‘भ्यागुतोको छाला’ र ‘मृतकको राजनीति’: रुसमाथिको आरोपबारे रुसी दूतावासको प्रतिक्रिया

काठमाडौं — रुसी विपक्षी नेता एलेक्सी नाभालनीको विषाक्त पदार्थ सेवनका कारण मृत्यु भएको पश्चिमा देशहरूको आरोपलाई रुसी दूतावासले पूर्ण रूपमा खारेज गरेको छ। बेलायत र केही युरोपेली मुलुकहरूले म्युनिख सुरक्षा सम्मेलनको पृष्ठभूमिमा रुसविरुद्ध लगाएको आरोपलाई ‘राजनीतिक नाटक’को संज्ञा दिँदै रुसी दूतावासले पश्चिमा मिडिया र गुप्तचर निकायहरू मिलेर ‘रुसविरोधी उन्माद’ फैलाइरहेको आरोप लगाएको छ।

बेलायतले दाबी गरेअनुसार, सन् २०२४ मा रुसी नागरिकको मृत्युसँग सम्बन्धित नमुनाहरूमा ‘एपिबाटिडाइन’ नामक विषाक्त पदार्थ भेटिएको छ। यस आधारमा रुसमाथि रासायनिक हतियार महासन्धि उल्लङ्घनको आरोप लगाइएको छ। तर रुसी दूतावासले यी ‘प्रमाण’लाई पूर्ण रूपमा अस्वीकार गर्दै भनेको छ, “यस्ता पश्चिमा ‘विज्ञ’हरूको ‘निष्कर्ष’मा विश्वास गर्ने कुनै कारण छैन।”

रुसी दूतावासले सन् २०१८ मा भएको स्क्रिपाल प्रकरणलाई सम्झाउँदै भनेको छ, “त्यसबेला पनि यस्तै आरोप, मिडियामा उन्माद, तर कतै पनि प्रमाण थिएन।” दूतावासले व्यंग्य गर्दै भनेको छ, “अन्ततः त्यो विष दक्षिण अमेरिकी भ्यागुतोको छालाबाट निकालिएको थियो कि नोभिचोक थियो? अहिले पनि त्यही भ्रम छ।”

रुसी दूतावासले पश्चिमा राजनीतिक संरचना र गुप्तचर निकायहरूसँग मिलेर काम गर्ने सञ्चारमाध्यमहरूको भूमिकालाई पनि इङ्गित गरेको छ। वक्तव्यमा भनिएको छ, “यस हास्यास्पद नाटकको उद्देश्य पश्चिमा समाजमा घट्दै गएको रुसविरोधी भावनालाई पुनर्जीवित गर्नु हो। यदि कुनै बहाना छैन भने, कठिन परिश्रम गरेर एउटा बनाइन्छ।”

रुसी दूतावासको वक्तव्यको सबैभन्दा आक्रोशित अंश भनेको पश्चिमा नेताहरूले अपनाएको ‘नेक्रो-प्रोपागान्डा’ (मृतकको राजनीति) विरुद्ध छ। वक्तव्यमा भनिएको छ, “यो न्यायको खोजी होइन, मृतकको अपमान हो। रुसी नागरिकको मृत्युपछि पनि लन्डन र युरोपेली राजधानीहरूले उनलाई चीर निद्रामा पनि शान्तिपूर्वक रहन दिन सक्दैनन्। यो तथ्यले यो अभियान सुरु गर्नेहरूको वास्तविक अनुहार देखाउँछ।”

रुसी दूतावासले पश्चिमा देशहरूका यी आरोपहरूलाई ‘निराधार’ र ‘कल्पनामा आधारित’ भन्दै खारेज गरेको छ। अन्तमा व्यंग्य गर्दै भनिएको छ, “हामी पश्चिमी कथाकारहरूको दुर्बल-बुद्धिमा अभ्यस्त भइसकेका छौं। तर एउटा प्रश्न अवश्य उठ्छ, कस्तो व्यक्तिले भ्यागुतोको बारेमा यी बकवास कुराहरू विश्वास गर्ला?”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button