दोस्रो योगिनी गोल्ड कप : बाँके–बर्दियाका १३ टोलीबीच फुटबल प्रतिस्पर्धा सुरु

खजुरा, बाँके । योगिनी युवा क्लबको आयोजनामा दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्स एफसी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा बाँके र बर्दियाका जम्मा १३ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने अन्य टोलीहरूमा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राइजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लब रहेका छन्। सबै टोलीहरू बाँके र बर्दिया जिल्लाका रहेको आयोजकले बताएको छ।
प्रतियोगिता बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा हुनेछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले जानकारी दिए। उनले भने, ‘युवालाई खेलकुदमा सक्रिय बनाउन प्रतियोगिता आयोजना गरेका हौं। प्रतियोगिताले खजुरामा खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक कार्यमा सक्रिय बनाउनेछ।’
प्रतियोगिता संयोजक गणेश राईका अनुसार प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई समेत पुरस्कृत गरिनेछ। आयोजकले स्थानीय फुटबल खेलाडीलाई लक्षित गर्दै बाँके र बर्दियाका क्लबलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
प्रतियोगितालाई खजुरा गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने खजुरा गाउँपालिका वडा नम्बर २ को समन्वय रहेको छ। प्रतियोगिताको पहिलो संस्करण २०७६ असोज ११ देखि १७ गतेसम्म सञ्चालन भएको थियो, जसलाई सिजी ब्रुअरी (नेपाल) ले मुख्य प्रायोजन गरेको थियो। बाँके जिल्ला फुटबल संघले प्राविधिक सहयोग प्रदान गरिरहेको छ। यो प्रतियोगिताले बाँके–बर्दियाको स्थानीय फुटबल प्रतिभालाई मौका दिनुका साथै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।





