पोखरा विमानस्थल अनियमितता प्रकरणमा तत्कालीन प्रबन्धक फुयाल साधारण तारेखमा मुक्त

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले फुयाललाई साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो। विशेष अदालतमा उनी आजै उपस्थित भई हाजिर भएका थिए, त्यसपछि अदालतले उनलाई थुनामुक्त गर्दै तारेखमा राख्ने निर्णय सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक अनियमितता भएको ठहर गर्दै ५ जना पूर्वमन्त्री, १० जना पूर्वसचिव सहित कुल ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले उक्त प्रकरणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरेको छ।
अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलाई समेत प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको हो। यो प्रकरण हालसम्मकै ठूला भ्रष्टाचार मुद्दा मध्ये एकका रूपमा हेरिएको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा निर्माण गरिएको राष्ट्रिय गौरवको आयोजना हो। विमानस्थल निर्माणमा भएको भनिएको अनियमितताले आयोजना सञ्चालनमा आएको भए पनि राजनीतिक, प्रशासनिक र कानुनी तहमा व्यापक बहस र प्रश्नहरू खडा गरेको छ।
विशेष अदालतको पछिल्लो आदेशसँगै मुद्दाको कानुनी प्रक्रिया अब प्रमाण, बहस र अन्तिम फैसलातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।





