क्षेत्रीय शक्ति प्रतिस्पर्धामा नेपालः एड्मिरल पापारोको रणनीतिक भ्रमण

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको संयुक्त राष्ट्र ईण्डाे प्यासिफिक कमान्ड (USINDOPACOM) का कमाण्डर एडमिरल सामुयल जे. पापाराेले तीनदिने औपचारिक भ्रमणका क्रममा नेपालका उच्च नेतृत्वसँग भेटघाट गर्दै करिब ७९वर्ष पुरानो अमेरिका–नेपाल सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भ्रमणको केन्द्रबिन्दु नेपाललाई विपद तयारीमा आत्मनिर्भर बनाउने, मानवीय सहायता क्षमतामा सहयोग विस्तार गर्ने तथा शान्ति अभियन्ता उत्कृष्टता प्रवर्द्धन गर्ने रहेको बताइएको छ।
काठमाडौंमा भएको औपचारिक भेटवार्तामा उनले नेपालका परराष्ट्र मन्त्रीसँग द्विपक्षीय सहकार्यका प्राथमिकतामाथि छलफल गरे। विशेषगरी विपद जोखिम न्यूनीकरण, मानवीय सहायता तथा संयुक्त राष्ट्र संघीय शान्ति अभियन्ता मिसनमा नेपालको योगदानलाई अझ प्रभावकारी बनाउने विषयमा विचार आदान–प्रदान भयो। छलफलका क्रममा दुवै पक्षले क्षेत्रीय स्थिरता, समन्वय र पारस्परिक विश्वासमा आधारित सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।
भ्रमणका क्रममा एड्मिरल पापारोले Daniel K. Inouye Asia-Pacific Center for Security Studies (APCSS) सँग सम्बद्ध पूर्वस्नातक तथा सुरक्षा विज्ञहरूसँग पनि अन्तरक्रिया गरे। कार्यक्रममा इन्डो–प्यासिफिक क्षेत्रका उदीयमान सुरक्षा चुनौती, रणनीतिक सहकार्य र ज्ञान–साझेदारीका विषयमा खुला छलफल भएको जनाइएको छ। यसले नेपाल र अमेरिकाबीच संस्थागत सम्बन्ध विस्तार र पेशागत सञ्जाल मजबुत बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
दोस्रो दिन एड्मिरल पापारो पाँचखालस्थित Birendra Peace Operations Training Centre मा पुगेका थिए। उक्त तालिम केन्द्र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सैनिक र सुरक्षाकर्मीलाई तयारी गराउने प्रमुख संस्था हो। भ्रमणका क्रममा उनले पूर्व–तैनाथी तालिम, अभ्यास तथा सञ्चालन क्षमताको अवलोकन गर्दै प्रशिक्षक र शान्ति अभियन्तासँग प्रत्यक्ष संवाद गरे। नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना प्रयासमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा तालिम, प्राविधिक सहयोग र अनुभव आदान–प्रदानलाई अझ सुदृढ बनाउने विषयमा संकेत दिएका छन्।
यसै क्रममा उनले नेपाली सेनाका प्रधान सेनापतिसँग पनि उच्चस्तरीय वार्ता गरेका थिए। भेटघाटमा द्विपक्षीय सैनिक सहकार्य, विपद व्यवस्थापनमा संयुक्त अभ्यास, प्राविधिक तथा गैर–लडाकु तथा अन्य उपकरण सहयोग, र मानवीय सहायता अभियानमा समन्वयका विषयमा छलफल भएको स्रोतले जनाएको छ। विशेषगरी प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको मुलुकका रूपमा नेपाललाई शीघ्र प्रतिक्रिया क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वमा जोड दिइएको थियो।
अमेरिका र नेपालबीचको सैनिक तथा मानवीय सहकार्य विगत दशकहरूमा क्रमशः विस्तार हुँदै आएको छ। विपद व्यवस्थापन तालिम, खोज तथा उद्धार अभ्यास, शान्ति अभियन्ता तयारी कार्यक्रम र संस्थागत क्षमता विकास जस्ता क्षेत्रमा सहकार्य हुँदै आएको छ। यस भ्रमणले ती प्रयासलाई थप गति दिने तथा साझा मूल्य र हितमा आधारित साझेदारीलाई नयाँ चरणमा प्रवेश गराउने बताइएको छ।





