अवैध गोदाममा छापा, तस्करको आक्रमण: पर्सामा ३ सशस्त्र प्रहरी घाइते

काठमाडौं / पर्सा जिल्लामा अवैध तस्करीविरुद्ध गरिएको कारबाहीका क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सोमबार बिहान सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगन्जको आदर्शनगरमा मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडाबारे सूचना पाएपछि छापा मारेको थियो। छापाका क्रममा भन्सार छली अवैध रूपमा भण्डारण गरी राखिएको करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद प्रक्रिया सकिएपछि तस्कर समूह अचानक आक्रमणमा उत्रिएको बताइएको छ। उनीहरूले ढुंगामुढा गर्दा घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एक वानटन र एक स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ। आक्रमणबाट घाइते भएका ३ जना सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र उपचार भइरहेको जानकारी प्राप्त भएको छ।
सशस्त्र प्रहरीले घटनामा संलग्न तस्कर समूहको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको जनाएको छ। सुरक्षा निकायले सीमा क्षेत्र र शहरी क्षेत्रमा अवैध तस्करी विरुद्ध कडा निगरानी र कारबाही जारी राख्ने स्पष्ट पारेको छ।





