कलैयामा प्रतीक्षा, वीरगन्जतर्फ प्रस्थान: बालेनको क्षणिक झलकले समर्थक निराश

कलैया (बारा) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहको भाषण सुन्न र एक झलक हेर्न बाराको कलैयामा बिहानैदेखि ठूलो भीड जम्मा भएको थियो। तर घण्टौंको प्रतीक्षापछि पनि औपचारिक सम्बोधन त परै जाओस्, गाडीबाट ओर्लिएर अभिवादनसमेत नगरी उनी सिधै वीरगन्जतर्फ लागेपछि समर्थकहरू निराश बनेका छन्।
बालेन रौतहटबाट हुलाकी राजमार्ग हुँदै कलैया आउने सूचना पाएपछि बिहान ११ बजेदेखि नै सर्वसाधारण, पार्टी नेता तथा कार्यकर्ताहरू भरतचोकमा भेला हुन थालेका थिए। चर्को घामका बीच पनि उनीहरू उत्साहपूर्वक प्रतीक्षामा बसेका थिए। धेरैको अपेक्षा थियो कि बालेन चोकमा रोकिनेछन्, केही शब्द बोल्नेछन्, वा कम्तीमा गाडीबाट ओर्लिएर हात मिलाउनेछन्।
तर अपराह्न करिब २ः४० बजेतिर बालेनको सवारी लस्कर भरतचोक आइपुग्यो। उनी चढेको गाडी नरोकी अगाडि बढ्यो। गुडिरहेको गाडीबाट घण्टी बजाउँदै हात हल्लाएको देखिए पनि सडक छेउमा उभिएका धेरै समर्थकले स्पष्ट रूपमा देख्नसमेत पाएनन्। क्षणिक झलकमै उनको सवारी वीरगन्जतर्फ हुइँकियो।
“बिहानदेखि कुरेर बस्यौँ, तर उहाँ कहिले आउनुभयो र कहिले जानुभयो थाहा नै पाइएन,” भीडमा रहेका एक समर्थकले गुनासो गरे।
स्थानीयहरूका अनुसार अन्य राजनीतिक दलका नेताहरू जस्तै बालेनले पनि गाडीबाट ओर्लिएर जनतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको थियो। तर कार्यक्रमबिना सिधै प्रस्थान भएपछि धेरै समर्थक खिन्न मनले घर फर्किए।
रौतहटबाट आएका बालेन कलैयाको भीडलाई छिचोल्दै वीरगन्जतर्फ लागेका हुन्। घटनाले स्थानीय कार्यकर्ता र समर्थकमाझ केही असन्तोष देखिएको छ, यद्यपि पार्टीतर्फबाट यसबारे औपचारिक प्रतिक्रिया आएको छैन।





