विमानस्थल वरपर एक महिना निषेधाज्ञा, राजावादी प्रदर्शनको त्रासबीच प्रशासन सतर्क

काठमाडौं / जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि लागु हुने गरी जारी गरिएको उक्त आदेशमा विमानस्थल वरपर पाँच जना भन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सो आदेश मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायत केही राजावादी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहँदा ल्याइएको हो। प्रशासनले अप्रिय घटना रोक्न तथा सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालेको जनाएको छ।
यसैबीच, राजा सहितको प्रजातन्त्र र हिन्दु राज्य पुनःस्थापनाको बहस भने उत्कर्षमा पुगेको छ। २०४७ सालको संविधानलाई आधार मान्दै राजा ज्ञानेन्द्र शाह केन्द्रमा रहेको उक्त बहसले नेपालको एलाईट वर्गलाई समेत आकर्षित गरिरहेको देखिन्छ। २०७२ सालको संविधान असफल भएको निष्कर्ष निकाल्दै राजनीतिक परिवर्तनको वकालत गर्नेहरूको पैरवी पनि उत्तिकै मुखरित भइरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार फागुनको पहिलो साता नेपालको राजनीतिका लागि निर्णायक मोड हुन सक्नेछ। १ फागुनमा राजा ज्ञानेन्द्रको स्वागतमा हुने जनसहभागिता र त्यसपछि सिर्जित परिस्थितिले आउँदा दिनमा देशले लिने राजनीतिक दिशा तय गर्ने धेरैको अनुमान छ। प्रशासनले भने हाललाई विमानस्थल क्षेत्रलाई केन्द्रित गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।





