निर्वाचनकेन्द्रित अभियानमा नेकपा सक्रिय: ‘बुथदेखि डिजिटल मोर्चासम्म’ पूर्ण परिचालनको निर्देशन

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभरका नेता तथा कार्यकर्तालाई आफ्नो क्षेत्र नछाड्न र सक्रिय रूपमा फिल्डमा खटिन कडा निर्देशन दिएको छ। पार्टीले आज जारी गरेको सर्कुलरमार्फत जित सुनिश्चित गर्नेगरी जनतासँगको सम्बन्ध सुदृढ गर्न, संगठन विस्तार गर्न र चुनावी तयारीलाई तीव्र पार्न आग्रह गरेको हो।

जारी निर्देशनमा तल्ला तहका कमिटीहरूलाई विशेष जिम्मेवारी दिँदै बुथमा खटिने स्वयंसेवकहरूलाई व्यवस्थित प्रशिक्षण र अभिमुखीकरण गर्न भनिएको छ। मतदान अघि, मतदान भइरहँदा र मतगणना क्रममा समेत सचेत र जिम्मेवार भूमिकामा रहन पार्टीले जोड दिएको छ।

सर्कुलरमा भनिएको छ, “बुथमा खटिने स्वयंसेवकहरूलाई आवश्यक प्रशिक्षण र अभिमुखीकरण गर्ने, मतदान गर्नु अघि, मतदान भइरहेको अवधिमा र मतगणना हुँदा पूर्ण सतर्कता अपनाउने।” साथै प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फको मतगणना प्रक्रिया सम्पन्न नभएसम्म गणनामा संलग्न स्वयंसेवकहरू यथावत रूपमा सक्रिय रहनुपर्ने स्पष्ट निर्देशन दिइएको छ।

मतगणनाका क्रममा सम्भावित घुसपैठ वा अनियमितताको आशंका औंल्याउँदै पार्टीले त्यसतर्फ विशेष निगरानी बढाउन भनेको छ। निर्वाचन प्रक्रियाको पारदर्शिता र मतको सुरक्षालाई प्राथमिकतामा राख्दै पार्टीले स्थानीय तहसम्म संयन्त्र सक्रिय पार्ने तयारी गरेको जनाएको छ।

यसैबीच, पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी १५ दिनभित्रै मुलुकभर पार्टीको वातावरण अन्य दलभन्दा अगाडि पुग्ने दाबी गरेका छन्। आज पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विगतमा ठूला सभा–सम्मेलनमा खर्च हुने स्रोतसाधन अहिले डिजिटल प्रचार र घरदैलो अभियानमा केन्द्रित गरिएको बताए।

“ठूला ठूला सम्मेलन र सभा गरेर, लाखौँ खर्च गरेर भोट माग्ने जमाना गइसकेको छ,” उनले भने, “अब टोल–टोल र घरघरमा पुगेर आफ्नो कुरा स्पष्ट रूपमा राख्नुपर्छ।”

प्रचण्डले प्रविधिको प्रयोगमा विश्वशक्ति वा ठूला मुलुकसँग प्रतिस्पर्धा गर्न नसकिने स्वीकार गर्दै, गलत सूचना र दुष्प्रचारलाई तथ्यका आधारमा प्रत्युत्तर दिन सकिने बताए। “प्रविधिमा हामी साम्राज्यवादीसँग प्रतिस्पर्धा गर्न नसकाैंला, तर गलत सूचनालाई काउन्टर दिन सकिन्छ,” उनले भने, “हाम्रा साथीहरू त्यसमा सक्रिय छन्, १५ दिनपछि सबैलाई टप्यो भन्ने दिन आउँछ।”

पार्टीभित्रको यो निर्देशनलाई निर्वाचन केन्द्रित रणनीतिक पुनर्संरचना रूपमा हेरिएको छ। बुथ व्यवस्थापन, मतदाता सम्पर्क, डिजिटल सशक्तिकरण र संगठन विस्तार—यी चार आयाममा केन्द्रित अभियानमार्फत पार्टीले आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य लिएको देखिन्छ।

राजनीतिक वृत्तमा भने निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा थप चर्किने आकलन गरिएको छ। यस्तो अवस्थामा पार्टीहरूको संगठनात्मक क्षमता, सन्देश सम्प्रेषण र निर्वाचन व्यवस्थापन कौशल नै निर्णायक बन्ने विश्लेषकहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button