२६३ वर्षमा नेपाली सेना: शान्ति, सुरक्षा र राष्ट्रनिर्माणको अभिन्न अंग
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको भव्य समारोह सम्पन्न

काठमाडौं — विक्रम संवत १८१९ मा पृथ्वीनारायण शाहबाट स्थापित नेपाली सेना अनेकौँ गौरवपूर्ण गाथा र सुनौला इतिहास अक्षुण्ण राख्दै २६३ औं वर्षमा प्रवेश गरेको छ। महाशिवरात्रि पर्व तथा सेना दिवसको विशेष अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा आइतबार भव्य समारोह सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारी तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो।
सैनिक प्रवक्ता राजाराम बस्नेतले स्थापनादेखि नै नेपाली सेनाले मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई राष्ट्रले तोकेको जिम्मेवारी निष्ठासाथ पूरा गरेको बताए। उनले भने, “यही कर्तव्यनिष्ठा र समर्पणले गर्दा नै नेपाली सेनाले आमनागरिकको भरोसा र विश्वास जित्न सफल भएको हो।” उनले नेपाली सेना मुलुकको समग्र सुरक्षासँगै विपत व्यवस्थापन, राष्ट्रनिर्माण (पूर्वाधार विकास), कला संस्कृति र ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको संरक्षणमा सदैव समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरे।
१७औं शताब्दीमा विश्वव्यापी रूपमा राज्यसत्ता कब्जा गर्ने औपनिवेशवादलाई सिमानामै रोकी नेपाललाई औपनिवेशमुक्त राख्न नेपाली सेनाले खेलेको भूमिका अतुलनीय छ। आन्तरिक तथा बाह्य सुरक्षासँगै द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले विश्वमाँझ छुट्टै पहिचान बनाउन सफल भएको छ।
संयुक्त राष्ट्रसङ्घले नेपाली सेनालाई सबैभन्दा विश्वासिलो र भरपर्दो सुरक्षा सङ्गठन मान्दै जटिल र संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा दिने गरेको छ। राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिक विभिन्न युद्धग्रस्त स्थलमा तैनाथ भइसकेका छन्। महिला शान्ति सैनिक खटाउनेमा पनि नेपाल अहिले अग्रस्थानमा रहेको छ।
नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पाैडेलले नेपाली सेनाले विश्व शान्ति, स्थायित्व र सैन्य कूटनीति सुमधुर बनाउन खेलेको भूमिका अतुलनीय र विशिष्ट रहेको बताए। उनले भने, “नेपाली शान्ति सैनिक राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिक तथा त्यहाँको सरकारको पनि भरोसायोग्य सङ्गठन बन्नु मुलुककै लागि गर्वको विषय हो। १० हजार शान्ति सैनिक खटाउने प्रतिबद्धताले नेपालप्रति राष्ट्रसङ्घको भरोसा थप वृद्धि भएको छ।”
विश्वमाँझ गौरवपूर्ण परिचय बनाएको नेपाली सेना मुलुक र नागरिकप्रति समर्पित रही संविधान र समावेशितालाई आत्मसात गर्दै राष्ट्रनिर्माणमा समेत निरन्तर क्रियाशील छ। विकास निर्माण, विपत व्यवस्थापन तथा पूर्वाधार विकासका अनेकौँ चुनौती पन्छाउँदै सेनाले दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा गुणस्तरीय पूर्वाधार निर्माणमा पनि विशिष्ट योगदान दिँदै आएको छ।
हाल सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराईमधेश द्रुतमार्ग निर्माण गरिरहेको छ। कालीगण्डकी कोरिडोर, खाँदबारी–किमाथाङ्का र कर्णाली कोरिडोर जस्ता जटिल भौगोलिक बनावटमा रहेका सडक निर्माण सम्पन्न गरेको छ। त्यस्तै घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला सडकखण्ड निर्माणाधीन छ। बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ र दार्चुला तिङ्कर सडक आयोजना पहिलो प्राथमिकतामा रहेका छन्।
पूर्वाधारविज्ञ तथा पूर्वसचिव अर्जुनजङ्ग थापाले पूर्वाधार विकासमा नेपाली सेनाको योगदान अतुलनीय रहेको बताए। उनले भने, “सेनाको अनुशासन, दक्षता र कठिन भौगोलिक अवस्थामा पनि काम गर्ने क्षमताले गर्दा द्रुतमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूले मूर्तरूप पाइरहेका छन्।”
२६३ औं सेना दिवसको यो अवसरले नेपाली सेनाको विगतको गौरव, वर्तमानको योगदान र भविष्यको प्रतिबद्धतालाई एकसाथ उजागर गरेको छ। शान्ति, सुरक्षा र राष्ट्रनिर्माणको यो अभिन्न यात्रामा नेपाली सेना सधैं अग्रपङ्क्तिमा रहने विश्वास गरिएको छ।





