चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं प्रवेश, चाडपर्वबीच कूटनीतिक कोसेली

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुग्दै छन्। चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक समेत रहेका चाङ गत जनवरी महिनाको सुरुमा राजदूत नियुक्त भएका थिए।

नेपाल आइपुगे लगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। यद्यपि, अविलम्ब औपचारिकता सम्पन्न गर्न भने केही कूटनीतिक तथा सांस्कृतिक चाडपर्वको तालमेल मिलाउनुपर्ने देखिएको छ। भोलि शनिबार, पर्सि महाशिवरात्री, बुधबार ग्याल्बो ल्होसार, बिहीबार प्रजातन्त्र दिवस, फागुन ९ गते शनिबार र फागुन १८ गते फागु पूर्णिमाको बिदा छ। यसबीच चुनावी सरगर्मी समेत हुने भएकाले उपयुक्त समय हेरेर प्रमाणपत्र पेस गरिने बताइएको छ। आगामी मंगलबार चीनको परम्परागत नयाँ वर्ष तथा वसन्त चाड पनि शुभारम्भ हुँदैछ।

चाङले तीन वर्षे कार्यकाल पूरा गरेर पदोन्नतिसहित स्वदेश फर्किएका पूर्व राजदूत सोङलाई बदली गर्न लागेका हुन्। सोङ हाल परराष्ट्र मन्त्रालयको नीति योजना विभागमा महानिर्देशकका रूपमा कार्यरत छन्, जसले विश्व परिस्थितिको अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्धका रणनीतिक पक्षको विश्लेषण, कूटनीतिक नीति निर्माण तथा महत्वपूर्ण कूटनीतिक दस्तावेज र वक्तव्यको तयारी गर्ने गर्दछ।

नवनियुक्त राजदूत चाङ नेपालको राजनीति तथा कूटनीतिक वृत्तमा नयाँ नाम भने होइन। यसअघि विभिन्न राजनीतिक भेटघाट र समारोहमा नेपाली नेतृत्व तथा उच्च अधिकारीहरूसँग उनको पटक–पटक भेटवार्ता भइसकेको छ। दुई वर्षअघि एउटा उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी हुँदै नेपाल आएका उनी नेपालको आन्तरिक तथा बाह्य मामिलाबारे गहिरो जानकारी राख्ने कूटनीतिज्ञका रूपमा परिचित छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button