चिनियाँ नयाँ वर्ष: घोडा वर्षको शुभारम्भ र सांस्कृतिक वैभव

# पासाङ ल्हामु
फागुनको महिना लागिसकेको छ। नेपाली घरआँगनमा होलीको रौनक सुरु हुन लाग्दै गर्दा हाम्रो छिमेकी मित्र राष्ट्र चीन भने आफ्नो सबैभन्दा ठूलो चाड “वसन्त चाड” (छुनच्ये) को रौनकमा डुबेको छ। यही फेब्रुअरी १७ तारिख, अर्थात फागुन ५ गतेका दिन चिनियाँ समुदायले सर्प वर्षलाई बिदा गर्दै घोडा वर्ष २०२६ को भव्य स्वागत गर्दैछन् । चिनियाँ परम्पराअनुसार नयाँ वर्ष मात्र होइन, यो त ऋतुको राजा वसन्तको आगमन र परिवारको माया, एकता र समृद्धिको पर्व हो। नेपालीका लागि चिनियाँ नयाँ वर्ष बुझ्नु भनेको एउटा गहिरो, प्राचीन र जीवन्त संस्कृतिसँग जोडिनु हो। त्यसैले यस लेखमा चिनियाँ नयाँ वर्षको उद्गम कथा, यससँग जोडिएका परम्परा, चालचलन र खानपानबारे चर्चा गरौं।
नियान राक्षसको कथा: एउटा लोककथा
चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिभल) मनाउन थालिएको पछाडि एउटा रोचक र प्रचलित लोककथा छ। त्यो हो, ‘नियान’ नामक डरलाग्दो राक्षसको कथा। किंवदन्ती अनुसार, नियान एउटा भयानक जनावर थियो, जो वर्षभरि समुद्रमा बस्थ्यो तर वसन्त ऋतुको सुरुवातमा, खासगरी चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा किनारका गाउँहरूमा आएर मानिसहरूलाई हैरान पार्थ्यो, उनीहरूको अन्नबाली नष्ट गर्थ्यो। यसबाट त्रस्त भएर गाउँलेहरू हरेक वर्ष त्यो दिन आफ्नो घर छाडेर टाढा भाग्थे।
एक वर्ष, एक बूढो साधुले एउटा गाउँमा आएर यो समस्याको समाधान दिए। उनले भने, नियान राक्षससँग तीन कमजोरी छन्: यो रातो रङ देख्दा डराउँछ, ठूलो आवाज सुनेर तर्सिन्छ, र आगोसँग आत्तिन्छ। त्यसपछि गाउँलेहरूले त्यही रात आफ्ना ढोकामा रातो कागज टाँसे, रातो लुगा लगाए, पटका (आतिशबाजी) पड्काए र ठूलो घन्टी र ढोल बजाए। नियान राक्षस चर्को आवाज र रातो रङ देखेर डरायो र गाउँ छाडेर भाग्यो। त्यसपछि गाउँलेहरूले विजयको खुसियाली मनाए। त्यस दिनदेखि, नयाँ वर्षको पूर्वसन्ध्यामा रातो रङको प्रयोग, पटका पड्काउने र ठूलो आवाज निकाल्ने परम्परा सुरु भयो, जुन आज पनि उत्तिकै लोकप्रिय छ। यसले खुसीको संकेत मात्र गर्दैन, दुष्ट शक्तिहरूलाई टाढा राख्ने विश्वास पनि गरिन्छ ।
घोडा वर्ष २०२६: शक्ति र सफलताको प्रतीक
चिनियाँ राशि (जुन १२ वर्षको चक्रमा चल्छ) अनुसार फागुन ५ गतेदेखि घोडा वर्षको सुरुवात हुँदैछ। चिनियाँ संस्कृतिमा घोडालाई शक्ति, गति, सहनशीलता, उर्जा र सफलताको प्रतीक मानिन्छ। पौराणिक कथा र इतिहासमा घोडाले युद्ध, कृषि र व्यापारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसैले घोडालाई प्रगति र लचकताको प्रतीकको रूपमा हेरिन्छ। “मा दाओ चेङ गोङ” (马到成功) भन्ने चिनियाँ उखान छ, जसको अर्थ हुन्छ “घोडा आइपुग्नासाथ सफलता प्राप्त हुन्छ”। यस वर्ष जन्मिने बालबालिका उर्जावान, महत्वाकांक्षी र दूरदर्शी हुने विश्वास गरिन्छ । नेपालका शेर्पा समुदायले पनि ग्याल्पो लोसारको रूपमा यसै समयमा नयाँ वर्ष मनाउँछन् र उनीहरूको पात्रोमा पनि घोडा वर्षलाई १२ वर्षे चक्रको सातौँ पशुको रूपमा सूचीकृत गरिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यादेखि सुरु हुने रौनक
चिनियाँ नयाँ वर्षको तयारी फेब्रुअरी १७ भन्दा धेरै अघिदेखि नै सुरु हुन्छ। घरका मुख्य मूल ढोकामा रातो रङ्गको कागजमा सुनौला अक्षरले लेखिएका शुभ-सूचक उखानहरू (चुनलियान) टाँसिन्छन्, जसले सकारात्मक ऊर्जा र समृद्धिलाई घरभित्र आमन्त्रित गर्ने विश्वास छ ।
