‘राजकुमार’ राजगद्दी सम्हाल्दै: साढे तीन दशकपछि बंगलादेशको सत्तामा रहमान परिवार

ढाका / बंगलादेशको राजनीतिमा एउटा ऐतिहासिक परिवर्तन भएको छ। देशको संसदीय निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुई-तिहाई बहुमत हासिल गरेसँगै पार्टीका कार्यकारी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन्। १७ वर्ष लामो निर्वासन जीवन बिताएर दुई महिनाअघि मात्र स्वदेश फर्किएका रहमानको यो विजय बंगलादेशको राजनीतिमा एउटा नयाँ अध्यायको सुरुवात मानिएको छ।

बिहीबार सम्पन्न निर्वाचनमा ५९ दशमलव ४४ प्रतिशत मत खसेको थियो। तारिक रहमानले ढाका-१७ र बगौरा-६ गरी दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए र दुवै स्थानबाट विजयी भएका छन्। उनको यो जीतले बंगलादेशको राजनीतिमा रहमान परिवारको पुनरागमनलाई स्पष्ट संकेत गरेको छ।

गत डिसेम्बरमा ढाका फर्किएपछि पहिलो सार्वजनिक सम्बोधनमै तारिक रहमानले आफ्नो दृष्टिकोण स्पष्ट पारेका थिए। २५ डिसेम्बरमा राजधानी ढाकामा आयोजित विशाल सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘मार्टिन लुथर किङले भनेका थिए, “मसँग सपना छ।” म उनीजस्तै भन्न चाहन्छु: बंगलादेशका लागि मसँग योजना छ। हामी सबैले मिलेर यो देश बनाउनुपर्छ। पहाडदेखि समथर भूभागसम्म, हिन्दू-बौद्धदेखि मुस्लिमसम्म, यो देश सबैको हो र सबैले मिलेर यो देश बनाउनेछौं।’

उनको यस भनाइले अल्पसंख्यक समुदायलाई समेत साथमा लिएर अघि बढ्ने उनको प्रतिबद्धता झल्काउँछ। यसै कारण उनलाई बंगलादेशमा मध्यमार्गी-दक्षिण विचारधाराको नेताका रूपमा हेरिन्छ।

तारिक रहमानलाई बंगलादेशमा ‘राजकुमार’ पनि भनिन्छ। यसको कारण उनको पारिवारिक राजनीतिक विरासत हो। उनी बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र हुन्। उनको जन्म २० नोभेम्बर १९६५ मा ढाकामा भएको थियो।

उनका पिता जियाउर रहमान बंगलादेशको स्वतन्त्रता संग्रामका एक प्रमुख सेनानी थिए। २५ मार्च १९७१ मा पाकिस्तानले ‘अपरेशन सर्चलाइट’ सुरु गरेर स्वतन्त्रता आन्दोलन दबाउन खोजेको थियो। त्यसको भोलिपल्ट पूर्वी पाकिस्तान रेडियो स्टेशनका एक प्राविधिक र मोहम्मद अब्दुल हनानले रेडियो मार्फत बंगलादेश स्वतन्त्र भएको घोषणा गरे। २७ मार्चमा शेख मुजिबर रहमानका तर्फबाट जियाउर रहमानले यस घोषणालाई स्वाधीन बंगला बेतार केन्द्र रेडियो मार्फत आधिकारिक पुष्टि गरे। त्यही कारण उनलाई स्वतन्त्रताका संवाहक पनि भनिन्छ।

शेख मुजिबर रहमानको हत्यापछि १९७५ मा बंगलादेश गम्भीर राजनीतिक अस्थिरतामा फस्यो। राष्ट्रपति खोन्डकर मोस्ताक अहमदले मुजिबरका हत्याराहरूलाई माफी दिने आदेशमा हस्ताक्षर गरेपछि उनी अलोकप्रिय बने। त्यसपछि तत्कालीन सेनापति ब्रिगेडियर खालेद मोशार्रफले ३ नोभेम्बर १९७५ मा सैन्य ‘कु’ मार्फत उनलाई अपदस्थ गरे।

तर, ७ नोभेम्बर १९७५ मा कर्नेल अबु ताहेरको नेतृत्वमा ‘सिपाही-जनता क्रान्ति’ भयो, जसले मोशार्रफलाई हटाएर जियाउर रहमानलाई नजरबन्दबाट मुक्त गर्यो। कालान्तरमा जियाउर रहमान राष्ट्रपति बने।

यसै परिस्थितिमा अवामी लिगको विकल्पका रूपमा १९७८ मा बीएनपीको जन्म भयो। अर्को वर्ष जियाउर रहमान यही पार्टीबाट राष्ट्रपति निर्वाचित भए। अवामी लिग भारतसँग अति नजिक थियो भने जियाउरले राष्ट्रवादको मुद्दा उठाउँदै भारतसँगको सम्बन्धलाई दूरीमा राख्ने नीति लिए। शीतयुद्धको चरम समयमा यो पार्टीले अमेरिका र पाकिस्तानी शैलीको उदार अर्थव्यवस्था पछ्यायो।

