अन्टार्कटिकामा ‘स्नो लेपर्ड’को सफलता: स्वदेशी प्रविधिले १० हजार किमि शून्य त्रुटिसहित पार

बेइजिङ – चीनले स्वदेशमै विकास गरेको ‘स्नो लेपर्ड’ ६×६ पाङ्ग्रे सवारीले अन्टार्कटिकाको अत्यन्त कठिन वातावरणमा १० हजार किलोमिटरभन्दा बढी दूरी कुनै पनि प्राविधिक विफलताविना पूरा गर्दै परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको ४२औँ अन्तार्कटिक अभियान टोलीले मंगलबार यसको जानकारी दिएको हो।
गत डिसेम्बर ५ देखि फेब्रुअरीको सुरुवातसम्म उक्त रातो रंगको विशेष सवारीले चीनको झोङशान अनुसन्धान केन्द्र र अन्टार्कटिकाको भित्री भागका पाँच फरक–फरक भू–भागमा परीक्षण सम्पन्न गरेको थियो। परीक्षणका क्रममा समुद्री बरफ, ग्राभेल (कंकडयुक्त जमिन), नरम हिउँ, कडा हिउँ र ठोस बरफजस्ता विविध चुनौतीपूर्ण सतह पार गरिएको थियो।

अभियान टोलीका अनुसार यस सवारीको सफल परीक्षणले अन्टार्कटिकामा तीव्र गतिमा स्थलमार्गबाट मानव यातायात, वैज्ञानिक अनुसन्धान सहयोग तथा आपतकालीन उद्धार कार्यका लागि आवश्यक उपकरण क्षमतामा रहेको महत्वपूर्ण अभाव पूरा गरेको छ।
यसअघि चीनका अन्टार्कटिक आन्तरिक अभियानहरू मुख्यतः आयातित ट्र्याकयुक्त सवारीमा निर्भर थिए। ती सवारीको गति अपेक्षाकृत कम, इन्धन खपत उच्च र सञ्चालन तथा मर्मत खर्च बढी हुने समस्या थियो। नयाँ स्वदेशी पाङ्ग्रे सवारीले ती सीमिततालाई पार गर्ने लक्ष्यसहित विकास गरिएको हो।
स्थल परीक्षणको नेतृत्व गरेका टोली सदस्य सुन पेङका अनुसार ‘स्नो लेपर्ड’ सवारी नरम हिउँमा प्रतिघण्टा २८ किलोमिटर र कडा हिउँमा ४२ किलोमिटरसम्म गति लिन सक्षम छ, जबकि साधारण ट्र्याकयुक्त सवारीको औसत गति प्रतिघण्टा १५ किलोमिटर मात्रै हुने गर्छ। त्यस्तै, ठोस बरफमा यो सवारी ६५ किलोमिटर प्रतिघण्टासम्म स्थिर गति कायम राख्न सक्छ र पूर्ण इन्धन भरिएको अवस्थामा करिब ७०० किलोमिटर दूरी पार गर्न सक्छ।
कम तापक्रम, न्यून वायुदबाक र जटिल भू–भाग जस्ता चुनौती पार गर्न अनुसन्धान तथा विकास टोलीले सवारीको शक्ति प्रणाली र टायर सामग्री सम्बन्धी महत्वपूर्ण प्रविधिगत उपलब्धि हासिल गरेको सुनले बताए।
अभियान टोलीका नेता याओ शुले एक आपतकालीन उद्धार अभियानको स्मरण गर्दै भने, ‘स्नो लेपर्ड’ ले हिमपात र करिब तीन मिटर मात्रै दृश्यता भएका अवस्थामा लगातार १२ घण्टा सञ्चालन हुँदै २६३ किलोमिटरको आवत–जावत दूरी पूरा गरेको थियो। यसले अत्यावश्यक उपकरणहरू समयमै पुर्याउन सफल भूमिका खेलेको थियो।
याओका अनुसार गम्भीर मौसमका कारण हवाई पहुँच असम्भव बनेको अवस्थामा स्थलमार्गबाट यति उच्च गतिमा यातायात सम्भव भएको यो पहिलो अवसर थियो।
चीनको ४२औँ अन्टार्कटिक अभियान टोली २०२५ नोभेम्बर १ मा सांघाईबाट प्रस्थान गरेको थियो। यस अभियान अन्तर्गत नयाँ–नयाँ उपकरण र प्रविधिहरू अन्टार्कटिकामा प्रयोग तथा परीक्षण गरिँदै छन्। ‘स्नो लेपर्ड’को सफल परीक्षणलाई चीनको ध्रुवीय अनुसन्धान क्षमतामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले भविष्यका वैज्ञानिक अभियानलाई थप द्रुत, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





