गृहमन्त्री अर्यालद्वारा ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ को उद्घाटन

काठमाडौँ – अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सुरक्षा चुनौती, साइबर अपराधको उदय र जनताको बढ्दो अपेक्षालाई केन्द्रमा राखी नेपाल प्रहरीको रणनीतिक रूपान्तरण गर्ने महत्वाकांक्षी उद्देश्यलाई लिएर दुई दिवसीय ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ को आज शुभारम्भ भएको छ। माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यूको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा भएको समारोहबीच यस सम्मेलनको सुरुवात गरियो।


गृहमन्त्री अर्यालले दीप प्रज्वलन गरी सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो र प्रहरीले गरेका तीन वटा महत्वपूर्ण अध्ययन प्रतिवेदन – सामाजिक संजाल र साइबर अपराधको अन्तरसम्बन्ध, प्रहरी पोशाकको परिमार्जन र ट्राफिक प्रहरीको कार्यबोझ एवं व्यवहार – सार्वजनिक गर्नुभयो। यसले प्रहरीले आधुनिक अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणतर्फ बढ्दै गरेको संकेत दिएको छ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले “प्रहरी सेवाको नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने” जोड दिनुभयो। उहाँले यस सम्मेलनले प्रहरी सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो र संगठनको क्षमता पुनर्स्थापना तथा नवीन अपराध चुनौती सामना गर्न सुदृढ प्रहरी बल निर्माणमा सरकारको पूर्ण समर्थन रहने प्रतिवद्धता दोहोर्याउनुभयो।
गृहसचिव राजकुमार श्रेष्ठले विद्यमान अवस्थामा साइबर अपराध र जटिल आर्थिक अपराधमा प्रहरीको ध्यान केन्द्रित गर्नु जरुरी रहेको बताउँदै यस्ता अपराध नियन्त्रणमा सबै प्रहरी कर्मचारीहरू एकाग्र हुनुपर्नेमा जोड दिनुभयो। आधुनिक प्रविधिको उपयोगबाट प्रहरी कार्यवाही थप प्रभावकारी बनाउन उहाँले आह्वान गर्नुभयो।


प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद ज्ञापन गर्दै संवैधानिक दायित्व, कानुनको शासन र मानवअधिकार संरक्षणको प्रतिवद्धता दोहोर्याउनुभयो। उहाँले संघीय व्यवस्था, प्रविधिको तीव्र विकास, जलवायु परिवर्तन र डिजिटल जोखिमले सिर्जना गरेको नयाँ परिवेशमा प्रहरी सेवालाई नवीन, व्यवहारिक र उत्तरदायी बनाउन यो सम्मेलन आवश्यक रहेको बताउनुभयो। उहाँले सम्मेलनबाट निस्कने सुझावले दीर्घकालीन योजना र रणनीतिक लक्ष्य निर्माणमा ठोस आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

यस सम्मेलनको मुख्य उद्देश्य नेपाल प्रहरीको कार्य समीक्षा गर्नु, रणनीति निर्धारण प्रक्रियामा नागरिक सहभागिता बढाउनु, आन्तरिक-बाह्य चुनौतीको मूल्याङ्कन गर्नु र सेवा प्रवाह सुधार्ने उपाय पहिचान गर्नु रहेको छ। दुई दिने सम्मेलनमा प्रहरी संचालन र सुधार, सुरक्षा चुनौती र प्रहरी रणनीति, परम्परागत र नवीन अपराध प्रवृत्ति, विरोध प्रदर्शन व्यवस्थापन, प्रहरी-नागरिक सम्बन्ध, मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोग, विपद् व्यवस्थापन र सडक सुरक्षा लगायत गम्भीर विषयमा छलफल हुनेछ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ अधिकारीहरू, सुरक्षा विज्ञहरू, नागरिक समाजका प्रतिनिधिहरू, सञ्चारकर्मी र आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो। सम्मेलनको संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।





