वसन्त यात्राको चापमा सुरक्षा, स्थायित्व र गुणस्तरीय सेवामा जोड : प्रधानमन्त्री ली छ्याङको निर्देशन
बेइजिङ — चीनका प्रधानमन्त्री लि छियाङले वसन्त पर्वको यात्राको उच्च चापबीच यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन, कार्यस्थल सुरक्षालाई प्राथमिकता दिन तथा सामाजिक स्थायित्व कायम राख्न सम्बन्धित निकायहरूलाई स्पष्ट निर्देशन दिएका छन्। उनले सर्वसाधारणले खुसी र शान्तिपूर्ण रूपमा पर्व मनाउन पाउने वातावरण सिर्जना गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका सदस्यसमेत रहेका लीले शनिबार जनगणतन्त्र चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयमा निरीक्षण भ्रमणका क्रममा यस्तो निर्देशन दिएका हुन्। वसन्त पर्वका अवसरमा देशव्यापी आवागमन अत्यधिक हुने भएकाले रेल, सडक र हवाई यातायात सेवामा समन्वय र प्रभावकारी व्यवस्थापन अपरिहार्य रहेको उनले बताए।
प्रधानमन्त्री लीले भीडभाडका बेला सम्भावित दुर्घटना न्यूनीकरण गर्न अग्रिम तयारी, आपतकालीन उद्धार संयन्त्रको सुदृढीकरण र जोखिम क्षेत्रको नियमित अनुगमन आवश्यक रहेकोमा जोड दिए। उद्योग–धन्दा, निर्माणस्थल तथा सार्वजनिक सेवा क्षेत्रहरूमा सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले साना कमजोरीले ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी समेत दिए।
त्यसैगरी, पर्यटन सेवाको गुणस्तर अभिवृद्धि गर्न, मूल्य पारदर्शिता कायम गर्न र यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन स्थानीय सरकार तथा सम्बन्धित निकायहरूलाई सचेत गराइएको छ। पर्वका अवसरमा देशभित्र भ्रमण गर्ने र स्वदेश फर्किने नागरिकहरूको चाप बढ्ने भएकाले यातायात, आवास, स्वास्थ्य तथा आपतकालीन सेवामा उच्च सतर्कता अपनाउनुपर्ने उनले बताए।
लीले सामाजिक स्थायित्व कायम राख्न समन्वित प्रयास आवश्यक रहेको उल्लेख गर्दै जनताको जीवन–सुरक्षा र सम्पत्तिको संरक्षणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे। सरकारका सबै तहले जिम्मेवारीपूर्वक काम गरेमा वसन्त पर्वको यात्रा सुरक्षित, सुव्यवस्थित र सुखद बन्ने विश्वास उनले व्यक्त गरेका छन्।





