सिराहा कारागारभित्रै हतियार र अवैध धन्दा खुलासा, १३ कैदी प्रहरी नियन्त्रणमा

सिराहा / सिराहा सदरमुकामस्थित कारागारभित्रै बन्दुक र गोली फेला परेपछि सुरक्षा संयन्त्र हल्लिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार गरेको आकस्मिक अनुगमनका क्रममा कारागारभित्र एक थान बन्दुक र दुई राउन्ड गोली बरामद गरिएको हो। कैदी राख्ने स्थानमै हतियार भेटिनु कारागार सुरक्षाप्रति गम्भीर प्रश्न खडा गर्ने घटनाका रूपमा लिइएको छ।

अनुगमनका क्रममा हतियारसँगै चुरोट, सुर्ति लगायत कारागारभित्र निषेधित अन्य सामग्री पनि बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा यी अवैध गतिविधिमा संलग्न रहेको आशंकामा नाइके इन्द्रजित यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखिएको छ। उनीहरूलाई हाल अलग्गै राखी थप अनुसन्धान अघि बढाइएको छ।

सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर पक्राउ परेकाहरूलाई अन्यत्रको कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए। “हामीले उनीहरूलाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखेका छौं,” उनले भने, “छानबिन सकिएपछि अन्य कारागारमा पठाइनेछ।”

यो घटना एकाएक भएको कारबाही मात्र नभई लामो समयदेखि उठ्दै आएको आरोपको परिणामका रूपमा देखिएको छ। यसअघि कारागारभित्र प्रहरी–प्रशासनकै मिलेमतोमा मदिरा र लागुऔषधको कारोबार, मोबाइल फोनको दुरुपयोग तथा ‘चन्दा’का नाममा कैदीहरूबाट असुली हुँदै आएको विषय सार्वजनिक भइसकेको थियो। ती अवैध गतिविधिबारे गत वर्ष कान्तिपुर दैनिकले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

उक्त समाचारपछि नेपाल प्रहरीका एक डीएसपीको नेतृत्वमा गठित छानबिन समितिले ९० पृष्ठ लामो अनुसन्धान प्रतिवेदन जिल्ला सुरक्षा समितिसमक्ष पेस गरेको थियो। तर प्रतिवेदन कार्यान्वयनमा प्रशासनले देखाएको ढिलासुस्तीप्रति व्यापक आलोचना हुँदै आएको थियो। त्यही दबाब र आलोचनापछि सोमबार कारागारभित्र विशेष अपरेसन चलाइएको प्रशासनिक स्रोतको भनाइ छ।

कारागार जस्तो उच्च सुरक्षा संवेदनशील क्षेत्रभित्र हतियार भेटिनुले सुरक्षा व्यवस्था, प्रशासनिक जवाफदेहिता र छानबिन प्रतिवेदनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ। अब हुने अनुसन्धान र कारबाहीले दोषीलाई कत्तिको दायरामा ल्याउँछ भन्ने विषयले मात्र होइन, कारागार सुधारप्रतिको राज्यको प्रतिबद्धता कत्तिको व्यवहारमा देखिन्छ भन्ने कुराले पनि यो प्रकरणको वास्तविक निष्कर्ष तय गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button