दैलेखमा ८० अर्ब घनमिटर प्राकृतिक ग्यास पुष्टि: व्यावसायिक उत्पादनतर्फ ‘वेल टेस्टिङ’ निर्णायक चरण

दैलेख / दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्र नेपालका लागि ऊर्जा इतिहासको नयाँ अध्याय खोल्ने सम्भावना सहित चर्चामा आएको छ। चीनको चाइना जिओलोजिकल सर्भेले खानी तथा भूगर्भ विभागलाई पठाएको विस्तृत प्रतिवेदन अनुसार उक्त क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ। यद्यपि, व्यावसायिक उत्पादन सुरु गर्नुअघि ‘वेल टेस्टिङ’ अर्थात उत्पादन परीक्षण अनिवार्य रहेको विभागले स्पष्ट पारेको छ।

यसअघि सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनमा ११२ अर्ब घनमिटरसम्म ग्यास भण्डारण हुन सक्ने अनुमान गरिएको थियो। विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार ठूलो मात्रामा मिथेन ग्यास रहेको देखिए पनि ग्यासको वास्तविक अवस्था, दबाब, गुणस्तर र निकाल्न मिल्ने प्रविधिबारे निष्कर्ष निकाल्न उत्पादन परीक्षण आवश्यक छ। “ग्यासको प्रकृति र उत्खननको उपयुक्त प्रविधि निर्क्योल गर्न वेल टेस्टिङ नै निर्णायक हुन्छ,” उनले भने।

उत्पादन परीक्षणका क्रममा ड्रिलिङ गरिएका कुवाहरूमा थप उपकरण जडान गर्नुपर्ने वा ग्यासलाई अन्य पदार्थ मार्फत विस्थापित गर्नुपर्ने जस्ता प्राविधिक पक्षको मूल्यांकन गरिनेछ। ग्यासमा रहेका तत्त्वहरूको रासायनिक विश्लेषणपछि मात्र व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरिने विभागको भनाइ छ। चिनियाँ टोलीको प्रतिवेदन प्राप्त भएपछि सरकारले दोस्रो चरण अन्तर्गत वेल टेस्टिङसहितका कार्य अघि बढाउन चिनियाँ सरकारसँग औपचारिक अनुरोध गरेको जनाएको छ।

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि चीन र नेपालबीच चैत २०७२ मा प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो। त्यसअनुसार असोज २०७६ देखि करिब छ महिना प्रारम्भिक अध्ययन गरिएको थियो। फागुन २०७६ मा खानी तथा भूगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच २ अर्ब ४० करोड रुपैयाँको लागतमा अन्वेषण तथा उत्खनन सम्झौता भएको थियो।

चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २८ वैशाख २०८० देखि करिब डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन सम्पन्न गरेको हो। विभागका महानिर्देशक दिनेशकुमार नापितका अनुसार ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गरिएको थियो र प्रत्येक मिटरको नमुना परीक्षणका लागि पठाइएको थियो। दोस्रो चरणको अन्वेषण पुस २०८१ सम्म सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली नमुना लिएर फर्किएको थियो।

योजना कार्यान्वयनमा भने विभिन्न अवरोध देखिए। कोरोना महामारी, भारी उपकरण आयातमा ढिलाइ, साँघुरा सडक, जग्गा अधिग्रहण र स्थानीय विवादका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन। सन् २०१९ मा तीन वर्षका लागि भएको सम्झौता अवधि सकिएपछि २०२२ मा पुनः म्याद थप गरिएको थियो। “सबै काम समयमै भएको भए अहिलेसम्म व्यावसायिक उत्पादन सुरु भइसक्थ्यो,” प्रवक्ता खड्काले स्वीकारे।

पहिलो चरणमा सस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जिओकेमिकल गरी चार प्रकारका सर्वेक्षण गरिएको थियो। दोस्रो चरणमा ४५ रोपनी क्षेत्र अधिग्रहण गरी ड्रिलिङ गरिएको थियो, जहाँ करिब ७० जना प्राविधिकले १९ महिना काम गरे। करिब एक सय स्थानीय मजदुरले पनि रोजगारी पाएका थिए।

व्यावसायिक उत्पादन सम्भव भए नेपाल ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने विश्वास उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाह व्यक्त गर्छन्। उनका अनुसार ग्यास उत्पादन सुरु भए विदेशी मुद्रा बचत, आयात प्रतिस्थापन, राजस्व वृद्धिसँगै स्थानीय रोजगारी र पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुग्नेछ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले दैलेखको ग्यासले नेपाललाई क्षेत्रीय ऊर्जा नक्सामा स्थापित गर्न सक्ने सम्भावना औंल्याए। उनका अनुसार तेल प्रशोधन संयन्त्र निर्माण गरी नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रूपमा विकास गर्न सकिन्छ, जसले भारत र चीन दुवैसँग रणनीतिक लाभ दिलाउन सक्छ।

रसायनशास्त्री विजय शर्माका अनुसार मिथेन ग्यास स्वच्छ इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ। यसबाट सवारी साधन सञ्चालन, विद्युत उत्पादन र घरायसी प्रयोजन सम्भव छ। साथै मिथेनबाट हाइड्रोजन अलग गरी अमोनिया उत्पादन गरेर मल उद्योगमा समेत प्रयोग गर्न सकिने उनले बताए।

हालसम्म दैलेखको शिरस्थान, नाभीस्थान र पादुकाका करिब तीन किलोमिटर आसपास क्षेत्रमा मात्र ड्रिलिङ गरिएको छ। अनुमानित अन्य सम्भावित तीन स्थानमा पनि अन्वेषण गरिए ग्यास भण्डारणको परिमाण अझ बढ्न सक्ने विभागको विश्वास छ। जलजले क्षेत्रमा अहिले पनि दुई जना चिनियाँ प्राविधिक कार्यरत छन् भने सशस्त्र प्रहरीले अन्वेषण स्थलको सुरक्षा गरिरहेको छ।

दैलेखको भूमिगत ग्यास भण्डारण केवल प्राकृतिक स्रोतको खोज मात्र होइन, यो नेपालको ऊर्जा आत्मनिर्भरता, आर्थिक रूपान्तरण र क्षेत्रीय रणनीतिक सन्तुलनको सम्भावित आधार पनि हो। अबको चरण वेल टेस्टिङले यो सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने कि नगर्ने भन्ने निर्णायक मोड तय गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button