‘सडक सुरक्षा सबैको साझा जिम्मेवारी’: आइजिपी कार्की

काठमाडौं — काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र जटिल ट्राफिक व्यवस्थापनका बीच सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित एकदिवसीय कार्यशाला गोष्ठी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा सम्पन्न भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को सहकार्यमा भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरे।
गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षाको जिम्मेवारी केवल ट्राफिक प्रहरीको मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताए। ‘सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी तथा यातायात व्यवसायी सबैको आ–आफ्नो जिम्मेवारी छ,’ उनले भने, ‘कुनै एक निकायले मात्र सडक सुरक्षा सुनिश्चित गर्न सक्दैन। त्यसैले सबै पक्ष एकजुट भएर लाग्नुपर्छ।’

उनले ट्राफिक नियमको पालना आफैंबाट सुरु गर्नुपर्नेमा जोड दिँदै नागरिकस्तरबाट ट्राफिक प्रहरीप्रति देखिएको सहयोग र सद्भावले व्यवसायिक मनोबल उच्च रहेको समेत उल्लेख गरे। ‘गोष्ठीबाट प्राप्त ज्ञान र अनुभवले ट्राफिक प्रहरीको विश्लेषणात्मक सोच, निर्णय क्षमता र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्नेछ,’ कार्कीले भने, ‘यसले आम नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाह गर्न सहज हुने विश्वास लिएको छु।’
कार्यक्रममा इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशनका अध्यक्ष डा. रोहित बालूजा र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे।
सोही दिन बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उद्घाटन गरेको गोष्ठीमा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, सडक विभागका राकेश महर्जन, वातावरण विभागकी हस्ता श्रेष्ठ, सडक सुरक्षा परिषद्का सरोज प्रधान, काठमाडौं महानगरपालिकाका प्रतिनिधि शिरिस पाण्डेलगायतले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्बन्धी मन्तव्य र प्रस्तुतिकरण दिएका थिए।
गोष्ठीमा अवकाशप्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर बिक, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलगायत वरिष्ठ अधिकारीहरूले छलफलका विषयमा सुझाव तथा टिप्पणी राखेका थिए।
कार्यक्रमको धन्यवाद मन्तव्य काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले व्यक्त गरेका थिए। गोष्ठीले सरोकारवाला निकाय र ट्राफिक प्रहरीबीचको व्यावसायिक निकटता वृद्धि गर्दै सडक सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





