म्युनिखबाट सन्देश: चीन–जर्मनी सहकार्यलाई गति र स्थिरताको नयाँ आधार

काठमाडौं — चिनियाँ विदेशमन्त्री वाङ यीले जर्मनीलाई चीन–युरोप सम्बन्धमा व्यवहारिक सहकार्यको प्रेरक शक्ति र दुवै पक्षबीचको रणनीतिक सम्बन्धको स्थिर आधार बन्न आग्रह गरेका छन्। म्युनिख सुरक्षा सम्मेलनका क्रममा जर्मन चान्सलर फ्रीडरीच मर्जसँगको भेटमा, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ यीले यस्तो धारणा राखेका हुन्।

भेटमा वाङ यीले चिनियाँ नेतृत्वको तर्फबाट चान्सलर मर्जलाई हार्दिक शुभकामना व्यक्त गर्दै म्युनिख सुरक्षा सम्मेलनको उद्घाटन समारोहमा मर्जले व्यक्त गरेको मन्तव्यले जर्मनी र युरोपको रणनीतिक स्वायत्तता, आत्मनिर्भरता र सबलीकरणप्रतिको आकांक्षा झल्काएको बताए। उनले यस दिशामा जर्मनीले ठूलो भूमिका खेलोस् भन्ने चीनको समर्थन रहेको स्पष्ट पारे।

अन्तर्राष्ट्रिय मञ्चमा चीनले अघि सारेका सबै पहल र कदमहरू संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षणका लागि लक्षित रहेको उल्लेख गर्दै वाङ यीले संयुक्त राष्ट्रको अधिकार र हैसियत केही कमजोर बने पनि यसको स्थान अपरिवर्तनीय रहेको बताए। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा प्रस्तावित ‘वैश्विक शासन पहल’ संयुक्त राष्ट्रसंघलाई पुनः सशक्त बनाउने र अझ न्यायपूर्ण तथा समतामूलक विश्व शासन प्रणाली निर्माण गर्ने उद्देश्यका साथ अघि बढाइएको बताए।

चीन र जर्मनीले ठूला राष्ट्रका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै विश्व शान्ति र विकासमा नयाँ योगदान गर्नुपर्नेमा वाङ यीले जोड दिए। चीन र जर्मनीबीच व्यापक साझा हित र पूरक क्षमताहरू रहेको उल्लेख गर्दै उनले सहकार्य सुदृढ गर्नु दुवै देशका व्यावहारिक आवश्यकतामा आधारित रणनीतिक विकल्प भएको बताए।

चीनको उच्चस्तरीय खुलापन नीतिले जर्मन कम्पनीहरूका लागि लगानी र सञ्चालनका विशाल अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै वाङ यीले जर्मनीले पनि चिनियाँ कम्पनीहरूका लागि निष्पक्ष र समान व्यापारिक वातावरण सुनिश्चित गर्ने अपेक्षा राखे। उनले आगामी चरणका उच्चस्तरीय आदान–प्रदानको तयारी, विभिन्न क्षेत्रमा व्यवहारिक सहकार्य सुदृढीकरण, त्रिपक्षीय सहकार्यको खोजी तथा चीन–जर्मनी सर्वाङ्गीण रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चीन तयार रहेको बताए।

जर्मन चान्सलर मर्जले वाङ यीमार्फत चिनियाँ नेतृत्वलाई हार्दिक शुभकामना प्रेषित गर्दै चीनले हासिल गरेका विकास उपलब्धि विश्वमै प्रशंसित रहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे। जर्मनी र चीनबीच घनिष्ठ आर्थिक तथा व्यापारिक सम्बन्ध रहेको र दुवै देश आर्थिक वैश्वीकरणका लाभग्राही तथा समर्थक भएको बताउँदै उनले अवसरहरू सदुपयोग गर्दै सम्भावनाको दोहन गरी सहकार्य अझ गहिरो बनाउन आह्वान गरे।

मर्जले जर्मनी सधैं संरक्षणवादको विरोधमा उभिएको, स्वतन्त्र व्यापारको पक्षधर रहेको र जर्मन कम्पनीहरूलाई चीनमा लगानी तथा सहकार्य विस्तार गर्न प्रोत्साहित गर्ने नीति कायम राखेको बताए। साथै, जर्मनी एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय आदान–प्रदानलाई सघन बनाउँदै विभिन्न क्षेत्रमा सहकार्य विस्तारमार्फत जर्मनी–चीन सम्बन्धलाई अझ उन्नत बनाउन चाहेको स्पष्ट पारे।

म्युनिखमा भएको यस भेटवार्ताले चीन–जर्मनी सम्बन्धलाई स्थिरता, सहकार्य र साझा विकासतर्फ उन्मुख गराउने संकेत दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button