सहायक ड्राइभिङ सक्रिय भए पनि चालक नै जिम्मेवार : चीनको सर्वोच्च अदालतको स्पष्ट सन्देश

बेइजिङ — जनगणतन्त्र चीनको सर्वोच्च अदालतले सडक सुरक्षा सम्बन्धी उल्लङ्घनका आपराधिक दायित्वबारे पाँच वटा नयाँ मार्गदर्शक नजिर सार्वजनिक गर्दै सहायक (असिस्टेड) ड्राइभिङ प्रविधि सक्रिय गरिएको अवस्थामा समेत सुरक्षित सवारी सञ्चालनको पूर्ण जिम्मेवारी चालककै हुने स्पष्ट पारेको छ। शुक्रबार प्रकाशित यी नजिरहरूले न्यायिक अभ्यासमा देखिएका विवाद समाधान गर्नुका साथै समान प्रकृतिका मुद्दामा फैसला गर्ने मापदण्ड एकरूप बनाउने उद्देश्य राखेका छन्।

आंशिक स्वचालन (पार्सियल अटोमेसन) सुविधा तीव्र रूपमा फैलिँदै जाँदा केही चालकले प्रणाली सक्रिय अवस्थामा मोबाइल चलाउने, निदाउने जस्ता जोखिमपूर्ण व्यवहार गर्ने प्रवृत्ति बढेको पृष्ठभूमिमा अदालतको यो स्पष्टीकरण आएको हो। अझ गम्भीर अवस्थामा, लामो समय ‘ह्यान्ड्स–अफ’ ड्राइभिङ गर्न मिल्ने गरी सुरक्षात्मक संयन्त्रमै अवैध छेडछाड गरिएको पाइएकाले यसले ट्राफिक सुरक्षामा गम्भीर खतरा निम्त्याएको अदालतले जनाएको छ।

अदालतले चालक दायित्वको सिद्धान्त प्रस्ट्याउन एक विशिष्ट मुद्दा उल्लेख गरेको छ। उक्त घटनामा प्रतिवादी वाङले मदिरा सेवन गरेपछि सवारीको सहायक ड्राइभिङ प्रणाली सक्रिय गरेका थिए। प्रणालीको निगरानी छल्न अवैध उपकरण जडान गरी प्रभावकारी मानवीय पर्यवेक्षणबिना सवारी चल्ने व्यवस्था मिलाएर उनी चालक सिट छाडेर सहचालक सिटमा गएर निदाएका थिए। गन्तव्य नजिकै सवारी रोकिन पुगेपछि सडक अवरुद्ध भएको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उक्त प्रकरणमा वाङलाई ‘खतरनाक ड्राइभिङ’ कसुरमा दोषी ठहर गर्दै एक महिना १५ दिन कैद र ४,००० युआन (झण्डै ५८० अमेरिकी डलर) जरिवाना सुनाइएको छ। अदालतका अनुसार यो नजिरले स्पष्ट सन्देश दिन्छ कि सवारीभित्रको सहायक ड्राइभिङ प्रणालीले चालकको स्थान लिँदैन; प्रणाली सक्रिय भए पनि प्राथमिक सञ्चालक चालक नै हो र पूर्ण कानुनी दायित्व उसैले वहन गर्नुपर्छ।

अदालतले थप स्पष्ट पारेको छ कि सहायक ड्राइभिङ सक्रिय गरी प्रणालीको निगरानी छल्न अवैध सामग्री प्रयोग गर्ने चालक, चाहे उनी चालक सिटमा नबसिरहेको होस् वा हातले सिधै स्टेयरिङ नसमातेको होस्, पूर्ण कानुनी जिम्मेवारीबाट मुक्त हुन सक्दैन।

विश्वकै सबैभन्दा ठूलो सवारी उत्पादन तथा बिक्री बजारका रूपमा चीनले सन २०२५ मा ३४ मिलियनभन्दा बढी सवारी उत्पादन र बिक्री गरेको सन्दर्भमा यो न्यायिक स्पष्टिकरण आएको हो। नयाँ ऊर्जा सवारी (न्यू इनर्जी भेहिकल) क्षेत्रमा अग्रणी रहँदै प्राविधिक कम्पनी र सवारी उत्पादकहरूले स्वचालित ड्राइभिङ प्रविधिमा ठूलो लगानी गरिरहेका बेला उद्योग तीव्र गतिमा विस्तार भइरहेको छ। यही विस्तारसँगै सुरक्षा मापदण्ड कडा पार्न नियामक निगरानी सुदृढ गरिँदै आएको जनाइएको छ।

गत महिना सरकारले सवारीको ढोका ह्यान्डल सुरक्षा सम्बन्धी अनिवार्य राष्ट्रिय प्राविधिक मापदण्ड समेत सार्वजनिक गरेको थियो। आगामी सन २०२७ जनवरी १ देखि धेरै आधुनिक सवारीमा प्रचलित ‘रिट्र्याक्टेबल’ ढोका ह्यान्डल भएका नयाँ गाडी उत्पादनमा प्रतिबन्ध लाग्नेछ। दुर्घटनापछि बाहिरबाट ढोका खोल्न नसकिने अवस्था रोक्न यो व्यवस्था ल्याइएको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button