नयाँ वर्षको पूर्वसन्ध्या (चिनियाँ: चु शी) सबैभन्दा महत्त्वपूर्ण दिन हो। यस दिन टाढा-टाढा रहेका परिवारका सदस्यहरू एक ठाउँमा भेला भएर “पारिवारिक पुनर्मिलन भोज” (नियान ये फान) खान्छन् । यो भोज परिवारको एकता र प्रेमको प्रतीक हो। परिकारहरू पनि विशेष हुन्छन्। उत्तरी चीनमा “जियाओजी” (माछा वा तरकारी भरेको पीठोको बयला) खाने चलन छ, जसको आकार पुरानो चिनियाँ चाँदीको सिक्का (यिन्गत) जस्तो हुने भएकाले यसले धन र समृद्धि ल्याउँछ भन्ने विश्वास छ । दक्षिणी चीनमा भने “नियाङ्गाओ” (चिनियाँ मिठो केक) र “ताङयुआन” (गोलो चामलको पिठोको लड्डु) खाने चलन छ, जसले क्रमशः जीवनमा उन्नति र परिवारको एकतालाई जनाउँछ । माछा (यु) पनि भोजको अपरिहार्य परिकार हो, किनकि यसको उच्चारण “अधिशेष” (यु) सँग मिल्छ, जसले आगामी वर्ष धनधान्यले भरिपूर्ण हुनको कामना गर्दछ ।
राति अबेरसम्म परिवारका सदस्यहरू जागा बसेर कुराकानी, तास खेल्दै वा चिनियाँ टेलिभिजनको नयाँ वर्ष विशेष कार्यक्रम (छुन्वान) हेर्दै समय बिताउँछन्। यसलाई “सौ सुई” भनिन्छ, जसले परिवारका बूढाबूढीको लामो आयुको कामना गर्दछ । ठीक मध्यरातमा, आकाश आतिशबाजी र पटकाको चर्को आवाजले गुञ्जायमान हुन्छ। यो आवाजले नियान राक्षस मात्र होइन, पुरानो वर्षका सबै दुःख-कष्टलाई भगाएर नयाँ वर्षलाई स्वागत गर्ने चिनियाँ परम्परा हो।
नयाँ वर्षको दिन: रातो पैसा र आदर
नयाँ वर्षको पहिलो दिन (फेब्रुअरी १७) मा मानिसहरू रातो रङको परम्परागत वा नयाँ लुगा लगाउँछन्। यो दिन जेठो-कान्छो सबैले एक-अर्कालाई भेटेर नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्छन् । जेठा मानिसहरूले घरका साना बालबच्चा र अविवाहित युवालाई “रातो पैसा” (हङबाओ / लाई सी) दिन्छन्। यी रातो खामभित्र पैसा हालिन्छ, जसले दुष्ट शक्तिबाट रक्षा गर्ने र सौभाग्य प्रदान गर्ने विश्वास गरिन्छ । यो दिन झाडु लगाउने, फोहोर फाल्ने वा चर्को स्वरमा कुरा गर्ने जस्ता केही काम वर्जित मानिन्छ, किनकि त्यसो गर्दा सौभाग्य घरबाट बाहिर निस्किन्छ भन्ने जनविश्वास छ ।
चीन-नेपाल: नयाँ वर्षको साझा उत्सव
चिनियाँ नयाँ वर्ष केवल चीनमा मात्र सीमित छैन। नेपालसँग चीनको गहिरो सांस्कृतिक सम्बन्ध रहेको छ। विशेषगरी, काठमाडौं उपत्यका र तामाङ, शेर्पा लगायतका हिमाली समुदायमा चिनियाँ नयाँ वर्षलाई निकै रुचाइन्छ। सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा भएको थियो, जसको अवसरमा काठमाडौंको भक्तपुर दरबार क्षेत्रमा सिंह नाच र ड्र्यागन नाचको भव्य आयोजना गरिएको थियो। चीन सरकारले नेपाली विद्यार्थीलाई साइकल वितरण गर्नेदेखि लिएर पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रमहरू आयोजना गरेको थियो। त्यसैगरी, तामाङ समुदायले पनि चिनियाँ नयाँ वर्षलाई आफ्नो संस्कृतिसँग जोडेर हेर्ने गरेको पाइन्छ, किनकि उनीहरूको राशि चक्र पनि चिनियाँ राशिसँग मिल्दोजुल्दो छ।
चिनियाँ नयाँ वर्ष (वसन्त चाड) एउटा पर्व मात्र होइन, यो चिनियाँ सभ्यता र दर्शनको जीवन्त अभिव्यक्ति हो। युनेस्कोले सन् २०२४ मा यसलाई अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरेको छ, जसले यसको वैश्विक महत्त्वलाई उजागर गर्दछ। नियान राक्षसको कथादेखि लिएर घोडा वर्षको शुभकामनासम्म, रातो पैसादेखि पारिवारिक पुनर्मिलन भोजसम्म यस पर्वको हरेक पक्षले परिवार, समृद्धि र आशाको सन्देश दिन्छ। फागुन ५ गतेदेखि सुरु हुने यो वर्ष नेपाल-चीन मैत्रीपूर्ण सम्बन्धको लागि पनि शुभ रहोस् र यसले दुवै देशबीचको सांस्कृतिक आदान-प्रदानलाई अझ मजबुत बनाओस् भन्ने शुभकामना। चिनियाँ मित्रहरूले भन्छन्, “गुओ नियान हाओ” अर्थात नयाँ वर्षको शुभकामना!





