हेलिकोप्टरमा राजधानी फर्किँदै राजा ज्ञानेन्द्र, राजावादी उत्साह र प्रहरीको कडाइ

काठमाडौं : राजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकोप्टर मार्फत आज काठमाडौँ फर्किन लाग्नु भएको छ। बुद्ध एयरको नियमित उडानबाट आउने पूर्वनिर्धारित कार्यतालिका रद्द गरी उहाँ हेलिकोप्टर चढेर राजधानी आउन लागेको बताइएको छ। मौसम खराबीका कारण जहाज उडानमा ढिलाइ हुने सम्भावना देखिएपछि वैकल्पिक व्यवस्था अन्तर्गत हेलिकोप्टर प्रबन्ध गरिएको स्रोतको दाबी छ।
यता, राजावादीहरू भने राजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुने तयारीमा जुटेका छन्। उनीहरूले विमानस्थलबाट नारा–जुलुससहित निर्मल निवाससम्म झाँकी निकाल्ने कार्यक्रम तय गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विमानस्थल र आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन निषेध गरे पनि राजावादी समूहले अटेर गर्दै भेला हुने संकेत देखाएको छ।
मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले हिजो पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यका बाहिर रहेका आफ्ना समर्थकलाई विमानस्थल आउन उर्दी जारी गरिसकेका छन्। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि प्रशासनले मनोमानी ढंगले निषेधाज्ञा जारी गरेको भन्दै असहमति जनाएका छन्। ‘यो अलोकतान्त्रिक कदम हो, हामी यसलाई मान्न बाध्य छैनौँ,’ लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रहरी प्रधान कार्यालयले भने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उपत्यकाका मुख्य चोकहरूमा व्यापक सुरक्षा फौज परिचालन गरेको छ। चाबहिल, गौशाला, विमानस्थल चोक, सिनामंगल, तीनकुने हुँदै ग्वार्कोसम्म ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। विशेष गरी विमानस्थल क्षेत्रलाई ‘हाइ–सिक्युरिटी जोन’ घोषणा गरिएको र कुनै पनि अप्रिय घटना हुन नदिने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
राजा ज्ञानेन्द्रको आगमन र राजावादीको सक्रियताले केही महिनादेखि शीतल रहेको राजसंस्था पक्षधर गतिविधि पुनः तात्न थालेको संकेत देखिएको छ। प्रशासन र सुरक्षा निकाय भने परिस्थितिलाई नियन्त्रणमा राख्ने रणनीतिमा जुटेका छन्।