१९८१ मा जियाउर रहमानको हत्या भयो। त्यसपछि १९८२ मा हुसेन मोहम्मद इर्सादले सत्ता कब्जा गरेर सैनिक शासन लागू गरे। यसको विरोधमा जियाउरकी पत्नी खालिदा जियाले १९८३ देखि आन्दोलन सुरु गरिन्।

१९९१ मा सैनिक शासन अन्त्यपछि भएको निर्वाचनमा बीएनपीले बहुमत ल्यायो र खालिदा जिया प्रधानमन्त्री बनिन्। यस निर्वाचनमा तारिक रहमानले पनि सक्रिय भूमिका खेलेका थिए। खालिदा जियाले १९९६ सम्म सरकार हाँकिन्।

सन् २००१ को निर्वाचनपछि पुनः बीएनपी पहिलो पार्टी बन्यो र खालिदा जियाले जमात-ई-इस्लामीको समर्थनमा पाँच वर्ष सरकार चलाइन्।

सन् २००४ मा ढाकास्थित अवामी लिगको एक र्यालीमा गरिएको ग्रिनेड आक्रमणले बंगलादेशको राजनीतिले नयाँ मोड लियो। यस आक्रमणमा शेख हसिना आफैं घाइते भएकी थिइन् भने २४ व्यक्तिको मृत्यु भएको थियो। यस घटनाको निष्पक्ष छानबिन गर्न नसकेको आरोप अवामी लिगले बीएनपी सरकारमाथि लगायो।

सन् २००७ मा तारिक रहमानलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरियो। अनुसन्धानका क्रममा उनलाई ग्रिनेड आक्रमणको योजना बनाएको अभियोग पनि थपियो। सेप्टेम्बर २००८ मा अदालतले उनलाई उपचारका लागि लन्डन जान धरौटीमा रिहा गरिदियो र त्यसपछि उनी त्यहीँ बसे।

२०११ मा हसिना सरकारले तारिक रहमानलाई यस आक्रमणको मुख्य अभियुक्त ठहर गर्दै मुद्दा अघि बढायो। २०१८ मा ढाकास्थित अन्तर्राष्ट्रिय ट्राइबुनल अदालतले उनलाई ग्रिनेड हमलाको मुख्य योजनाकार ठहर गर्दै आजीवन जेल सजाय सुनायो। तर उनी लन्डनमा भएकाले पक्राउ परेनन्।

२०२४ मा बंगलादेशको राजनीतिमा ठूलो परिवर्तन भयो। विद्यार्थी आन्दोलन चर्किएपछि ५ अगस्ट २०२४ मा प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत निर्वासित भइन्। मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बन्यो।

यसै वर्ष ४ सेप्टेम्बरमा बंगलादेशको सर्वोच्च अदालतले तारिक रहमानलाई ग्रिनेड आक्रमण घटनामा सफाइ दियो। उता हसिनाको पार्टी अवामी लिगको दर्ता खारेज भयो र विद्यार्थी आन्दोलनमा दमन गरेको अभियोगमा हसिनालाई मृत्युदण्डको सजाय सुनाइयो।

३० डिसेम्बरमा दीर्घरोगले थलिएकी आमा खालिदा जियाको ८० वर्षको उमेरमा निधन भयो। त्यसपछि तारिक रहमान बीएनपीको अध्यक्ष चुनिए। दुई महिनाअघि मात्र उनी पत्नी र छोरीसहित ढाका फर्किएका थिए।

बंगलादेशको अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने र मुख्य व्यापार साझेदार भारतसँगको सम्बन्ध सुधार गर्नुपर्ने ठूलो चुनौती तारिक रहमान सामु छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तारिक रहमानलाई बधाई दिँदै समावेशी र प्रजातान्त्रिक बंगलादेशलाई आफ्नो समर्थन रहने बताएका छन्।

उनको विजयले अल्पसंख्यक र महिलाप्रति असहिष्णु नीति बोकेको कट्टर इस्लामिक पार्टी (जमात-ई-इस्लामी) को उदय रोकेको छ। हिन्दू, बौद्ध र क्रिस्चियन अल्पसंख्यकलाई राज्यका निकायमा उचित प्रतिनिधित्व गराइने उनले बताउँदै आएका छन्।

निर्वाचनसँगै जुलाई बडापत्र २०२५ बारे जनमतसंग्रह पनि भएको छ, जसमा प्रधानमन्त्रीको कार्यकाल सीमा, भ्रष्टाचार नियन्त्रण, न्यायिक सुधार लगायत विषय समावेश छन्। यसको परिणामले आगामी संसदको बाटो निर्धारण गर्नेछ।

एक समय ‘राजकुमार’ भनिने तारिक रहमान अब ‘राजगद्दी’ मा बस्ने तयारीमा छन्। साढे तीन दशकपछि बंगलादेशको सत्तामा रहमान परिवारको पुनरागमनले देशको राजनीतिमा नयाँ युगको सुरुवात गरेको छ। उनको नेतृत्वले बंगलादेशलाई के नयाँ उचाइमा पुर्याउँछ भन्ने हेर्न बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button