राजालाई विमानस्थलमा स्वागत गर्ने भब्य तयारी, भाेलिको दिन नै निर्णायक बन्ने !

काठमाडौं — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानको नाममा व्यवस्था विरोधी गतिविधि चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जिल्ला प्रशासन कार्यालयको आदेशलाई खुलेआम चुनौती दिँदै भोलि विमानस्थलमा समर्थक भेला गराउने घोषणा गरेका छन्।

भक्तपुरको मध्यपुर ठिमीस्थित निजी निवासमा आज पत्रकार सम्मेलन गरी प्रसाईंले भोलि मध्याह्न १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा उपस्थित हुन आफ्ना समर्थकलाई निर्देशन दिएका हुन्। विमानस्थल आसपासमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने र प्रदर्शन, जुलुस, र्याली पूर्ण रूपमा निषेध गरिएको प्रशासनको सूचनालाई उनले स्वीकार्य नभएको बताए।

प्रसाईंले काठमाडौं बाहिरबाट फर्किन लागेका राजा ज्ञानेन्द्र शाहलाई नाराबाजी सहित विमानस्थलदेखि निर्मल निवाससम्म पुर्याउने तयारी रहेको जानकारी दिए। ‘भोलि महाराजधिराज सवारी हुने कार्यक्रम छ, सिडिओ कार्यालयले एयरपोर्ट वरिपरि हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ रे, तर केही फरक पर्दैन’, उनले भने, ‘नेपालीहरू घेरा तोडेर स्वागत गर्न जान्छन्, तपाईं पनि जाने हैन त ?’

प्रसाईंले राजा ज्ञानेन्द्रलाई समेत आँट गर्न आग्रह गर्दै अगाडि भने, ‘हामी शान्तिपूर्ण तरिकाले उहाँलाई निर्मल निवाससम्म पुर्याउँछौँ, पुलिसले हस्तक्षेप नगरोस्। म राजालाई पनि के भन्न चाहन्छु भने तपाई पनि अब आँट गर्नुहोस्, हामी निर्मल निवास घेराऊ गरेर नारायणहिटीमा ल्याएर राख्छौँ, कसैले छेक्न सक्दैन।’

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको कल्पनासमेत नगर्न चेतावनी दिए। ‘तपाईंहरूले मलाई जति थुने पनि थुन्नुहोस्, केही फरक पर्दैन, तर चुनावको कल्पना नगर्नुस्’, उनले थपे।

जिल्ला प्रशासन कार्यालयले भोलिदेखि लागु हुने गरी विमानस्थल वरपर एक महिनाका लागि निषेधाज्ञा जारी गरिसकेको छ। तर प्रसाईंले भने सो आदेशको परवाह नगरी भोलि विमानस्थल पुग्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था थप कडा पारिने भएको छ। प्रशासन भने के गर्ला ? भोलिको दिन नै निर्णायक बन्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button