टुँडिखेलमा अमेरिकी धुन: सेना दिवसमा साढे दुई दर्जन अमेरिकी सैनिकको ब्याण्ड प्रस्तुतिले तान्यो ध्यान

काठमाडौं — नेपाली सेनाको २६३औं वार्षिकोत्सव तथा महाशिवरात्रिको अवसरमा आइतबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित भव्य समारोहमा अमेरिकी सेनाको एउटा टोलीले विशेष आकर्षण बटुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अमेरिकी सेनाका करिब दुई दर्जन बढी सैनिकले ब्याण्ड बजाउँदै सांस्कृतिक प्रस्तुति दिएका थिए।
राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपतिको हैसियतले सैनिक मञ्च पुग्दा विशेष सलामी दिइएको थियो। उनले सैनिक स्मारकमा माल्यार्पण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुखहरू, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षक लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
समारोहको मुख्य आकर्षणको रूपमा भारत, बेलायत र अमेरिकाका सैनिक टोलीले ब्याण्ड प्रस्तुति दिएका थिए। राष्ट्रपति पौडेलले तीनै मुलुकका सैनिक टोलीका प्रमुखहरूलाई ‘टोकन अफ रेमेम्ब्रेन्स’ प्रदान गर्दै सम्मान व्यक्त गरे।
विशेषगरी अमेरिकी सेनाको टोलीले आफ्नो ब्याण्ड प्रस्तुतिका क्रममा नेपाली तथा अन्तर्राष्ट्रिय धुनहरू बजाउँदै सांस्कृतिक आदानप्रदानको सन्देश प्रवाह गरेको थियो। करिब दुई दर्जन अमेरिकी सैनिकले भाग लिएको उक्त प्रस्तुतिले उपस्थित दर्शकहरूबाट निकै ताली बटुलेको थियो।
कार्यक्रममा नेपाली सेनाका २५२४ जना सैनिकले विभिन्न सैनिक कला, युद्ध कौशल, झाँकी तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। हेलिकप्टरबाट पुष्पवर्षा गरिएको थियो भने प्यारासुटबाट स्काई डाइभिङ प्रदर्शन गरिएको थियो। राइफल तथा तोपबाट महाशिवरात्रि सलामी दिइएको थियो।
नेपाली सेनाले शान्ति सेना अभियानमा प्रयोग हुने सवारी साधन, उपकरण र हतियारहरूको प्रदर्शनी पनि गरेको थियो। यसै अवसरमा राष्ट्रपति पौडेलले सेनाको वार्षिक पत्रिका ‘सिपाही-२०८२’ विमोचन गरेका थिए भने फ्रीफल जम्प प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा पूर्वमन्त्रीहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, उच्च सरकारी अधिकारीहरू र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टुँडिखेल क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणले समेत कार्यक्रमको प्रत्यक्ष अवलोकन गरेका थिए।
नेपाली सेनाले आफ्नो स्थापना दिवस वि.सं. १८१९ सालदेखि महाशिवरात्रिको दिन मनाउँदै आएको छ। यस पटकको समारोहले नेपाली सेनाको क्षमता प्रदर्शनका साथै अन्तर्राष्ट्रिय सम्बन्धको प्रगाढतालाई समेत उजागर गरेको छ, विशेषगरी अमेरिकी सैनिक टोलीको सहभागिताले हालै मात्र सम्पन्न अमेरिकी इन्डो-प्यासिफिक कमान्डरको नेपाल भ्रमणपछि दुई देशबीचको सैन्य सहकार्यलाई थप बल पुर्याएको संकेत गरेको छ।





