहार भएमा चीनले उचित प्रतिकारात्मक तथा प्रतिबन्धात्मक उपायहरू अवलम्बन गर्नसक्छ।´ भन्ने प्रावधानलाई हेर्ने हो भने चीनको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षा लगायतका संवेदनशील विषयमा कतैबाट घात भएमा चीनले त्यसलाई अलिकति पनि नसहने स्पष्ट संकेत गरेको देखिन्छ। उक्त कानुनले सन् २००६ पछि नेपालमा बढ्दै गएको स्वतन्त्र तिब्बत अभियान र चीनविरोधी गतिविधिहरूलाई समेत लक्ष्यित गरेको भन्ने बुझ्नुपर्छ। चीनले चाल्नसक्ने त्यस्ता प्रतिकारात्मक उपायहरूमा प्रकारान्तरले सैन्य तथा भौतिक कारबाही पनि पर्नसक्छ  र नेपालचाहिँ यसको अपवाद बन्छ भन्ने कसैले सोच्छ भने त्यो सच्याउन नसकिने भूल साबित हुनेछ।

# लेखक ग्रेटर नेपालका अभियन्ता, लेखक, तथा नेपाल-इन्डिया सम्बन्धका विश्लेषक हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button