प्रचण्डको मौनता र जनयुद्धको विरोधाभास

काठमाडौं : एक समय थियो, ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसकै रूपमा मनाउन मन्त्रीपरिषद्बाट निर्णय गराउने तागत राख्ने नेता प्रचण्ड आज उही दिवसप्रति मौन देखिएका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष पहिलोपटक ‘जनयुद्ध दिवस’ कतै औपचारिक रूपमा मनाएको देखिएन, न त उनले लिखित रूपमा कुनै सन्देश नै दिएका छन्।
यो त्यही नेतृत्व हो, जसले एक समय सशस्त्र संघर्षलाई जनताको मुक्तिको एकमात्र बाटो ठहर्याउँदै देशभर हिंसात्मक गतिविधि सञ्चालन गरेको थियो। तर, अहिले आएर उही आन्दोलनको स्वामित्व लिन समेत आनाकानी गरिरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको यो मौनताले आफ्नै विगतप्रति लाज वा असजिलो महसुस गरेको संकेत गर्न सक्छ।
तर, प्रश्न उठ्छ– यदि आज यो ‘लाज हुने आन्दोलन’ हो भने, विगतमा त्यत्रो हिंसा, बमविस्फोट र सशस्त्र संघर्ष किन गरियो ? त्यसबेला मारिएका हजारौं योद्धा र सर्वसाधारणको बलिदानको के अर्थ ? के केवल सत्तामा पुग्नका लागि मात्र यत्रो ठूलो जनयुद्ध गरिएको थियो ?
राजनीतिक वृत्तमा यसलाई प्रचण्डको ‘विगतबाट पलायन’ को रणनीतिका रूपमा हेरिएको छ। शान्ति प्रक्रियामा आएपछि माओवादीले आफूलाई लोकतान्त्रिक शक्ति भनी चिनाउन खोजे पनि जनयुद्धको सम्झनाले पुराना घाउहरू कोप्ने डरले अहिलेको पुस्तासामु त्यो अध्याय खोल्न नचाहेको हुन सक्छ।
जे होस्, आफैंले सुरु गरेको आन्दोलनको दिवस समेत मनाउन नसक्नु र त्यसको स्वामित्व लिन नचाहनुले प्रचण्डको राजनीतिक यात्रामा ठूलो विरोधाभास उजागर गरेको छ। इतिहासको पानामा यो अध्याय कसरी लेखिने हो, त्यो भने समयले बताउने छ।





