उतार–चढावबीच उज्यालो सम्भावना: चीन–अमेरिका सम्बन्धबारे वाङ यीको स्पष्ट सन्देश

काठमाडौं — चिनियाँ विदेशमन्त्री वाङ यीले इतिहास सिधा रेखामा अघि नबढ्ने, घुमाउरा बाटो पार गर्दै अगाडि बढ्ने प्रक्रिया भएको उल्लेख गर्दै चीन–अमेरिका सम्बन्धको भविष्य उज्यालो रहेको बताएका छन्। म्युनिख सुरक्षा सम्मेलन अन्तर्गत आयोजित “चाइना इन द वर्ल्ड” सत्रमा मन्तव्य दिएपछि पत्रकारहरूको जिज्ञासाको उत्तर दिँदै उनले यस्तो धारणा राखेका हुन्। वाङ यी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य समेत हुन्।

उनले विश्वका दुई ठूला शक्तिका रूपमा चीन र संयुक्त राज्य अमेरिका कसरी एक–अर्कासँग व्यवहार गर्छन् भन्ने विषयले अन्तर्राष्ट्रिय परिस्थितिको आधारभूत दिशानिर्देश तय गर्ने बताए। चीनले सधैं ऐतिहासिक दृष्टिकोणबाट, आफ्ना जनताप्रति र विश्व समुदायप्रति उच्च जिम्मेवारीबोधका साथ अमेरिका सम्बन्धलाई हेर्दै र व्यवस्थापन गर्दै आएको उनले स्पष्ट पारे।

वाङ यीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले दशकौँ लामो चीन–अमेरिका अन्तरक्रियाका अनुभव र पाठलाई समेट्दै पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र आपसी लाभका आधारमा सहकार्यको प्रस्ताव अघि सारेका छन्। संवाद र परामर्श मार्फत यस पृथ्वीमा दुई ठूला शक्तिहरू कसरी सहअस्तित्वमा अघि बढ्ने भन्ने सही बाटो संयुक्त रूपमा खोज्नुपर्ने उनले उल्लेख गरे।

चीनले यही समग्र दिशालाई निरन्तरता दिने जनाउँदै वाङ यीले यो दुवै देशका जनताको हित र अन्तर्राष्ट्रिय समुदायको साझा स्वार्थसँग मेल खाने बताए। तर, यस दिशालाई व्यवहारमा उतार्ने विषय भने संयुक्त राज्य अमेरिकाको दृष्टिकोणमा निर्भर रहने उनले जोड दिए।

उनले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताप्रति उच्च सम्मान व्यक्त गरेको कुरा सकारात्मक संकेत भएको बताए। ट्रम्पले चीन र अमेरिका मिलेर विश्वव्यापी चुनौतीहरूको सामना गर्न सक्ने र दुवै देशका नेताले सम्बन्ध विकासलाई अघि बढाउन सक्ने धारणा सार्वजनिक रूपमा राखेको उनले स्मरण गराए।

यद्यपि, अमेरिकाभित्र अझै केही शक्तिहरू चीनप्रति वस्तुगत र यथार्थपरक दृष्टिकोण नराखी नियन्त्रण र दबाबको नीति अघि बढाइरहेको तथा विभिन्न माध्यमबाट चीनमाथि आक्षेप लगाइरहेको पनि वाङ यीले उल्लेख गरे।

उनका अनुसार चीन–अमेरिका सम्बन्ध अगाडि बढ्ने दुई सम्भावित मार्ग छन्। पहिलो, अमेरिकाले चीनप्रति वस्तुगत र तार्किक बुझाइ विकास गर्दै सकारात्मक र व्यवहारिक नीति अवलम्बन गर्ने, साझा हित विस्तार गर्ने र सहकार्यतर्फ उन्मुख हुने बाटो, जसले दुवै देश र विश्वलाई लाभ पुर्‍याउनेछ। दोस्रो, चीनसँग आपूर्ति शृङ्खला विच्छेद गर्ने, नियन्त्रण र रोकथामको रणनीति अपनाउने, चीनविरुद्ध साना घेराबन्दी र विशेष समूहहरू गठन गर्ने, यहाँसम्म कि “ताइवान स्वतन्त्रता”लाई उक्साउने तथा चीनको सार्वभौमिकता र अखण्डता सम्बन्धी ‘रेड लाइन’ नाघ्ने प्रयास गर्ने बाटो जसले द्वन्द्व र टकराव निम्त्याउने उनले चेतावनी दिए।

चीन पहिलो सम्भावनाप्रति आशावादी रहेको तर सम्भावित जोखिमहरूसँग जुध्न पनि तयार रहेको वाङ यीले स्पष्ट पारे। अन्ततः पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र आपसी लाभमा आधारित सहकार्य नै सही विकल्प हुने र यही सिद्धान्त विजयी हुने उनको विश्वास छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button